Newyork Time 08:24 am
May 20, 2024, Monday
२०८१ जेष्ठ ७

एमसीसी आयोजना ३९ महिनाभित्र न्युबुटवल सबस्टेसन निर्माण हुने

२०८१ बैशाख २८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

170

एमसीए-नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदानमा बन्ने न्यु-बुटवल सबस्टेसन निर्माण गर्न ठेक्का सम्झौता गरेको छ । यो एमसीसी परियोजना अन्तर्गत निर्माणसम्बन्धी पहिलो ठेक्का हो ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा निर्माण हुने ४०० केभी न्यु-बुटवल सबस्टेसन निर्माण गर्न लिंकसन इन्डिया प्रालिसँग एमसीए-नेपालले बिहीबार ठेक्का सम्झौता गरेको हो । सम्झौता अनुसार सबस्टेस निर्माण ३९ महिनाभित्र सम्पन्न गर्नुपर्ने छ । सबस्टेसनका तीन लटमध्ये दोस्रो लटको यो आयोजना निर्माणका लागि पाँचवटा कम्पनी इच्छुक थिए । त्यसमध्ये सबैभन्दा कम रकम प्रस्ताव गर्ने लिंकसन इन्डियाले यो परियोजना ३ करोड ९७ लाख अमेरिकी डलर (करिब सवा ५ अर्ब रुपैयाँ) मा याे ठेक्का हात पारेको हो ।

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङल गायतको उपस्थितिमा नवलपरासीमा आयोजित कार्यक्रममा एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र लिंकसन इन्डिया प्रतिनिधिले हस्ताक्षर गरे ।

एमसीए-नेपालले यो परियोजना अन्तर्गत तीनवटा सबस्टेसन निर्माण गर्दैछ । बाँकी दुई सबस्टेसन नुवाकोट रातमाटे र तनहुँ दमौलीमा निर्माण हुँदैछन् । यी दुई सबस्टेसन निर्माण गर्न पनि प्राविधिक रूपमा योग्य ठेकेदारले पेस गरेको वित्तीय प्रस्ताव खोलिसकिएको छ । बाँकी दुई सबस्टेसन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षरका लागि अन्तिम तयारी रहेको विष्टले जानकारी दिए ।