Newyork Time 11:09 pm
May 8, 2024, Wednesday
२०८१ बैशाख २७

२०८१ सालका लागि कुन राशीको भाग्य र भविश्य कस्तो छ त ? ज्योतिष ओजराज उपाध्याय लोहनी

२०८० चैत्र ३०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

600

 

मेष:

यो वर्ष ग्रहगोचर राम्रो छ । आँटेको काममा सफलता मिल्नेछ । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीव्रता आउनुको साथै जोस र जाँगर बढ्ने तथा पुराना समस्या सुल्झाउने अवसर पनि मिल्नेछ । नयाँ कामहरू पनि पाउने योग छ । गुरूको अनुकूलताले बोलीको प्रभाव बढ्नेछ । भाग्य बलियो छ । धार्मिक कार्यहरूमा धेरै प्रगति देखिन्छ । शैक्षिक व्यवसाय गर्नेहरूको लागि समय वर्षभरि नै अनुकूल रहनेछ । व्यापारमा सोचेजस्तै लाभ मिल्ने र वैदेशिक कार्यहरू सुचारु भएर अघि बढनेछन् । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ। पति पत्नी बिचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ ।

नोकरी तथा राजनीतिमा गुमेको स्थान फर्काउन सकिनेछ । आम्दानीका अवसरहरू प्रसस्त प्राप्त हुनेछन् । भुलेका मित्रहरूले सम्झनेछन् । विद्यार्थी जीवनमा प्रेम प्रसङ्ग अघि बढ्दा खर्चमा बढोत्तरी हुन सक्ने भएकोले संयम हनुहोला । चलिरहेको प्रेम वैवाहिक बन्धनतिर अघि बढ्नेछ । राहु बाह्राैँ भएकोले अरुबाट आलोचना हुने, काममा बाधा आउने धनमाल हराउने सम्भावना रहेकोले बोल्न विचार पुर्‍याउनु होला। टाउकोमा राहु वसेकोले पिडा हुने हातका नसाहरू कमजोर हुने दाजुभाइ र सन्तान सहयोगीहरूसँग विमति वर्षभरि नै छ । अरुको विश्वास गरिहाल्नु उचित नहोला । आषाढ कार्तिक फाल्गुन महिनामा महत्वपूर्ण काम सकेसम्म नगर्नु राम्रो देखिन्छ । बैशाख ज्येष्ठ आश्विन पौषमा आँटेका काम धेरै पूरा हुनेछन् ।

बृष: यो वर्षको ग्रह गोचर समग्रमा अनुकूल नै छन् । आय व्ययलाई हेर्दा अवस्था राम्रो रहनेछ । खर्चका बाध्यता धेरै आइपर्ने भए पनि आम्दानी राम्रै हुने भएकोले आर्थिक कठिनाई आउने छैन । वर्षको सुरुमा केही नराम्रा लक्षणहरू देखापरे तापनि बैशाख १७ गते दिउँसो ४ । ११ बजे गुरू वृषमा प्रवेश गर्दा केन्द्रादि दोषले चिन्ता बढाए पनि गुरूको दृष्टि पाचौँ, सातौँ र नवौँ रहने र राहु एकादश स्थानमा रहेकोले धन प्रसस्त कमाउने अवसर मिल्नेछ । शनिको अनुकूलताले सार्थक तथा प्रसस्तै लाभ हुने यात्रा र मान सम्मान मिल्नेछ तथापि शनिको दृष्टि बाह्रौँ, चौथा, सप्तम रहने र शनिको दृष्टि नै प्रवल हुने हुँदा प्रेममा खटपट भैरहने, पति पत्नीबीच विवाद प्रसस्त बढ्न सक्ने, घरेलु समस्याले सताउने, मित्र तथा आफन्तहरूले धोका दिन सक्ने भएकोले संयम रहनु होला । माता पिता र सन्तानहरूसँगको मतभेद थप बढ्नेछ । गुरूको अनुकूलताले सन्तानहरूबाट सम्मान र पढाइमा सुधार आउनुको साथै सोचेर निर्णय गर्दा बौद्धिकताबाट ठूलो सफलता प्राप्त हुनेछ ।

