Newyork Time 09:43 am
April 12, 2024, Friday
२०८० चैत्र ३०

दशैँको उत्पत्तिको अन्तर कथा

२०७८ आश्विन २४
Read Time : < 1 मिनेट

डी.आर. पोखरेल

555

खोज

दशैँ नेपालीहरुको सबैभन्दा ठूलो ‘राष्ट्रिय चाड’ मानिन्छ । कतिले ‘हिन्दूहरुको महान् पर्व’ पनि भन्दछन् । यी कुरा झट्ट सुन्दा राम्रा लाग्छन् तर यी अतिशयोक्ति हुन् । किनभने दशमीबाट दशैँ हुन आइपुगेको यस पर्वको उत्पत्ति सामरिक दृष्टिले भएको देखिन्छ । पछि यसले धार्मिक रुप लियो । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म यो पर्व मनाइन्छ । घटस्थापनादेखि नवमीसम्मलाई नौरथा भनिन्छ र दशौँ दिनमा टीका ग्रहण गरिन्छ । यस दिनलाई दशमी वा विजयादशमी भनिन्छ ।

विजय प्रतिस्पर्धा वा सामरिक महत्व जनाउने शब्द हो । ऐतिहासिक र पौराणिक कालमा कसैले कसैमाथि विजय गरेको कुरालाई नै यस पर्वले तानतुन् गरेको छ । संस्कृतिविदहरु भन्छन्–दशैँमा मौलो राखेर भोग दिने चलन द्रव्यशाहको पालादेखि आएको हो । त्यतिखेर मौलोको ठूलो महत्व हुन्थ्यो । एउटा गाउँ र अर्को गाउँ मात्र होइन, एउटा राज्य र अर्को राज्यको सिमाङ्कन मौलोले गथ्र्यो । एउटा मौलोलाई एउटा उमरा वा जिम्वालको आधिपत्यमा छोडिएको हुन्थ्यो । बाइसे चौबिसे लगायत अनेक भुरे टाकुरे राज्यहरु थिए र ती आपसमा लडिरहन्थे । तर स्थायी सेना थिएन । त्यसो भएकाले वर्षात्को काम सकिएर शारदीय मौसम सुरु भएपछि कोट भएको ठाउँमा उमरा र नभएको ठाउँमा जिम्वालले गाउँका नौजवानलाई मौलोको वरिपरि जम्मा पारेर सामरिक अभ्यास गर्न लगाउने र त्यसमा उम्दा हुनेलाई ‘जोदाहा’ भन्ने चलन थियो । उसलाई अविर जात्रा गरिन्थ्यो । लडार्र्इँँमा राजाहरुले जोदाहा माग्थे । जोदाहाहरुलाई लडाईँमा पठाइन्थ्यो । त्यस्तो जोदाहाको खाँडो जागेको भनिन्थ्यो । ऊ लडाईँबाट विजयी भएर आएपछि विजय उत्सव हुन्थ्यो (गुरुङ, २०५५ ः ७–८) ।

अचेल भने दशैँको यस सामरिक पक्षालाई बिर्सिएर यसको धार्मिक पक्षको मात्र पक्षपोषण गर्ने गरिएको पाइन्छ । आज यसलाई ‘हिन्दूहरुको महान पर्व’ भनिन्छ । दुर्गा भगवतीको आराधना गरिन्छ । शक्ति प्राप्तिको कामना गरिन्छ । दुर्गा भगवतीलाई शक्तिको श्रोत मानिन्छ । ‘आसुरी शक्तिमाथि दैवी शक्तिको विजय’ भनेर विजयादशमकिो गुणगान गाइन्छ । दुर्गा भगवतीको नौवटा रुप मानेर ‘नवदुर्गा’को आराधना गरिन्छ । पशुपंक्षीको वध गरेर उनलाई रगत चढाइन्छ । मूुक पशुको व्यापक रुपमा बली चढाइन्छ र दुर्गा भगवतीलाई ‘प्रसन्न’ पारिन्छ । कालरात्रीमा गोप्य पूजा गरिन्छ । त्यहाँ पनि बलि दिइन्छ ।

यसरी पशुपंक्षीको रगतको खोलो बगाएर दशैँ धुमधामसँग मनाइन्छ । यसलाई धार्मिकता भनिन्छ । शक्ति पूजाको अनुपम उदाहरण भनिन्छ । अब प्रश्न उठ्छ शक्ति पूूँजाको नाममा यस्तो हिंस्रक, अमानवीय र विभत्स रुपको यस प्रवृत्तिलाई किन पालनपोषण गरिएको छ ?

