Newyork Time 01:54 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

रूसी सेनामा कार्यरत थप ७ नेपालीको मृत्यु भएको परराष्ट्रले गर्‍यो पुष्टि

२०८० चैत्र २
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

595

परराष्ट्र मन्त्रालयले रूसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले रूसी सेनामा कार्यरत सात नेपालीको मृत्यु भएको पुष्टि गरेको हो।

यसअघि सरकारले १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको थियो। त्यसमा थप सात जनाको मृत्यु भएको पुष्टि भएसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या १९ पुगेको छ।

धादिङका पूर्णबहादुर गुरूङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको परराष्ट्रले बिहीबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले उनीहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ।

परराष्ट्रले केही मित्र राष्ट्रहरू बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति नरहेको पनि प्रष्ट पारेको छ।

मन्त्रालयले मंसिर १८ र पुस ४ गते विज्ञप्तिमार्फत् सरकारी कामकाज, रूसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्‍य सर्वसाधरण नागरिकलाई रूस यात्रा गर्नुपरेमा नो अब्जेक्सन सर्टिफिकेट अनिवार्य गरेको बताएको थियो।

रूसी सेनामा गएका नेपाली नागरिकलाई नेपाल फिर्ता गराउन सरकारले प्राथमिकतामा राखेर कूटनीतिक प्रयास गरिरहेको जनाएको छ।

अहिले ज्यान गुमाएहरूको परिवारलाई रूसी सरकारबाट राहत उपलब्ध गराउन र घाइतेको उपचार गर्न, नेपालीलाई फिर्ता पठाउन रूसी सरकारलाई अनुरोध गरेको पनि मन्त्रालयले जनाएको छ।