Newyork Time 12:29 pm
April 12, 2024, Friday
२०८१ बैशाख १

द्वन्द्ववादी दर्शनमा हेगेलको योगदान

२०७८ भाद्र २४
Read Time : < 1 मिनेट

राजकुमार श्रेष्ठ

520

जर्ज विल्हेम फ्रेडरिक हेगेलको जन्म सन् १७७० मा दक्षिण पश्चिमको जर्मनीको स्टुटगार्टमा सम्भ्रान्त परिवारमा भएको थियो । उनका पिता सरकारी अधिकारी थिए । आमा शिक्षित र सम्पन्न वकीलकी छोरी थिइन् । शिक्षित र सम्पन्न परिवारमा जन्मेका हेगेलले सानैदेखि दर्शन, शेक्सपियरको साहित्य, जर्मन साहित्य, बाइबल, इत्यादिको अध्ययन गरेका थिए । त्यसैले उनको दार्शनिक जग बलियो बनेको थियो । उनलाई जर्मन, ल्याटिन, ग्रिक, अंग्रेजी र फ्रेन्च भाषाको ज्ञान थियो, जसको कारण हेगेललाइ धेरै विषयको अध्ययनका लागि सहज बनाएको थियो ।
हेगेल जर्मनीको जोना विश्वविद्यायका दर्शनशास्त्रका प्रध्यापक थिए । उनी तर्कशास्त्र र पराभौतिकवादबारे प्रवचन दिन्थे । हेगेल आफ्नो समयको निकै प्रसिद्ध दार्शनिक थिए । उनको दार्शनिक प्रवचन सुन्न देशविदेशबाट विद्धानहरुको उपस्थिति हुन्थ्यो । हेगेल र उनका साथी दार्शनिक स्केलिङ्ग मिलेर सन् १८०२ मा ‘क्रिटिकल जर्नल अफ फिलोसफी’ नामक जर्नल प्रकाशित गरेका थिए । ‘The difference between fichte’s and schelling system of philosophy’ हेगेलको पहिलो दर्शनिक पुस्तक थियो । हेगेलको दोस्रो दार्शनिक पुस्तक थियो– ‘phenomenology of Mind’ ।

नेपोलियनले सन् १८०७ मा जेना शहर कब्जा गरेपछि जेना विश्वविद्यालय बन्दा गराइयो, जहाँ हेगेल प्राध्यापक थिए । विश्वविद्यालय बन्द भएपछि उनले वेरोजगारीका कारण आर्थिक संकट झेल्नुपरेको थियो । त्यसपछि उनी जेना शहर छाडेर बाम्वर्र्ग शहरमा गए र त्यहाँ बाम्वर्ग जेइतुङ नामक पत्रिकाको सम्पादक भएर काम गरे । त्यही वर्ष घरमालिकनी क्रिश्चियानासित गैर–वैवाहिक यौन सम्बन्धबाट पहिलो सन्तानका रुपमा छोरा जन्मियो । त्यसपछि उनी सन् १८०८–१८१६ सम्म नुरेम्बर्गमा जिम्नासियमका प्रधानाध्यापक भए । उनले सन् १८११ मा औपचारिक विवाह गरेका थिए भने सन् २०१७ मा अबैध छोराले परिवारको सदस्यको रुपमा प्रवेश पाएका थिए ।

हेगेललको चर्चित पुस्तक ‘Science of Logic’ तीन भोलुममा क्रमशः १८१२, १८१३ र १८१६ मा प्रकाशित गरिएको थियो । उनले त्यहाँ ‘phenomenology of Mind’ को व्यापक प्रयोग गरे । साथै उनले त्यही समयमा ‘comprehensive Encyclopedia of philosophical  sciences’ को तयारी गरे, जुन सन् १८१७ मा प्रकाशित भयो । त्यसैगरी उनको अर्को महत्वपूर्ण दर्शनिक कृति ‘Elements of the philosophy of right’ सन् २०२१ मा प्रकाशित भएको थियो ।