हिन्दूहरु पनि विभिन्न मतमा विभक्त छन् । कोही शैव, कोही वैष्णव, कोही सनातनी र कोही वैदिक मतका छन् । यिनीहरुमध्ये शैव, वैष्णव र वैदिकहरुले काटमार गर्दैनन्, मांसाहार गर्दैनन् । सनातनीहरु पनि यति हिंस्रक त होइनन् । तर शाक्त धर्मको प्रभावले वा तन्त्रको प्रभावले उनीहरुले हिंसाको बाटो लिएका हुनसक्छन् । शाक्त सम्प्रदाय आज अस्तित्वमा छैन । केही भिन्न रुपमा अघोर पन्थ भने अझै अस्त्विमा छ । प्राचीन र मध्यकालमा शाक्त सम्प्रदाय थियो । त्यसले शक्तिको आराधना गथ्र्यो । शक्ति प्राप्तिका लागि अविद्यातन्त्रको प्रयोग गथ्र्यो । त्यो सम्प्रदायले मारन, मोहन, स्तमभन, विद्वेषण, उच्चाटन र वशीकरण जस्ता ६ वटा अभिचार (तान्त्रिक) संस्कारलाई अवलम्बन गर्ने गथ्र्यो (शर्मा, २०५८ ः १०९) ।

यहलौकिक र परलौकिक सत्तालाई आफ्नो नियन्त्रणमा राख्न खोज्ने यो मत झूटो चिन्तन र साधना पद्धतिमा आधारित थियो । पछि यसमा पूूँजा–आजा, देवीदेवता, योग अनुष्ठान सबै जोडेर पूर्ण ज्ञान पद्धतिको रुपमा प्रस्तुत गरियो । यसमा वामाचारका मध्य, मांस, मत्स्य, मुद्रा र मैथुन जस्ता पञ्चमकार थपेर यसैलाई आफ्नो पवित्र र प्रिय पन्थ बनाइयो । यिनले जातभात मानेनन्, सतीप्रथाबाट नारीलाई मुक्त हुन सिकाए, रजस्वला हुनुअघि नै कन्यादान गर्ने प्रचलन, विधवा विवाहलाई निेषेधगर्ने प्रचलन जस्ता नारीलाई कुण्ठित पार्ने चलनबाट नारीलाई मुक्त पारे (सुरभ, २०३३६८) । तर फेरि पनि ‘साध्या’ को रुपमा नारी शरीरको शोषण भने कायमै रÞयो । यिनले पञ्चमकार बढाउँदै लगेपछि जनसमूहमा यो फैलियो । वैदिक धर्मका कट्टर नियमको तुलनामा यो सहज भएकाले लोकप्रिय बन्दै गयो ।

दशैँमा यसको प्रभाव परेको छ । द्रव्य शाहको मौलो पुँजाको आधारशीला पनि तन्त्र नै हुनुपर्छ । वाईसे चौवीसे राज्यकालको वरपर नै सातौँ शताब्दीदेखि प्रभावशाली बनेको तन्त्रले मल्ल कालमा दरवारभित्र पनि ठूलो आसन जमाएको उल्लेख पाइन्छ ।
तन्त्रको प्रभाव दशैँमा कति परेको छ भनेर अध्ययन गर्नलाई अन्त जानु पर्दैन । दशैँकी आराध्यदेवी दुर्गा भगवतीको महिषासुरमर्दिनी रुप हेर्दा नै थाहा हुन्छ । मुण्डमाला धारण गरेकी, दाहिने आठवटा बाहुमा खड्ग, बज्र, वाण, चक्र, अंकुश, वरदमुद्रा, त्रिशूल, र खप्परु धारण गरेकी, बायाँ आठ बाहुमा ढाल, घण्टा, धनु, भयमुद्रा, पास, तर्जनी (चार औँला ठडाएको) दैत्यको केश समातेको र विन्दुमुद्रा (ज्ञानमुद्रा) धारण गरेकी, दाहिने खुट्टो सिंहमाथि र बायाँ खुट्टो काटिएको महिषासुरमाथि टेकेर उभिएकी, रुद्रचण्डी स्वरुपकी देवीको यो भयोत्पादक र उग्र रुप वैदिक वाङ्मयमा पाइँदैन (जवरा, २०३० ः ६६) । यो तन्त्रशास्त्रको करामत हो ।

नेपालमा मुण्डमाला लगाउने चलन शाक्त साम्प्रदायको मुण्डशृङखलिक पाशुपतहरुमा थियो (रेग्मी, २०४० ः १२४) । मुण्डमाला लगाउने कापालिकहरुको हूल सातौँ शताब्दीमा नेपाल आउने चिनियाँ यात्री Þवेन साङ्ले पनि देखेका थिए (खत्री, २०५० ः २५) । कापालिकहरु पनि शाक्तहरुकै वंशज हुन् । उनीहरु शिवको चण्ड, महाकाल र भैरव रुपका उपासक थिए । महिषासुरमर्दिनी भगवतीको मुण्डमाला धारणले यही तान्त्रिक शाखाको याद दिलाउँछ ।

