Newyork Time 06:37 pm
May 2, 2024, Thursday
२०८१ बैशाख २१

प्रधानमन्त्रीको विश्वास परीक्षण: एकै व्यक्तिलाई तेश्रो पटक विश्वासको मत

२०८० फाल्गुन ३०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

315

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार तेस्रोपटक विश्वासको मत लिँदै छन् । बैठक बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । समर्थक दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यसैअनुसार आगामी २१ चैतभित्र संसद्मा विश्वासको मत परीक्षण गर्नुपर्नेमा एक साताभित्रै सदनबाट निर्णय लिँदै छन् ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर २१ फागुनमा एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादीसहितको पाँच दलीय गठबन्धन बनाएका छन् । तेस्रोपटक नयाँ गठबन्धन बनाएका प्रचण्डले संसद्मा विश्वासको मत परीक्षण गर्न लागेका हुन् ।
हाल २७४ सदस्यीय (सुवास नेम्वाङको निधन) प्रतिनिधिसभामा बहुमत सिद्ध गर्न १३८ सदस्य आवश्यक पर्छ । पाँच दलीय गठबन्धनसँग प्रतिनिधिसभामा १५३ सदस्य छन् । एमाले ७८, माओवादी ३२, रास्वपा २१, जसपा १२ र एकीकृत समाजवादीका १० सदस्य छन् ।

यसमध्ये एमालेका टोपबहादुर रायमाझी निलम्बनमा परेकाले मत हाल्न पाउँदैनन् भने सभामुख देवराज घिमिरेले सभाको नेतृत्वकर्ताको हिसाबले मतदानमा सहभागी हुन पाउँदैनन् । यसरी एमालेका दुई सदस्य घटाउँदा ७६ हुन्छ भने गठबन्धनको कुल १५१ सदस्य मतदानमा सहभागी हुन पाउँछन् ।गठबन्धनका पाँचै दलले विश्वासको मत लिन ह्विप जारी गरेका छन् । एमाले प्रमुख सचेतक महेश बर्ताैलाका अनुसार संसदीय दलको मंगलबार बसेको बैठकले विश्वासको मत दिन सांसदहरूलाई ह्विप जारी गरेको हो ।