हेगेलको द्वन्द्ववाद

हेगेल आधुनिक युगका महान् द्वन्द्ववादी दार्शनिक हुन् । हेगेले द्वन्द्ववादी दर्शनलाई तार्किक निष्कर्षमा पु¥याउने काम गरेका थिए । माक्र्स–एंगेल्सले हेगेलेको द्वन्द्ववादलाई जर्मन शास्त्रीय दर्शको महानतम उपलब्धि मनेका थिए । माक्र्सवादी दर्शनको मुख्य स्रोत हेगेलको द्वन्द्ववाद थियो । माक्र्सको विश्वप्रसिद्ध ग्रन्थ ‘पुँजी’ हेगेलको वाद, प्रतिवाद र संवादको आधारमा अर्थात् हेगेलको तर्कशास्त्रको सूत्रमा लेखिएको थियो । लेनिनले भनेका छन्– ‘हेगेलको साइन्स अफ’ लजिक नपढी माक्र्सको पुँजी बुझिंदैन ।’ माक्र्सवाद पढ्दा जताततै हेगेल भेटिन्छन् ।

माक्र्स–एंगेल्सको द्वन्द्वात्मक भौतिकवादी दर्शनमा द्वन्द्ववादको स्रोत हेगेलको द्वन्द्ववाद हो । माक्र्स र एगेल्स आफै पनि शुरुमा वामपन्थ युवा हेगेलवादी थिए । भौतिकवादी दार्शनिक (जसको दर्शनबाट माक्र्सले भौतिकवादी अवधारणा प्राप्त गरेका थिए) फायरबाख पनि हेगेलवादी नै थिए । पछि उनी हेगेलको द्वन्द्ववादलाई परित्याग गर्दै भौतिकवादी दार्शनिकका रुपमा परिचित बने । फायरबाखले भौतिकवादी दर्शनलाई पूर्णता दिएका थिए, तर उनको भौतिकवाद अधिभूतवादी थियो ।

हेगेलले द्वन्द्ववादलाई प्रवर्ग, नियम र सिद्धान्तको रुपमा व्यवस्थित रुपले व्याख्या गरेका छन् । हेगेलको द्वन्द्ववाद व्यवस्थित हुँदाहुँदै पनि त्यो चिन्तनमा मात्र लागु गरिएको थियो तर माक्र्स–एंगेल्सले उनको द्वन्द्ववादलाई विकास गरेर प्रकृति जगत र चिन्तन जगत दुबैमा लागु ह्ुने विज्ञानको रुपमा विकास गरे । माक्र्स–एंगेल्सले हेगेलको द्वन्द्ववादनमा रहेको आदर्शवाद र फायरबाखको भौतिकवादमा रहेको अधिभूतलाई निषेध गर्दै द्वन्द्वात्मक भौतिकवादी दर्शनको प्रवर्तन गरेका थिए । (अधिभूतवादी दर्शनले परिवर्तन अस्विकार गर्दछ, जुन फायरबाखको भौतिकवादी दर्शनको कमजोरी थियो । त्यसैगरी आदर्शवादले संसारको प्राथमिक तत्व चेतनालाई मान्दछ, जुुन कमजोरी हेगेलको द्वन्द्ववादमा थियो ।)

हेगेलको द्वन्द्ववादको सन्दर्भमा एंगेल्सले भनेका छन्, “माक्र्स र म दुईजना मात्र यस्ता व्यक्ति थियौं, जसले द्वन्द्ववादलाई जर्मन आदर्शवादी दर्शनशास्त्रबाट मुक्त गरेर त्यसलाई प्रकृति र इतिहासको भौतिकवादी धारणामाथि लागु गर्यौं ।”


दर्शनको इतिहासमा हेगेलको सबभन्दा महत्वपूर्ण योगदान द्वन्द्ववादमा थियोे । द्वन्द्ववादको सुरुवात प्राचीन कालिन दार्शनिक हिराक्लिटसले गरेका थिए । त्यसपछि प्लेटोको दर्शनमा द्वन्द्ववाद तर्क गर्ने प्रणालीका रुपमा अभिव्यक्त हुन्छ । अर्थात् हिराक्लिटसले सुरुवात गरेको द्वन्द्ववाद प्लेटोमा पुगेर विकसित हुन्छ । तर यसलाई पूर्णता दिने काम हगेलले गर्दछन् । उनले द्वन्द्ववादको सर्वांगीण विकास गर्दछन् । र, यसका सबै पक्षहरुको स्थापना गर्दछन् । उनले द्वन्द्ववाको प्रवर्ग, नियम र सिद्धान्त सबैलाई पूर्णता दिन्छन् । यसरी द्वन्द्ववादलाई दर्शनको एउटा प्रमुख धाराका रुपमा हेगेलले स्थापित गर्दछन् । त्यसलाई नै पछि माक्र्सले लिएर भौतिकवादसँग जोड्छ र द्वन्द्वात्मक भौतिकवादको विकास गर्छ ।

