अमेरिकी सरकारले नेपालका लागि जारी गर्दै आएको ‘ट्राभल एड्भाइजरी’को स्तरमा उल्लेख्य सुधार गरेको छ। अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले मंगलबार एक सूचना जारी गर्दै नेपालको सुरक्षा जोखिमलाई ‘लेभल ३’ (पुनर्विचार गर्ने) बाट घटाएर ‘लेभल २’ मा झारेको हो।

अद्यावधिक गरिएको एड्भाइजरीमा नेपालमा अब ‘थप सावधानी अपनाउनु पर्ने’ श्रेणीमा राखिएको छ। वासिङ्टनस्थित स्टेट डिपार्टमेन्टले आफ्नो संशोधित सारांशमा भनेको छ, ‘एडभाइजरीको स्तर घटाएर लेभल- २ मा झारिएको छ।’
नेपालको आन्तरिक सुरक्षा र राजनीतिक स्थिरतामा आएको सुधारपछि अमेरिकाले यो निर्णय गरेको देखिन्छ। ‘सन् २०२५ सेप्टेम्बरदेखि सुरु भएको देशव्यापी प्रदर्शनहरू रोकिएका छन् र सुरक्षा स्थिति स्थिर छ,’ स्टेट डिपार्टमेन्टको एड्भाइजरीमा भनिएको छ। यद्यपि, नागरिक अशान्तिको जोखिम अझै पूर्ण रूपमा टरिनसकेकाले ‘लेभल २’ कायम राखिएको देखिन्छ।
विशेषगरी सहरी क्षेत्रहरूमा अझै पनि प्रदर्शन र स्थानीय स्तरमा अशान्ति हुन सक्ने भन्दै अमेरिकी नागरिकलाई सचेत गराइएको छ। एड्भाइजरीमा भनिएको छ, ‘प्रदर्शनहरू कुनै पूर्वसूचना बिना नै सुरु हुन सक्छन् र ती छिट्टै हिंसात्मक बन्न सक्छन्। त्यसैले ठूला भीडभाडबाट टाढा रहनुहोस् र स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्नुहोस्।’ अमेरिकाले दिने ट्राभल एड्भाइजरीलाई विश्वभरका पर्यटक तथा लगानीकर्ताहरूले पनि प्राथमिकताका साथ हेर्ने गर्छन्। सन् २०२५ को राजनीतिक अस्थिरतापछि अमेरिकाले नेपाललाई उच्च जोखिमको सूचीमा राखेको थियो।





