March 26, 2025, Wednesday
२०८१ चैत्र १२

४२ खेलाडीलाई पुरस्कार स्वरुप ३ करोड रकम बाँडिने

२०८१ बैशाख २८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

830

 

सरकारले ४२ जना खेलाडी र प्रशिक्षकहरुलाई दुई करोड ९७ लाखभन्दा बढी रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले खेलाडी र प्रशिक्षकहरुलाई दुई करोड ९७ लाख १० हजार रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो । १९औं एसियन खेलकूदमा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कार वितरण गर्ने निर्णय गरेको हो ।
आइसिसी मेन्स टि(ट्वान्टी वल्ड कप फाइनल एसियामा दोस्रो भएको राष्ट्रिय क्रिकेट टिमले मात्रै दुई करोड ४ लाख ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएका छन् । १५ खेलाडीलाई जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने युवा तथा खेलकूदमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ ।

त्यस्तै, १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्नेछिन्। प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवास गोपाल वैद्याले १ लाख ९५ हजार प्राप्त गर्नेछन्।
एसियन गेम्समा रजत विजेता कराते टिमले कुल २५ लाख ३५ हजार प्राप्त गर्नेछन्। एसियाली खेलकूदमा नै कबड्डीमा कास्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णु दक्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार प्राप्त गर्नेछन्। यसरी कबड्डी टिमले कुल ४८ लाख दश हजार नगद प्राप्त गर्नेछ।

यसैगरी चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्नेछिन्। प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गर्नेछन्।