हेगेलले द्वन्द्ववादलाई प्रवर्ग, नियम र सिद्धान्तको रुपमा व्याख्या गरेका छन् । ।

द्वन्द्ववादी दर्शनका प्रवर्तक हेगेलले प्रवर्गलाई सत्ताको प्रवर्ग, सारको प्रवर्ग र धारणाको प्रवर्गको रूपमा व्याख्या गरेका छन् । मूर्त अथावा ठोस वस्तुको अध्ययन गर्ने प्रवर्गलाई सत्ताको प्रवर्ग भनिन्छ । हेगेलले सत्ताको प्रवर्गलाई तीन भागमा विभाजन गरेका छन्– गुण, माात्रा र माप ।
द्वन्द्ववादको दोस्रो प्रवर्ग सारको प्रवर्ग हो । कुनै पनि वस्तु या घटनाको वास्तविकताको अध्ययन गर्ने सिद्धान्तलाई सारको प्रवर्ग भनिन्छ । सारको प्रवर्गका पनि तीन पक्ष हुन्छन्– सार, रूप र वास्तविकता ।

तेस्रो प्रवर्ग हो– धारणाको प्रवर्ग । धारणा चिन्तन प्रकृयाको अन्तिम रूप हो । चिन्तन प्रकृया पहिला सत्ताको रूपमा आउँछ । त्यो मूर्त हुन्छ ।
प्रवर्गपछि नियम आउँछ । नियम भनेको प्रकृति, समाज र चिन्तन वा सबै क्षेत्रमा जुन घटनाहरु घट्दछन्, वस्तुहरुबीच परिवर्तन नहुने सम्बन्धहरु हुन्छन्, एक पटक घटेपछि अर्को पटक घट्दैनन्, त्यसालई नियम भनिन्छ । स्थायी प्रकारका घटनाहरुलाई, स्थायी प्रकारका सम्बन्धहरुलाई नियम भनिन्छ । हेगेलले द्वन्द्ववादको नियमलाई तीन भागमा विभाजन गरेका छन् । ती हुन्– १) मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनको नियम, २) प्रतिपक्षहरुको एकता र ३) संघर्षको नियम र निषेधको निषेध नियम ।

द्वन्द्ववादको तेस्रो संघटक सिद्धान्त हो । यो प्रवर्ग र नियमको संयोजनबाट बन्छ । प्रवर्ग, नियम र सिद्धान्तबाट द्वन्द्ववादी दर्शन बन्दछ । कुनै पनि वस्तु तथा घटनाहरुको समग्र व्याख्या गर्ने चीज सिद्धान्त हो भने कुनै वस्तु तथा घटनाको एउटा–एउटा पक्षको व्याख्या गर्ने चीज नियम हो । द्वन्द्ववादका तीन सिद्धान्त छन्– परिवर्तनको सिद्धान्त, विकासको सिद्धान्त र अन्तर्सबन्धको सिद्धान्त ।

