Newyork Time 07:45 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

बेलायतमा नेपाली मुलका जीत रानाभाट मेयरमा निर्वाचित

२०८१ जेष्ठ १७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

440

 

प्रवासमा नेपाली समुदाय राजनीतिमा प्रवेश गर्ने क्रममा पछिल्ला बर्षहरुमा उल्लेख्य सहभागीता शुरु भएको छ । अमेरिका, अष्ट्रेलिया, अमेरिका र केहि यूरोपियन देशमा बसोवास गर्ने नेपालीहरु स्थानीय राजनीतिक सक्रिय हुन थालेका छन । जसको कारण केहि उल्लेख्य पदहरुमा पनि निर्वाचित हुन थालेका छन । त्यसको पछिल्लो उदाहरण हो बेलायतको लन्डनस्थित रोयल बरो अफ ग्रीनवीचमा नेपाली मूलका जीत रानाभाट मेयर निर्वाचित भए । एक साताअघि सम्पन्न बरोको साधारणसभामार्फत् सर्वसम्मत रुपमा मेयर निर्वाचित उनले बुधबार एक विशेष समारोहबीच शपथग्रहण गरेका छन ।

वुल्लीचस्थित ग्रीनवीच टाउन हलमा आयोजित समारोहमा उपस्थित विशिष्ट अतिथिहरुमाझ रानाभाटले एक वर्षे कार्यकालका लागि मेयरको शपथ लिए ।
बरोका निवर्तमान मेयर काउन्सिलर डा डोमिनिक एमब्याङले मेयरले पहिरिने अफिसियल चेन हस्तान्तरण गर्दै रानाभाटलाई औपचारिक कार्यभार सुम्पिए ।
त्यसअघि रानाभाटले एक्सेप्टेन्स डिक्लरेसनमा हस्ताक्षर गर्दै मेयरको जिम्मेवारी औपचारिक रुपमा स्वीकारेका थिए ।

शपथग्रहणपछि मन्तव्य दिंदै रानाभाटले समुदायको सेवामा झन् कटिवद्ध रहेर लाग्ने प्रण गरे । आफूलाई विश्वास गरेर मेयरको जिम्मेवारी दिने काउन्सिलरहरुप्रति पनि उनले आभार व्यक्त गरे । उनले बेलायत नेपाल र ब्रिटिश गोर्खाको सदियौं लामो सम्बन्धबारे चर्चा गर्दै आफूले गोर्खा गार्डेन प्रोजेक्ट र बाउल क्यान्सर सचेतना प्रोजेक्ट रोजेको जनाए । रानाभाटको शपथग्रहण समारोहमा बेलायती राजपरिवारका प्रतिनिधि समेत रहेका ग्रीनवीच बरोका डेपुटी लेफ्टिेन्ट र बरोका उच्चपदस्थ अधिकारीहरुदेखि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र यहाँको नेपाली समुदायका अगुवाहरुलगायतको उपस्थिति थियो ।

सन् २०२२ मा पहिलोपटक लेबर पार्टीबाट ग्रीनवीच बरोमा काउन्सिलर निर्वाचित भएका रानाभाटले पछिल्लो एक वर्ष सोही बरोमा उपमेयरको जिम्मेवारी सम्हालेका थिए । तनहुंको मादी गाउँपालिकास्थित थुमको डाँडामा जन्मिएका रानाभाट हाइली स्किल्ड भिसामा सन् २००८ मा बेलायत आएका हुन् । श्रीमती र दुई छोरीका साथ लन्डन प्लमस्टिडमा बस्दै आएका उनी प्रपर्टी र बिल्डिङ व्यवसायमा संलग्न छन् । डेढ दशकअघि बेलायत आएलगत्तै लेबर पार्टीसंग जोडिएका रानाभाट दुई वर्षअघि पहिलोपटक काउन्सिलर निर्वाचित भएका थिए । यसरी पहिलो पुस्ताका नेपालीले पाएको सफलतालाई दोश्रो पुस्तासंग जोड्न जरुरी छ । जसबाट नेपाल र नेपालीको विषय संसारभर पुग्नेछ ।

त्यसैगरी श्रीमान मेयर निर्वार्चित भएपछि बेलायति परम्परामा श्रीमलाई पनि मेयरेस घोषणा गर्ने प्रचलन अनुसार रानाभाटकी श्रीमति गौमाया गुरुङलाई मेयरेस घोषणा गरिएको छ । बेलायतमा यसअघि पनि नेपाली मूलका केही मेयर र कयौं काउन्सिलरहरु निर्वाचित भइसकेका छन् । तर यहाँको कुनै पनि रोयल बरोमा काउन्सिलर वा मेयर निर्वाचित हुने भने रानाभाट नै पहिलो बनेका छन् ।