Newyork Time 10:00 am
April 12, 2024, Friday
२०८० चैत्र ३०

बाईडेन र ट्रम्पबीच कडा टक्कर, तर दुवैप्रति जनता आशावादी छैनन

२०८० चैत्र ९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

215

अमेरिकामा सात दशकपछि पहिलो पटक राष्ट्रपतीय चुनावमा अघिल्लो निर्वाचनकै प्रतिस्पर्धी आमने–सामने हुँदै छन् । यसअघि सन् १९५६ मा रिपब्लिकन राष्ट्रपति ड्वाइट डी आइजनहावरले डेमोक्रेटिक उम्मेदवार एड्लई स्टेभेन्सनलाई दोस्रो पटक पराजित गरेका थिए । आगामी नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक दलका तर्फबाट वर्तमान राष्ट्रपति जो बाइडेन र रिपब्लिकन दलका तर्फबाट डोनाल्ड ट्रम्प उम्मेदवार हुने निश्चित भइसकेको छ ।

अलग पार्टी र व्यक्तिगत स्वभावका हिसाबले निकै फरक भए पनि दुई उम्मेदवारबीच केही समानता छन् । ती हुन्– राष्ट्रपतीय चुनावका लागि दुवै जनाबीच एक पटक प्रतिस्पर्धा भइसकेको छ । दुवै जनाले एक/एक पटक राष्ट्रपतिको जिम्मेवारी सम्हालिसकेका छन् । २०१६ मा राष्ट्रपतिमा विजयी ट्रम्प २०२० मा बाइडेनसँग पराजित भएका थिए ।

आगामी नोभेम्बरमा फेरि दुई नेताबीच नै प्रतिस्पर्धा हुँदै छ । दुवै नेताले आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुन आ–आफ्ना दलका तर्फबाट आवश्यक पर्ने प्रतिनिधिहरूको समर्थन जुटाइसकेका छन् । विभिन्न राज्यमा भएको प्राइमरीमा ट्रम्पले १२ सय ७३ प्रतिनिधिको समर्थन जुटाइसकेका छन् । रिपब्लिकन पार्टीबाट राष्ट्रपति उम्मेदवार बन्न कम्तीमा १२ सय १५ जना पार्टी प्रतिनिधिको समर्थन आवश्यक पर्छ । त्यस्तै, डेमोक्रेटिक दलबाट उम्मेदवार बन्न १९ सय ६८ पार्टी प्रतिनिधिको समर्थन जुटाउन आवश्यक हुनेमा २१ सय ७ प्रतिनिधि बाइडेनको पक्षमा उभिइसकेका छन् ।

दुवै नेताले उम्मेदवार बन्ने दौडमा पार्टीभित्रबाट भने खासै कडा चुनौती सामना गर्नुपरेन । अघिल्लो राष्ट्रपतीय चुनावमा विजयी बाइडेन अर्को कार्यकालका लागि प्रतिस्पर्धामा नउत्रिने कतिपयको आकलन थियो । ट्रम्पले पनि रिपब्लिकन दलमा ‘कमब्याक’ गर्न सक्ने निकै झिनो आशा देखिएको थियो । तर चुनावी मिति नजिकिँदै गर्दा ट्रम्प पार्टीभित्र निकै हाबी भए र आफूलाई विकल्पविहीन उम्मेदवारका रूपमा उभ्याउन सफल भए ।

पार्टीबाट उम्मेदवार बन्ने क्रममा बाइडेनविरुद्ध भने खासै प्रतिस्पर्धी देखिएनन् । वर्तमान राष्ट्रपति भएका कारण पार्टीभित्र उनलाई सहज भयो । त्यसका साथै, दलभित्र उनलाई ट्रम्पलाई पराजित गर्न सक्ने एकमात्र उम्मेदवारका रूपमा अघि सारियो । उम्मेदवार बन्न आवश्यक प्रतिनिधिको समर्थन प्राप्त गरेपछि बाइडेनले पार्टीले आफूमाथि पुनः विश्वास गरेको भन्ने ‘सम्मानित अनुभव गरेको’ प्रतिक्रिया दिएका थिए । तर उनको उम्मेदवारीको औपचारिक घोषणा भने अगस्टमा हुने डेमोक्रेटिक नेसनल कन्भेन्सनपश्चात् मात्र गरिनेछ ।