वस्तुगत आदर्शवादी दार्शनिक

वस्तुगत आदर्शवादका प्रवर्तक जर्ज विलहेल्म हेगेल थिए । यो आदर्श जगत वस्तुगत जगतकै रुपमा उपलब्ध हुन्छ । उनकाअनुसार त्यो आदर्श सत्ता अर्थात् विचार चेतन स्वरुपको छ । त्यो आइडियाका रुपमा आउने जुन सत्ता छ, त्यो चेतनाको रुपमा छ । र, त्यो चेतनाको रुपमा हुने सत्ता वस्तुगत जगतमा रुपमा पनि व्यक्त हुन्छ । यो वस्तुगत जगत र आदर्शगत जगतमा कुनै भेद छैन भन्ने धारणा हेगेलको थियो । । त्यसकारण कान्टले समाधान गर्न नसकेको द्वैतवादी सत्तालाई हेगेलले एकीकृत गर्दै अद्वैतवादी आदर्शका रुपमा वस्तुगत आदर्शवाद स्थापित गरेका थिए ।
हेगेको एउटा बहुचर्चित युक्ति थियो, ‘यथार्थ तर्कसंगत छ र तर्कसंगत यथार्थ छ ।’ (The rational is real, and the real is rational.) त्यसको तात्पर्य यो सम्पूर्ण संसार आर्दर्श स्वरुप छ । तर्क स्वरुप छ । यी सम्पूर्ण विविधताहरुमा एकता ल्याउने विचार तार्किक छ । त्यसकारण त्यो अथार्थ स्वरुपमा पनि व्यक्त हुन्छ र शास्वत पनि रहन्छ । उनले जायज हुनलाई विस्तविक हुनुपर्छ भन्नेमा जोड दिए । उनले भने कि जो आवश्यक हुन्छ, त्यो जायज हुन्छ । उनको यो दार्शनिक मान्यतालाई त्यतिखेरको निरंकुश जर्मन राजतन्त्रले आफ्नो निरंकुशता जायज भएको पुष्टि गर्नका लागि यो तर्कलाई सहयोगी ठानेर राजकीय दर्शनको रुपमा मान्यता थिएको थियो । यो युक्तिका लागि उनलाई पुरस्कृतसमेत गरिएको थियो ।

हेगेलले वस्तुगत आदर्शवादको स्थापना सर्बप्रथम‘The Phenomenology of Mind’ भन्ने ग्रन्थमा गरेका थिए । त्यसपछि उनले दोस्रो ग्रन्थ’Science of Logic ‘ मा विस्तृत रुपमा व्याख्या गरेका छन् । यो आइडिया निरन्तर निम्नस्तरबाट उच्चस्तरतर्फ विकसित हुँदै जान्छ । उनले त्यो कुरा आफ्नो ग्रन्थ ‘Science of Logic ‘ मा तीन चरणमा वर्णन गर्दछन् । पहिलो चरणमा सत्ताको सिद्धान्तका रुपमा वर्णन गरिएको छ । सत्ताको सिद्धान्तमा त्यो आइडिया अर्थात् आदर्श तत्व प्रत्यक्ष रुपमा व्यक्त हुन्छ । त्यसपछि दोस्रो चरणमा त्यो सारको सिद्धान्तमा जान्छ । सत्ताबाट सारमा जाँदा त्यो ठोसबाट अमूर्त बन्दछ, सार बन्छ । तेस्रो चरणमा त्यो सारबाट धारणामा परिणत हुन्छ । धारणाको सिद्धान्तमा त्यो सार धारणा बन्छ । हेगेलले यी तीन सिद्धान्तमा आदर्श तत्वको विकास प्रक्रियालाई वर्णन गर्दछन् । निम्नस्तरबाट उच्चस्तमा, सीमितबाट असीमितमा, विशेषबाट सामान्यमा र अपूर्णबाट पूर्णमा यो आदर्श तत्वको विकास हुन्छ । अन्ततः यो आदर्श तत्व एब्सुलुट आइडियामा अर्थात् निरपेक्ष विचारमा परिणत हुन्छ । त्यो निरपेक्ष विचार भएपछि सम्पूर्ण संसारका विविधताहरु एकीकृत हुन्छन् र आदर्श तत्वमा परिणत हुन्छन् । यो आदर्श तत्व नै सम्पूर्ण संसारको मूल सत्ता हो । यसरी हेगेलले आदर्शवादलाई पूर्णतामा पुर्याइदिन्छन् ।
आधुनकि दर्शनका तीन धारा अनुभवगत आदर्शवाद, आत्मगत आदर्शवाद र वस्तुगत आदर्शवादको अन्त्य हेगेलको दर्शनमा हुन्छ । हेगेलले आधुनिक दर्शनलाई पूर्णता दिन्छन् ।