January 19, 2025, Sunday
२०८१ माघ ६

आमा सोनीया संसदीय दलको नेता, छोरो राहुल विपक्षी दलको नेता

२०८१ जेष्ठ २७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

575

भर्खरै सम्पन्न लोकसभा निर्वाचनमा कंग्रेस आईको सफलतापछि आमा सोनीया संसदीय दलको नेता, छोरो राहुल विपक्षी दलको नेता चुनिएका छन ।

भारतीय राष्ट्रिय कंग्रेसको संसदीय दलको नेतामा सोनिया गान्धी सर्वसम्मत चयन भएको कंग्रेस नेता तथा सांसद प्रमोद तिवारीले शनिबार बताएका छन्। तिवारीले एएनआईसँग भने,‘सोनिया गान्धीलाई कंग्रेस संसदीय दलको नेतामा सर्वसम्मत चयन गरिएको छ।’

कंग्रेस संसदीय दलको बैठकमा कंग्रेस अध्यक्ष मल्लिकार्जुन खडगेले आफ्नो पार्टीको संसदीय दलको नेताका लागि सोनिया गान्धीको नाम प्रस्ताव गरेका थिए भने पार्टी नेता गौरव गोगोई, तारिक अनवर र के सुधाकरनले प्रस्तावको समर्थन गरेका थिए।

दलको बैठक नयाँदिल्लीस्थित संसद्को केन्द्रीय हलमा बसेकाे थियाे। युनाइटेड प्रोग्रेसिभ अलाएन्सका अध्यक्ष सोनिया गान्धी, राहुल गान्धी, पार्टी अध्यक्ष मल्लिकार्जुन खड़गे र महासचिव केसी वेणुगोपाललगायत धेरै प्रमुख कंग्रेस नेताको बैठकमा उपस्थिति थियो।

भारतीय कंग्रेसका नेता राहुल गान्धी संसद्मा भारतको प्रमुख विपक्षी दलको नेतामा मनोनीत भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी गान्धी शनिबार विपक्षी नेतामा मनोनीत भएका हुन् ।

कंग्रेस नेतृत्वको बैठकमा राहुललाई भारतको आधिकारिक विपक्षी नेताको रूपमा चयनका लागि सिफारिस गर्न सर्वसम्मतिले मतदान भएको थियो । यो पद सन् २०१४ देखि रिक्त थियो । मोदीले पछिल्लो समय आमचुनाव जितेपछि तेस्रो कार्यकालका लागि शपथ लिँदै छन् ।

गान्धीको पार्टीले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई बहुमतबाट वञ्चित गरेको थियो । यसले भाजपालाई सरकारको नेतृत्व गर्न गठबन्धनका साझेदारमा निर्भर रहन बाध्य पारेको छ ।

गान्धीले विश्लेषकको अपेक्षा र एक्जिट पोललाई बेवास्ता गर्दै आफ्नो पार्टी (कंग्रेस)लाई संसद्मा सिटका हिसाबले लगभग दोब्बर बनाएका थिए । एक दशकपछि कंग्रेसका लागि यो सबैभन्दा राम्रो परिणाम हो ।