रिपब्लिकन दलले पनि राष्ट्रिय सम्मेलनबाट उम्मेदवारको घोषणा गर्नेछ । ट्रम्प रिपब्लिकन प्राइमरी चुनावमा भने अप्रत्याशित समर्थन जुटाउन सफल भएका छन् । हालसम्म भएका प्राइमरीमा भर्जिनियाबाहेक अन्यमा ट्रम्पले जितेका छन् । रिपब्लिकन दलको आधार रहेका मतदातामाझ भने उनी निकै लोकप्रिय पाइएका छन् । पार्टीभित्र प्रमुख प्रतिस्पर्धी ठानिएकी राष्ट्रसंघकी पूर्वराजदूत निकी हेलीले बीचमै चुनावी दौड त्यागेकी थिइन् ।

उमेरका हिसाबले पनि दुवै नेता बुढ्यौली उमेर समूहका हुन् । वर्तमान राष्ट्रपति बाइडेनले जीवनका ८० वसन्त पार गरिसकेका छन् । १९४२ को नोभेम्बर २० मा जन्मिएका बाइडेनले २०२० मा ७८ वर्षको उमेरमा राष्ट्रपतीय कार्यकाल सम्हालेका थिए । अर्को कार्यकालका लागि निर्वाचित भएको खण्डमा उनी ८६ वर्षसम्म पदमा रहनेछन् । १९४६ जुन १४ मा जन्मिएका ट्रम्प बाइडेनभन्दा चार वर्ष कान्छा छन् । ८१ वर्षमा टेकेका बाइडेनले बुढ्यौली उमेरका कारण आगामी राष्ट्रपतीय कार्यकालको जिम्मेवारी बहन गर्न सक्नेमा कतिपयले प्रश्न उठाइरहेका छन् । तर डेमोक्रेटिक दलले भने उनैलाई पत्याएको छ । ट्रम्प आफ्नो प्रतिस्पर्धी निश्चित हुनु भने उनका लागि केही सहज भएको छ । कारण, उमेरको विषयमा आफूतिर सोझिएका औंला उनले ट्रम्पतर्फ फर्काउन पाएका छन् ।

२०१६ मा ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ को नाराले चुनावी सफलता हात पारेका थिए । यसपटक भने उनले ‘मेक अमेरिका ग्रेट एन्ड ग्लोरियस अगेन’ को नारा अघि सारेका छन् । कडा आप्रवासन नीतिको मूल मुद्दा त छँदै छ । ट्रम्पले मतदातासामु ‘सीमा बन्द’ गर्नेदेखि ‘कीर्तिमानी संख्यामा’ अवैध आप्रवासीलाई देशनिकाला गर्ने आश्वासन बाँड्दै आएका छन् । अपराध घटाउने, घरेलु ऊर्जा उत्पादन बढाउने, विदेशी आयातमा थप शुल्क लगाउने, युक्रेन युद्ध अन्त्य गर्ने र विश्व मामिलामा ‘अमेरिका पहिले’ नीति उनले अघि सारेका छन् ।

