Newyork Time 11:27 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

सन्दिप लामीछानेको आज फैसला हुँदै ?

२०८१ जेष्ठ २
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

440

 

उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दाको आज बुधबार पनि सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार बहस भएको र सुनुवाइ नसकिएपछि बुधबार सुनुवाइ हुने भएको हो। हिजो मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो । सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले आज जवाफी बहस सकिने र फैसला आउने दाबी गरेका छन।
उनका अनुसार आज जाहेरीवाला पक्षबाट ३ र सन्दीप पक्षबाट ३ अधिवक्ताले बहस गर्ने छन। सन्दीपको मुद्दामा मंगलबारदेखि उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ भइरहेको छ । मंगलबार सुरुमा सन्दीपका वकिलले बहस गरे भने यसपछि जाहेरीवालाका तर्फबाट सरकारी वकिल र निजी वकिलले बहस गरे। तर जवाफी बहस बाँकी बसेकाले सो मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको हो।

गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन्। उता पीडित पक्षका तर्फबाट पनि किशोरी नाबालिग नै रहेको जिकिर गर्दै सन्दीपलाई अझ बढी सजाय हुनुपर्ने माग गरी पुनरावेदन परेको छ। दुवै पुनरावेदनलाई सँगै राखेर उच्च अदालत पाटनले मुद्दा सुनुवाइ गरिरहेको हो। उच्च अदालतले यसअघि जिल्ला अदालत काठमाडौँले गरेको फैसला बदर गरेमा सन्दीपले सफाइ पाउनेछन् भने सदर गरेमा जेल जानेछन् । तर यसपछि पनि सन्दीपका लागि सर्वोच्च अदालत जाने एउटा विकल्प भने बाँकी रहनेछ।