Newyork Time 03:33 pm
May 2, 2024, Thursday
२०८१ बैशाख २१

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवाद नेपालमा हुने

२०८१ बैशाख ४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

135

काठमाडौँ — नेपाल सरकारले ‘हिमाल, मानव र जलवायु परिवर्तन’ विषयमा आयोजना गर्ने अन्तर्राष्ट्रिय संवादको तयारी सुरु गरेको छ । वन तथा वातावरण मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै आगामी जेठ ९ र १० गते काठमाडौँमा सम्बन्धित विषयका विशेषज्ञहरुलाई आमन्त्रण गरेर अन्तर्राष्ट्रिय संवाद आयोजना गर्न लागेको जनाएको छ ।

वनमन्त्री नवलकिशोर साह सुडीले संवादमा सबैको सरोकारको विषय भएकाले सबैको सहयोगको अपेक्षा गरिएको बताए । उनले पर्वतीय राष्ट्रहरुमा जलवायु परिवर्तनको समस्या समाधानका लागि जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सरकार, निजी क्षेत्र, नागरिक समाज र स्थानीय सरोकारवालाहरूले गरेका उल्लेखनीय कामको प्रस्तुतिका लागि महत्वपूर्ण हुने बताए ।

राष्ट्रिय योजना आयोगका सदस्य अरनिको पाण्डेले यस संवादले स्थानीय मुद्दाहरुलाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुग्ने बताए । प्रधानमन्त्री दाहालका जलवायु सल्लाहकार पपुलर जेन्टलले हिमालका मुद्दामा साझा धारणा तय गर्न संवाद गर्न लागेको बताउँदै यसमा हिमालका साथै सम्पूर्ण पारिस्थितिकीय प्रणालीका बारेमा समेत छलफल हुने उल्लेख गरे ।

मन्त्रालयका सहसचिव महेश्वर ढकालले जलवायु परिवर्तनसम्बन्धी यो संवादको उद्देश्य जलवायु परिवर्तनको सन्दर्भमा पर्वतीय पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु उत्थानशील कार्यहरुलाई सुदृढ, समन्वय र प्राथमिकता दिने रहेको बताए । साथै उनले पर्वतीय देशहरू र सम्बद्ध सरोकारवालाहरूलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धिअन्तर्गत कार्यक्रमहरूमा सहकार्य गर्न वातावरण बनाउने संवादको लक्ष्य राखिएको जानकारी दिए ।

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले संवादका क्रममा पर्वतीय क्षेत्रमा साझेदारलगायत सबै पर्वतीय देशहरूका प्रतिनिधिहरूले संयुक्त रूपमा संवादबाट साझा निष्कर्षहरू निकाल्ने बताए । साथै उनले अन्तर्राष्ट्रिय संवादलाई सफल बनाउन समग्र रणनीतिक मार्गदर्शन प्रदान गर्न सरकारले विभिन्न समिति गठन गरेको बताए ।

मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाले तीनवटा प्रमुख विषयगत क्षेत्रमा आधारित रहेर दुईवटा प्लेनरी र सातवटा संवाद सञ्चालन गर्ने गरी तयारी गरिएको जानकारी दिए । पहिलो सत्रमा ‘जलवायु विज्ञान र पर्वतीय तथ्य र तथ्यांक’को विषयवस्तुमा जलवायु परिवर्तनको प्रभाव, संकटसन्नता र जोखिम, हिमाली क्षेत्रमा भइरहेको वातावरणीय संकटको विषयमा आवश्यक प्रमाणहरू समेट्ने समावेश गरिने उनको भनाइ छ ।

दोस्रो सत्रमा ‘पहाड र प्रकृतिमा आधारित भएर समाधानका उपायहरुमा’ केन्द्रित भएर छलफल गरिनेछ र तेस्रो सत्रमा पर्वतीय क्षेत्रको संरक्षणका लागि आवश्यक पर्ने सम्भावित स्रोत र अवसरहरूको खोजी गर्ने विषयहरु समावेश गरिएको छ ।यस संवादले पर्वतीय राष्ट्रहरूका सरकार, सरोकारवालाहरू र सहयोगीहरूलाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानहरू अझ गहन रूपमा बुझ्न, विशेषज्ञता र अनुभवलाई एकीकृत गर्न र साझा संकल्पसहित पर्वतीय जलवायु उत्थानशील रणनीति विकास गर्न मद्दत गर्ने अपेक्षा लिइएको छ ।

जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको जोखिमका बारेमा सचेतना जगाउने, पर्वतीय देशहरूको साझा मुद्दा र समस्या पहिचान गरी सहयोग आदानप्रदान गर्ने र हिमाली क्षेत्रमा बसोबास गर्न वा आश्रित समुदायहरूलाई अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रक्रियाहरूमा उनीहरूको हकअधिकार प्रदान गर्न साझा मञ्चको विकास गर्ने लक्ष्य रहेको छ ।

यसैगरी, जलवायु परिवर्तनको असरसँग अनुकूलन हुन पर्वतीय क्षेत्रका जनता र उनीहरूको जीविकोपार्जनमा हुने हानि–नोक्सानीलाई न्यूनीकरण गर्न, स्वच्छ ऊर्जा सङ्क्रमणलाई प्रवद्र्धन गर्ने, अब पर्वतीय ज्ञान, अनुसन्धान र नवीन समाधानहरू तथा अन्वेषणहरु एकापसमा आदानप्रदान गर्ने पनि लक्ष्य छ ।

पर्वतीय राष्ट्रहरू र यस क्षेत्रमा बसोबास गर्ने वा आश्रित बासिन्दाका लागि प्रविधि हस्तान्तरण, क्षमता विकास र जलवायु वित्तसम्बन्धी बहुपक्षीयता, सहयोग तथा साझेदारीलाई बढावा दिने पनि संवादको लक्ष्य छ । उक्त विशेषज्ञ संवाद कार्यक्रममा नेपाललगायत पर्वतीय देशहरू, अन्तर्राष्ट्रिय समुदायहरू, विकास साझेदारहरू, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, निजी क्षेत्रहरू र नागरिक समाजका प्रतिनिधि गरी दुई सयभन्दा बढीको सहभागी हुने अपेक्षा गरिएको छ ।

RSS