अवसरलाई समेट्नु राम्रो होला । संयम रहँदा नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । राज्यबाट पाउने सहयोग कायमै रहने र कूटनीतिक क्षेत्र बलियो रहने भए पनि सत्रु प्रसस्त हुने भएकोले संयम हुनु पर्ला । हड्डी, नसा र पेटको समस्या बढी हुने भएकोले खानपानलाई वर्षभरि नै ध्यान दिनु पर्ला । गोपनीयतामा निरन्तर रहनु उचित छ । चरित्र सम्बन्धी आरोप आउन सक्ने भएकोले विपरित लिङ्गी हरूबाट टाढा रहनु वेश हुन्छ । श्रावणमा पराक्रम बढ्ने अधुरा काम पूरा हुने र नयाँ कामको आरम्भ हुने, कार्तिकमा सत्रु नास र धन लाभ, फाल्गुनमा सामाजिक र राष्ट्रिय सम्मान, चैत्र महिनामा प्रयास गर्दा धेरै धन कमाउन सफलता मिल्नेछ । बैशाख, भाद्र, पौष महिनामा खर्च बढ्ने, विवाद बढ्ने, काममा अवरोध आउने र मन चिन्तित हुने भएकोले संयम हुनु पर्ला । नयाँ वर्ष शुभदिनमा आरम्भ भएकोले प्रयासमा सफलता पाउने योग छ । ॐ नमः शिवाय मृत्युञ्जय महादेवाय नमोऽस्तुते । यो मन्त्र वर्षभरि नै बिहान बिहान जप गर्नु होला ।

मिथुन: समग्रमा यष वर्ष ग्रह गोचर राम्रो छैन । वर्षारम्भको समयमा एकादश गुरू, भाग्य भावको शनि अनुकूल भएकोले वाकसिद्धिका साथै शत्रु पराजय हुने योग छ । बोलीको प्रभावमा अरुलार्ई विश्वास दिलाउन सफल भई आफ्नो कार्य अघि बढाउन सकिनेछ । राज्यबाट सम्मान हुने र वैदेशिक कार्यहरू तीब्र गतिमा अगाडि बढ्नेछन् । कुटनीतिक कार्यमा आफूलार्ई दक्ष सावित गर्दै राजनीतिमा वैदेशिक सहयोग हासिल गरी राज्यसत्तामा पुग्न सकिनेछ । कर्म भन्दा भाग्यलाई जोड दिनु यस वर्ष राम्रो होला । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ । यो सफलताको योग बैशाख १७सम्म मात्र रहनेछ । सबै निर्णय यसै समयमा गर्नु उचित हुनेछ । तत्पश्चात् दशौँ राहु र बाह्रौँ गुरूकोप्रतिकूल प्रभावले पति पत्नी बीचको सम्बन्धमा विग्रह हुनुको साथै नयाँ प्रेमका छायाँ परेर प्रेम दुश्मनीमा परिणत हुने योग छ । चतुर्थ केतुको प्रतिकूल प्रभावले मित्र सुख नहुने, धार्मिक कार्यमा मन नजाने, भाग्यले साथ नदिने र विश्वासघात हुने भएकोले गोपनीयता वर्षभरि नै अपनाउनु पर्ला । पेटमा समस्या भइरहने भएकोले खानपानमा ध्यान दिनु जरुरी छ । आर्थिक कारोबार अति आवस्यक अवस्थामा पनि विचार पुर्‍याएर गर्नु उचित हुनेछ ।

