Newyork Time 09:37 am
May 2, 2024, Thursday
२०८१ बैशाख २०

मानव विकास सूचकांकमा नेपाल १४६औं स्थानमा

२०८० चैत्र २
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

260

मानव विकास सूचकांकमा नेपाल १४६औं स्थानमा उक्लिएको छ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको सन् २०२३/२४ को मानव विकास प्रतिवेदनले सन् २०२२ मा नेपालले मानव विकासमा सामान्य प्रगति गरेको देखाएको छ। सन् २०२१ मा नेपाल १४९औं स्थानमा थियो।

संसारका १९३ वटा देश र भूभागमध्ये मानव विकास सूचकांकको दृष्टिले नेपाल मध्यम मानव विकास श्रेणीमा पर्ने जनाइएको छ। नेपालको मानव विकास सूचकांक मान ०.६०१ छ। सन् २०२१ को तुलनामा नेपालले मानव विकास सूचकांकमा ०.०१० ले प्रगति गरेको छ, जुन विश्वव्यापी औसत ०.००४ भन्दा बढी हो। सन् २०२१ मा नेपालको मानव विकास सूचकांक ०.५९१ थियो।

मानव विकास सूचकांकले कुनै पनि देशको प्रतिव्यक्ति कुल राष्ट्रिय आय, शिक्षा र औसत आयु मापन गर्छ। यूएनडीपीले मानव विकास सूचकांकको मान ०.५५० देखि ०.६९९ बीचमा हुने देशलाई मध्यम मानव विकास श्रेणीमा राख्छ।

पछिल्ला तीन दशकमा मानव विकास सूचकांकमा उल्लेख्य प्रगति गर्ने मुलुकमध्ये नेपाल पनि पर्छ। सन् १९९० मा नेपालको मानव विकास सूचकांक ०.३९५ मात्रै थियो। सन् २०१० मा आइपुग्दा यो ०.५४३ पुगेको थियो। सन् २०२२ मा यो ०.६०१ पुगेको हो।

सन् १९९० देखि २०२२ सम्म नेपालीको आयु १५.७ वर्षले, विद्यालय जाने औसत वर्ष ५.४ प्रतिशतले र विद्यालय जाने अपेक्षित वर्ष २.१ वर्षले सुधार भएको जनाइएको छ। यसैगरी, नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जीएनआई) करीब १६५.७ प्रतिशतले परिवर्तन भएको प्रतिवेदनले जनाएको छ। नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय चार हजार २६ अमेरिकी डलर छ।

सन् २०२२ मा नेपालमा महिलाको मानव विकास सूचकांक ०.५६२ र पुरुषको ०.६३५ रहेको छ। यसले पुरुषका तुलनामा मानव विकास सूचकांकमा महिला पछाडि परेको देखाउँछ।