Newyork Time 02:50 am
May 17, 2024, Friday
२०८१ जेष्ठ ४

सहकारीको अपचलन छानबिन गर्न संसदीय समिति गठन नगरुन्जेल कांग्रेसले संसद चल्न नदिने

२०८० चैत्र ७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

200

सहकारीको पैसा अपचलन छानबिन गर्न संसदीय समिति गठन नगरून्जेल कांग्रेसले संसद चल्न नदिने बताएको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेका थिए। उक्त माग पूरा नभए संसद अवरूद्ध हुने तर यसको जबाफदेही सरकार हुने बताएका हुन्।

‘सहकारीको पैसा अपचलनबारे एउटा छानबिन समिति गठन गरौं। यो संसदीय अभ्यास हो, संसदभित्र संसदको छानबिन समिति गठन गरौं र निष्पक्ष छानबिनको वातावरण सुनिश्चित गरौं,’ लेखकले भने, ‘यसमा सरकारलाई आपत्ति छ भने सरकार आफैं गैरजिम्मेवार मानिनेछ। र, सदनको नियमित कामलाई बाधा पुर्‍याएको मानिनेछ।’

उनले थप भने, ‘कांग्रेसले संसद र सदनको काम अवरोध गरेको छैन र गर्न पनि चाहेको छैन। तर यसरी गम्भीरतापूर्वक कुरा उठाउँदा उठाउँदै पनि सरकारले गम्भीरतापूर्वक लिएन, यो कुरा अगाडि बढाएन भने संसद कांग्रेसले अवरूद्ध गर्दैन, सरकार आफैंले गरेको मानिनेछ।’

यति कुरा भनिसकेपछि पनि संसदको नियमित कामकारबाही अगाडि बढ्न नसके सरकारले नै संसद अवरूद्ध गरेको मानिने उनले बताए।

‘यसको जिम्मा सरकारले लिनुपर्छ। मेरो माग, आग्रह र चुनौती छ,’ उनले भने।

कांग्रेस सांसद रामहरि खतिवडाले पनि संसदीय छानबिन समिति गठन गर्न माग गरेको र यो माग सरकारले पूरा नगरे बुधबारदेखि संसद चल्न नदिने बताएका छन्।

बैठकपछि पत्रकारहरूसँग बोल्दै उनले भने, ‘हाम्रो माग पूरा नभए भोलिदेखि संसद चल्दैन। के गर्ने हो, यो काम सरकारकै हातमा छ।’