Newyork Time 09:58 am
May 9, 2024, Thursday
२०८१ बैशाख २७

पन्चायत संझाउने गृहको निर्देशन १२ घण्टा मै सच्याइयो

२०८० चैत्र ९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

290

 

काठमाडौं । गृह मन्त्रालयले आमसञ्चारमाध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गरेको परिपत्र २४ घण्टा नबित्दै सच्याउन बाध्य भएको छ । गृहमन्त्रालयको पत्र सार्वजनिक भएको केहि समयमा सवत्र्र बिरोध भएपछि मनत्रलयले सच्याउन बाध्य भएको हो । ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहीबार पठाएको परिपत्रमा अनलाइन तथा छापा सञ्चारमाध्यमको अनुगमन र कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा डेस्क राख्ने उल्लेख थियो ।

तर उक्त परिपत्र सार्वजनिक भएसँगै विरोध सुरु भएको थियो । त्यसपछि बिहीबार साँझ नै गृह मन्त्रालयले अर्को विज्ञप्ति जारी गरी सञ्चारमाध्यमको निगरानी र कारबाही गर्ने विषय परिपत्रमा समावेश नभएको स्पष्टीकरण दिएको छ ।

‘मिति २०८० चैत ६ गते मन्त्रालयबाट यससम्बन्धी परिपत्र नभएको र सञ्चारमाध्यममा प्रकाशित सरोकारलाई समेत मध्यनजर गरी मस्यौदामा उल्लेख भएका उक्त बुँदाहरु हटाई अन्य विषयहरु मात्र समावेश गरी मिति २०८० चैत ८ गते परिपत्र गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’, गृहका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पत्र सच्याउनु अघि यस्तो थियो । ‘अनलाइन न्युजपोर्टल, फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल र छापा माध्यमबाट अनर्गल, आधारहीन, भ्रामक सन्देशहरू प्रचारप्रसार गर्ने, जातीय सांस्कृतिक सद्भाव भड्काउने, राष्ट्रिय एकता अखण्डता, सार्वभौमिकतामा आँच आउने सामग्री राख्ने, कुनै व्यक्तिको गोपनीयताको हक अतिक्रमण गर्ने, सार्वजनिक प्रतिष्ठा र सम्मानमा नोक्सान पुग्ने गरी अभिव्यक्ति दिने, अश्लीलता प्रवर्द्धन गर्नेजस्ता कार्यहरूको नियन्त्रण गरी दोषीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एक(एक जना अधिकृतस्तरको कर्मचारी खटाइ डेस्क सञ्चालन गर्ने । यस प्रकारका कार्यमा संलग्न उपर प्रचलित कानुन बमोजिम कारबाही गरी सार्वजनिकीरण गर्ने ।’

उक्त निर्देशन अनुसार अनलाइन न्युजपोर्टल र छापा मिडियाले समेत गलत समाचार प्रकाशित वा प्रसारित गरेको अवस्थामा प्रहरी र सीडीओ कार्यालयले कारबाहीसम्म गर्ने बुझिन्छ । जबकि, सञ्चारमाध्यममा प्रकाशित सामग्रीलाई लिएर प्रेस काउन्सिलले मात्रै कारबाही गर्न सक्ने कानुनी व्यवस्था छ । गृहले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

यसबारे जिज्ञासा राख्दा गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई भने मिडियाले गलत गरे सीडीओ कार्यालय र प्रहरीमा जाहेरी दिन सकिने र उक्त जाहेरी कारबाही गर्ने ठाउँमा सम्बन्धित निकायले पठाउने भन्ने बुझ्नुपर्ने दाबी गर्छन् ।