बाइडेन भने अमेरिकी अर्थतन्त्रमा देखिएका सकारात्मक प्रवृत्तिहरूको बखान गर्न व्यस्त छन् । महिलाहरूको गर्भपतन अधिकार संकुचित पार्ने तथा सामाजिक कार्यक्रमहरू कटौती गर्ने प्रयासका विषयमा उनले निकै चासो देखाएका छन् । त्यसका साथै, ट्रम्प विजयी भएको खण्डमा ‘देश पछाडि फर्कने’ बाइडेनको दाबी छ । ‘हामीले एउटा गम्भीर वास्तविकताको सामना गर्दैछौं,’ उम्मेदवार बन्न आवश्यक पार्टी प्रतिनिधिहरूको गत साता समर्थन जुटाएपछि बाइडेनले भनेका थिए, ‘अमेरिकामा स्वतन्त्रता र लोकतन्त्र गृहयुद्धयताकै जोखिममा छ । डोनाल्ड ट्रम्प आक्रोश, बदला र प्रतिशोधको अभियान चलाइरहेका छन्, जसले अमेरिकाको विचारलाई खतरामा पार्छ ।’ अमेरिकी जनताले देशलाई भविष्यमा अघि बढिरहन योग्य नेतृत्व रोज्नेमा आफू विश्वस्त रहेको बाइडेनको भनाइ छ ।

बाइडेनको दाबीलाई ट्रम्पको सोमबारको प्रतिक्रियाले पनि मलजल गरेको छ । ओहायो राज्यमा आयोजित र्‍यालीमा बोल्दै ट्रम्पले ‘नोभेम्बरको चुनावमा आफू विजयी नभए रक्तपात’ मच्चिने चेतावनी दिएका थिए । ‘नोभेम्बर ५ को मिति याद गर्नुहोला । मलाई विश्वास छ, यो हाम्रो देशको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण मिति हुनेछ,’ ओहायोको भन्डालियाको र्‍यालीमा ट्रम्पले भने । आफ्नो आलोचनामा उत्रेको भन्दै उनले बाइडेन ‘सबैभन्दा खराब राष्ट्रपति’ भएको बताए ।

यसअघि ट्रम्पले राष्ट्रपति बाइडेनलाई टेलिभिजन बहसहरूका निम्ति चुनौती दिएका थिए । ‘डेमोक्रेटिक पार्टीका राष्ट्रपतिसँग जुनसुकै समय कुनै पनि स्थानमा टेलिभिजन बहसका लागि तयार रहेको’ बताएका थिए । तर, त्यसलाई बाइडेनको चुनावी अभियान टोलीले ‘आफ्नो प्रभाव फैलाउन ट्रम्प अनावश्यक प्रचारमा उत्रेको’ टिप्पणी गरेको थियो । ट्रम्पले बाइडेन आफूसँग बहस गर्न निकै वृद्ध र भुलक्कड भएको बताउँदै आएका छन् । त्यसको प्रतिक्रियामा बाइडेनले ट्रम्पको ‘मानसिक अवस्था कमजोर हुँदै गएको’ भन्ने गरेका छन् ।

यसअघिको चुनावबाट लगातार दोस्रो पटक राष्ट्रपति हुने सपना तुहिएपछि ट्रम्पले सत्ता हस्तान्तरणमा किचलो निम्ताएका थिए । अनियमितता र धाँधली भएको भन्दै चुनावी नतिजा अस्वीकार गरेका ट्रम्पले राष्ट्रपतीय कार्यालय ह्वाइटहाउस नछाड्ने घोषणासमेत गरेका थिए । जसका कारण सयौं ट्रम्प समर्थकले अमेरिकी संसद् भवन क्यापिटोल हिलमा आक्रमण गरेका थिए । ट्रम्पको उक्साहटमा २०२१ को जनवरी ६ मा उनका समर्थकहरूले गरेको आक्रमणलाई अमेरिकी लोकतन्त्रमा कालो दिनका रूपमा हेरिन्छ । यो घटनाका कारण पनि अमेरिकी लोकतन्त्रप्रति विश्वास गर्ने मतदाता ट्रम्पको विपक्षमा उभिने आकलन कतिपयको छ ।