दुर्गा भगवतीले उग्ररुप धारण गरेर महिषासुरलाई वध गरेको र त्यसकै खुशीयालीमा दशैँ मनाउन लागिएको धार्मिक व्याख्यालाई केलाउँदा महिष नामको असुरले दुर्गादेवीको के बिगारेको थियो र उनलाई त्यति ठूलो शत्रु ठानियो ? साथै, असुर र देवहरु को थिए ? केको लागि सङ्ग्राम गरे ? के असुरहरु देवहरुले भनेजस्तै खराब मान्छे थिए ? के देवहरु असल र न्यायी थिए ? तान्त्रिक देवी भगवतीले हामीलाई के दिइन् ? अर्थात्, समाजमा कुन त्यस्तो व्यवस्था स्थापित गरिन् र हामी उनको पूजा गर्दैछौँ ? असुरहरुले हाम्रो के बिगारेका थिए ? समाजमा कुन त्यस्तो अवस्था ल्याएका थिए र हामी आँखा चिम्लिएर उनीहरुको विरोध गरिरहेका छौँ ? देवी देवता र असुरहरुको बीचमा झगडा थियो होला । तर देवता र राक्षसहरुबीचको झगडाको बोझ हामी मानिसले किन बोक्ने ?

कतिपयले विजयादशमीलाई रामले रावणलाई विजय गरेको स्मृति स्वरुप मनाएको पर्व भन्छन् । कतिले किराँतहरुले द्रविडहरुमाथि विजय गरेको उत्सव पर्व भन्छन् । कतिले आर्यखसहरुले द्रविडमाथि विजय गरेकाले विजयादशमी भनिएको हो भन्छन् । कसै–कसैले मगध सम्राट अशोकले हिंसा छोडेर बौद्धधर्म अङ्गीकार गरी हिंसामाथिअहिंसाको विजयस्वरुप विजयादशमीको प्रचलन चलेको पनि भन्छन् । भनाइहरु धेरै छन् तर व्यवहारमा दुर्गा भगवती र महिषासुरको युद्धको प्रसङ्गले नै स्थान पाएको छ ।

महिषासुर असुर भनिएका द्रविड जातिको प्रतीक हुनसक्छ र महिषासुरमर्दिनी भगवती चाहिँ एकदमै उग्र, तान्त्रिक मतलाई मान्ने, सिंहको बिम्बमा किराँत जातिको साहारा पाएकी, कोल कन्या (कालो जातिकी कन्या) हुनुपर्छ । किनभने पौराणिक आख्यानका पात्रहरु प्रतीकात्मक स्वरुपका हुन्थे । अलौकिक हुन्थे, तिलस्मी हुन्थे, वीर साहसी हुन्थे । तर तिनमा मानव पात्र हुँदैनथे । देवदेवी, असुर, दानव, भूत प्रेत, पशु, पंक्षी आदि मात्र आख्यानका पात्र हुन्थे । ती अलौकिक हुन्थे तर लौकिक धर्मका नायक नायिका बनेर आउँथे ।

यसरी दशैँमा पौराणिक आख्यानका तिलस्मी पात्रहरु जोडिएका छन् । प्राचीन र मध्यकालको तन्त्रशास्त्र जोडिएको छ । युद्ध अभ्यासका वा सामरिक महत्वका कुराहरु जोडिएका छन् ।

जोडिएका कुराहरु अरु पनि छन् । जमरा र रातो अक्षता जोडिएको छ । फूलपातीको बढाइँ जोडिएको छ । ‘खड्ग जात्रा’ र ‘खड्ग सिद्दि’ जोडिएको छ । दुर्गा सप्तशति वा वैदिक मन्त्रहरु, तन्त्रबाटै आएको रेखी, कुभिण्डो र वनस्पतिको बलि जोडिएको छ । लोक साहित्यको पर्वगान– मालसिरी (मालश्री रागबाट) लोक सांस्कृतिक मनोरञ्जनका कुराहरु, लिङ्गे पिङ र रोटे पिङ जोडिएको छ । टिकाटालोको लागि टाढाटाढाबाट आउने र जानेहरुको भेटघाट र आपसी सद्भाव जोडिएको छ । जोडिएका कुराहरु धेरै छन् । चिन्तन, प्रवृत्ति, संस्कृति र प्रविधिका थुप्रै कुराहरु जोडिएका छन् । यिनको प्रत्येकको अध्ययन र विश्लेषण आज जरुरी भएको छ । किनभने इतिहासका कतिपय सभ्यताहरु पोखरीको पानी जस्तो जमोट भएर बसेका छन् र तिनले सलल बग्न, गतिमान हुन, विकसित हुन पाएका छैनन् । एकदमै परम्परागत चिन्तनमा जेलिएका, परिस्कार नपाएका कुराहरु समयसँगै हराउने गर्छन् ।

