Newyork Time 07:40 am
May 9, 2024, Thursday
२०८१ बैशाख २७

नेपालमा पर्यटक आगमनमा सुधार, एक महिनामा एक लाख २८ हजार पर्यटक

२०८० चैत्र २०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

175

नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको मार्च महीनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या २८ हजार ७४१ ले वृद्धि भएको हो। गत वर्षको मार्चमा ९९ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएकामा यस वर्षको सोही अवधिमा एक लाख २८ हजार १६७ पर्यटक नेपाल आएका छन्।

मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन्। भारतबाट यो अवधिमा ३० हजार ६९८ पर्यटक नेपाल आएका छन्। चिनियाँ पर्यटकको संख्या भने १२ हजार ९३ छ।

बोर्डका अनुसार यस अवधिमा अमेरिकाबाट १० हजार ७७३ र बेलायतबाट सात हजार २४१ जना, श्रीलंकाबाट पाँच हजार ७४१, जर्मनीबाट पाँच हजार २५५, थाइल्यान्डबाट चार हजार ३४५, फ्रान्सबाट तीन हजार २४० र म्यानमारबाट तीन हजार १३१ जना विदेशी पर्यटक नेपाल आएका छन्।

क्षेत्रीय हिसाबले हेर्दा एशिया (सार्क)बाट ४० हजार ७२७, सार्क बाहेकका एशियाली मुलुकबाट २८ हजार ६४८, यूरोपबाट २७ हजार ५८२, ओसनियाबाट चार हजार ७८० पर्यटक आएका छन्। यसैगरी, क्यानडा र अमेरिकाबाट १२ हजार ६१४ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ।

यस वर्षको जनवरीमा ७९ हजार १०० र फेब्रुअरीमा ९७ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। सन् २०२३ को पहिलो तीन महीनामा दुई लाख २७ हजार ७५५ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०२४ को पहिलो तीन महीनामा तीन लाख चार हजार ६९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्।