त्यस्तै, रुसी राष्ट्रपति पुटिनसँगको सम्बन्ध भने ट्रम्पका लागि चर्को पर्न सक्ने ठानिएको छ । ट्रम्प आगामी कार्यकालका लागि निर्वाचित भएको खण्डमा मस्कोलाई फाइदा पुग्ने र अमेरिकी लोकतन्त्र र बाह्य स्वार्थमा असर पुग्ने जानकारहरूको भनाइ छ । २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गर्दा ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई ‘प्रतिभाशाली र अत्यन्त ज्ञानी’ भनेर प्रशंसा गरेका थिए । ट्रम्प निर्वाचित भए भने युक्रेनलाई सहयोग कटौती गर्ने र आफ्नो पक्षमा पर्ने गरी शान्ति सम्झौता गर्न रुसलाई सहज वातावरण बनाइदिने विश्लेषकहरूको भनाइ छ । ‘ट्रम्पले पुटिनलाई बलियो नेताका रूपमा हेर्छन्,’ ब्रुकिङ्स इन्स्टिच्युसनका वरिष्ठ फेलो तथा ट्रम्प प्रशासनको पहिलो दुई वर्ष राष्ट्रिय सुरक्षा अधिकारी रहेकी फियोना हिल भन्छिन्, ‘एक हिसाबले उनीहरू दुवैले समानान्तर रूपमा काम गरिरहेका छन् किनभने कारण फरक छन् तर उनीहरू दुवै अमेरिकालाई कमजोर बनाउन प्रयासरत छन् ।’

विभिन्न राज्यमा भएका प्राइमरीको नतिजा हेर्दा भने ट्रम्प र बाइडेनबीच दोस्रो कार्यकालका लागि कडा टक्कर हुने देखिएको छ । त्यस्तै, इमर्सन कलेजले गरेको अध्ययनमा भने ट्रम्पलाई ५१ र बाइडेनलाई ४९ प्रतिशत समर्थन गर्ने बताएका छन् । केसर फेमिली फाउन्डेसनले गरेको सर्वेक्षणमा ४७ प्रतिशत मतदाता ट्रम्पको पक्षमा र ४४ प्रतिशत बाइडेनको पक्षमा देखिएका छन् । टीआईपीपी पोलिङमा पनि बाइडेनभन्दा ट्रम्प एक प्रतिशतले अघि देखिएका छन् ।

एसोसिएटेड प्रेसले गत साता गरेको एक सर्वेक्षणमा सहभागीमध्ये ३८ प्रतिशतले मात्रै बाइडेनलाई राष्ट्रपतिमा दोहोरिएको हेर्न चाहेको बताएका छन् । ३७ प्रतिशतले मात्र बाइडेनको उमेर र स्वास्थ्यप्रति आफूहरू ढुक्क रहेको बताएका छन् । ट्रम्पको उमेर र कार्यक्षमताको पक्षमा भने ५७ प्रतिशत मतदाता देखिएका छन् । तर, रेडफिल्ड एन्ड विल्टन स्ट्राटेजिजको सर्वेक्षणमा भने बाइडेन अगाडि देखिएका छन् । उनले ४३ प्रतिशत मतदातालाई आफ्नो पक्षमा पारेका छन् भने ३९ प्रतिशत ट्रम्पको पक्षमा छन् ।

न्युयोर्कस्थित सिटी विश्वविद्यालयमा पब्लिक पोलिसीका प्राध्यापक हेथ ब्राउन भने आफू चुनावी सर्वेक्षणका नतिजामा मात्र नअल्झने बताउँछन् । ‘दुवै उम्मेदवारका अभियानलाई थाहा छ कि यो दौडमा कडा टक्कर हुनेवाला छ,’ उनले भने, ‘सम्भवतः केही समय अझै यस्तै अवस्था रहिरहनेछ र त्यहीअनुसार उनीहरू आफ्ना रणनीति कार्यान्वयनमा लाग्नेछन् ।’