दशैँ नेपालीहरुको सबैभन्दा ठूलो राष्ट्रिय चाड हो भन्ने भनाइ पनि पूर्णरुपमा ठीक भनाइ होइन । यसलाई आफ्नो चाड नमान्ने बौद्ध, इसाई, इस्लाम लगायतका समुदायहरु छन् । उनीहरु यस चाडलाई आफ्नो होइन, हिन्दूको चाड भन्न रुचाउँछन् । नेपालमा कतिपय जनजातिले यसलाई बहिस्कार पनि गर्न थालेका छन् ।

दशैँको धार्मिक पक्षलाई पौराणिक कथाहरु, मिथकीय धारणाहरु तन्त्रका जटिल अभिव्यक्तिहरुले एकातिर गन्जागोल बनाएको देखिन्छ भने अर्कोतर्फ यसको सामाजिक पक्षलाई पुष्टि गर्ने अनेक कुराहरु पनि यसैभित्र छिपेर रहेको छ । उपत्यकाको ‘खड्ग जात्रा’ यसको एउटा उदाहरण हो । पचलीभैरवको नाम पाएको यस जात्रामा निस्कनेहरुले हातहातमा खड्ग लिएर त्यसलाई चम्काउँदै जात्रा गर्छन् । पचली भैरव र उनका अष्ट–मातृका गणसहितको टोलीले नृत्यनाच पनि प्रदर्शन गर्छन् । यही मात्र नभई मल्ल राजाहरुले दशमीको राती पचलीभैरवसित आफ्नो खड्ग साट्ने र त्यसलाई ‘खड्गसिद्धि’ भन्ने गरिएको पाइन्छ (जोशी, २०३९ ः ३८) । गाउँगाउँमा मौलोमा बलि दिन र योद्धा छान्न जुन सामरिक अभ्यास गरिन्थ्यो त्यसैले दरवारमा पनि दशैँ घरमा घटस्थापना गर्ने र अनि बलिदिने, खड्गजात्रा गर्ने, हतियारको पूजा गर्ने आदि कार्य सामरिक महत्वकै कार्यहरु भएको देखिन्छ ।
दशैँका धार्मिक, सामरिक पक्षलगायत तन्त्रको पक्षले पनि त्यति नै घर जमाएको र यो अभिसारिक कार्यले आधुनिक समयमा झन् अनौठो रुप धारण गर्न लागेको देखिन्छ । दशैँको बलिको विस्तार हुँदै गएर नयाँ किनिएको मोटरसाइकल, गाडीहरु र हवाइजहाज समेतमा बलि दिने, रगतले पोत्ने, अगाडिको मुहारभागलाई रगताम्य बनाइदिने संस्कारको विकास भएको छ (शर्मा, २०५८ ः १०९) । यो भोलि दशैँको अनिवार्य अभिसारिक भाग बन्न पुग्न सक्छ । दशैँमा यसरी नै बेअर्थका कुराहरु थपिँदै जाने र मौलिक पक्ष त्यत्तिकैे हराउँदै जाने हुन्छ ।

अन्तमा दशैँको नाममा, शक्ति प्राप्तिको नाममा असङ्ख्य पशुपंक्षीहरुको बलि दिने हिंस्रक प्रवृत्ति कति खतरनाक हुन्छ भन्ने कुरा गढीमाइको मेला र त्यहाँ एकै दिन बलि चढाइने लाखौँ पशुपंक्षीहरुको हत्याको तमासा र धार्मिकोन्मादले देखाउँछ । यसप्रकारको बर्बरता, पशुहत्याको दुर्दान्त दृश्यले हामीलाई आधुनिक सभ्य संसारमा कहाँनिर उभ्याउँछ ? राज्यले यस्ता कुरामा बलप्रयोग गरेरै भए पनि उन्मादी कार्यलाई रोक्नु पर्छ । दशैँमा प्रस्तुत हुने राम्रा कुराहरुको संरक्षण गर्दै, हिंस्रक कुराहरुलाई हतोत्साहित बनाउँदै र अन्योलका कुराहरुलाई अध्ययन विश्लेषणका आधारमा प्रष्ट पार्दै दशैँलाई आधुनिक सभ्य समाजको सांस्कृतिक बिम्बको रुपमा विकास गर्नेतिर सरोकारवाला सबैले ध्यान पु¥याउनु जरुरी छ ।

स्रोतः आजको मूल्यांकन