Newyork Time 07:40 am
May 18, 2024, Saturday
२०८१ जेष्ठ ५

जापानी विदेशमन्त्रि कामीकावा आज नेपाल आउँदै

२०८१ बैशाख २३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

195

जापानी विदेशमन्त्री योको कामीकावा एकदिने भ्रमणमा आज आइतबार नेपाल आउदै हुनुहुन्छ । सद्भावना भ्रमण भनिएकाले द्विपक्षीय हस्ताक्षर हुने वा नयाँ एजेन्डा केही छैनन् । तर बदलिँदो भूराजनीतिक पृष्ठभूमिमा उनको भ्रमणलाई ‘अर्थपूर्ण’ मानिएको छ । उनले नेपालसँगै दक्षिण एसियाको अर्को मुलुक श्रीलंकाको समेत भ्रमण गर्ने कार्यतालिका छ । भ्रमणका क्रममा योकोले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग प्रतिनिधिमण्डलको तहमा भेटवार्ता गर्नेछिन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता हुनेछ । ‘द्विपक्षीय सम्बन्धबारे छलफल हुनेछ । आगामी सहकार्यका विषयमा पनि कुराकानी हुनेछ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव अमृतकुमार राईले भने । सन् २०२६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठ समारोह आयोजनाबारे पनि भेटघाटका क्रममा छलफल गर्ने तयारी रहेको उनले बताए ।

योको अहिले दक्षिण एसियाका ६ राष्ट्रको भ्रमणमा छन् । वैशाख १४ देखि सुरु भएको उनको भ्रमण २४ सम्म चल्नेछ । उनी अफ्रिकी मुलुक माडागास्कर, आइभोरीकोस्ट र नाइजेरिया हुँदै युरोपेली देश फ्रान्स पुगेर श्रीलंका र नेपाल आउन लागेकी हुन् । पछिल्लो पटक जापानबाट विदेश राज्यमन्त्री ताकेई सुन्सुके संघीय संसद् र प्रदेशसभाको निर्वाचन अवलोकन गर्न २०७९ मंसिरमा नेपाल आएका थिए ।