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल मत आवश्यक पर्छ । २०२० को चुनावमा बाइडेन ३०६ इलेक्टोरल मतसहित राष्ट्रपतिमा निर्वाचित भएका थिए । ट्रम्पको पक्षमा २ सय ३२ मत परेको थियो । डेमोक्रेटिक दल विजयी भएको मेइन र रिपब्लिकन दलले जितेको नेब्रास्काबाट एक/एक इलेक्टोरल मत विपक्षी उम्मेदवारलाई गएको थियो । अमेरिकी राज्य क्यालिफोर्नियामा सबैभन्दा बढी ५४ र अलास्का, डेलावयर, मोन्टाना, नर्थ डकोटा, साउथ डकोटा, भर्मन्ट, बायोमिङ र डिस्ट्रिक्ट अफ कोलम्बियामा सबैभन्दा कम ३/३ डेलिगेट्स निर्वाचित हुन्छन् । २०२४ का लागि भने केही राज्यमा एकदेखि दुई इलेक्टोरल मत हेरफेर भएको छ ।

डेमोक्रेटिक दलको वर्चस्व रहेका राज्यलाई ‘ब्लु स्टेट्स’ का रूपमा चिनिन्छ । यो समूहमा क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावयर, हवाई, इलिनोइस, मेइन, मेरिल्यान्ड, मासाचुसेट्स, न्यु हेम्सायर, न्यु जर्सी, न्यु मेक्सिको, न्युयोर्क, ओरेगन, रोड आइल्यान्ड, भर्मन्ट, भर्जिनिया, वासिङ्टन र डिस्ट्रिक्ट अफ कोलम्बिया छन् । त्यस्तै, मत परिणाम रिपब्लिकनको पक्षमा आउने ‘रेड स्टेट्स’ मा अलबामा, अलास्का, अर्कान्सस, इडाहो, इन्डियाना, आयोवा, कान्सस, केन्टुकी, लुजियाना, मिसिसिपी, मिजोरी, मोन्टाना, नेब्रास्का, नर्थ डाकोटा, साउथ डाकोटा, ओक्लोहामा, साउथ क्यारोलाइना, टेनसी, युटा, वेस्ट भर्जिनिया र वायोमिङ छन् ।

त्यसैगरी, एरिजोना, फ्लोरिडा, जर्जिया, मिसिगन, मिनिसोटा, नेभादा, नर्थ क्यारोलाइना, ओहायो, पेन्सिलभेनिया र विस्कन्सिन ‘स्वीङ स्टेट’ हुन् । यी राज्यको नतिजाले नै समग्र राष्ट्रपतीय चुनावको मत परिणाम प्रभावित हुने निश्चित छ । अमेरिकी राजनीतिमा एक कार्यकाल राष्ट्रपति भएकाहरुलाई उसले शुरु गरेको काम पुरा गर्न भन्दै प्रायजसो दुई कार्यकाल चुनाव जिताउँछन तर केहि यस्ता उदाहरण छन केहि एक कार्यकालपछि अकोर्् कार्यकाल हारेका छन । अघिल्लो पटक ट्रम्प हारे जसरी यसपटक बाईडेन पनि नहार्ला भन्न सकिन्न तर ट्रम्पले देखाएको दादगिरीबाट स्वयम रिपव्लिकन पार्टीका प्रबुद्ध भोटर पनि उसलाई मत हाल्ने पक्षमा छैनन । उता बाईडेन पनि आफ्नो कार्यकालमा गरेका सबै राम्रा काम भन्दा पनि ईमिग्रयान्टलाई मनपरी अमेरिका प्रबेशमा खुल्ला गरेको अमेरिकामा आफ्नो राजगारी खोसिएको र अमेरिकामा महंगी बढी रहँदा पनि यूक्रेन र ईजरायललाई पैसा खन्याएको भन्दै आक्रोसित देखिन्छ । यो दुवै पक्ष हेर्दा कसले बाजी मार्ला यसै भन्न कठिन छ ।