नोकरीमा मुद्दा मामिला र स्थानान्तरण हुने सम्भावना छ । ठूला व्यक्तिको सहयोग र सहानुभूति भन्दा पनि धोका,प्रतिसोध साध्य गर्दै सानासाना कुरालार्ई कोट्याएर बेलाबेलामा दुःख दिने प्रयत्न भइरहने हुँदा संयमित भएर काम गर्नु उचित हुनेछ । राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ने अवस्थासम्म आउन सक्छ । राजकाज सम्बन्धी मुद्दाले राजवन्दी बन्नु पर्ने अवस्था आउन सक्छ । ज्येष्ठ, आश्विन, माघ महिनामा व्यापारीलार्ई नोक्सानी, कुटनैतिक कार्यप्रतिकूल रहने, र घरेलु समस्या बढ्ने भएकोले संयम रहनुहोला । बैशाख, भाद्र, मार्ग, चैत्रमा प्रयास गर्दा धेरै काममा सफलता मिल्ने सम्भावना भएकोले काम गर्दा सोचेर गर्नुहोला । ॐ भास्कराय विद्महे महाँतेजाय धीमहि तन्नो सूर्यः प्रचोदयात् । यो मन्त्रको जप गर्नुहोला।

कर्कट: ग्रह गोचर यष वर्ष मध्यम रहनेछ। अढैया शनिकोप्र तिकूल प्रभाव वर्षभरि नै रहनेछ । कर्मेष र सप्तम अष्टम शनि अष्टम स्थानमा रहेकोले अर्थिक रूपमा अवस्था अनुकूल देखिन्न । स्वास्थ्यको अवस्था पनि राम्रो देखिन्न । हाडजोर्नीको समस्याले निकै सताउनेछ । आर्थिक कारोबारमा पनि समस्या आउनेछ । धार्मिक कार्यमा खासै रुचि देखिन्न । बेलाबेलामा मन विचलित भइरहनेछ । बैशाख १८ गतेबाट गुरू अनुकूल हुने भएकोले परिश्रमबाट काममा सफलता मिल्नुको साथै सत्रु पराजय हुने र मित्रहरूको सहयोग पाउने योग छ । पढाइमा रुचि बढ्ने, लेखन मार्गमा सफलता मिल्ने र बौद्धिक क्षेत्र बलियो हुनेछ । नोकरी तथा राजनीतिमा बौद्धिकता उपयोग गरे लक्ष्य अनुसार अघि बढ्न सकिनेछ । राजनैतिक नियुक्तिको सम्भावनाका साथै कुटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ । भएका सन्तानहरूबाट सुख र नहुने हरूको लागि सन्तान प्राप्तिको योग पनि यो वर्ष बलियो छ । शैक्षिक उन्नतिका अवसरहरू प्रसस्तै मिल्नेछन् ।

छात्रवृत्ति हासिल गरी विदेश पढ्न जाने अवसर मिल्नेछ । नयाँ घर, सवारी जोड्ने अवसर मिल्नेछ । व्यापारमा उच्च प्रगतिको योग छ । प्रेम प्रसंगले वैवाहिक मार्ग अबलम्वन गर्नेछ । विवाहितहरूको दाम्पत्य जीवन सुखमय रहनेछ । बैशाख, ज्येष्ठ, आश्विन, चैत्रमा पराक्रम बढ्ने, अधुरा काम बन्ने, नयाँ कामको अवसर मिल्ने र धन मनग्य कमाउने अवसर मिल्नेछ । यो समय महत्वपूर्ण कामका लागि अनुकूल रहनेछ भने आषाढ, कार्तिक, फाल्गुन धेरै समस्या झेल्नु पर्ने समय हो । स्वास्थ सन्तुलित राख्न अलि धेरै हिड्ने प्रयास गर्नुहोला । खानपानमा विचार पुर्‍याउनु होला । नगद सहयोग गर्न बन्द गर्नुहोला । बलको काममा भन्दा वुद्धिको काममा जोड दिनुहोला । वर्षभरि नै बिहान उठेर ॐ नमः शिवाय यो मन्त्रको १०८ जप गर्नु वेश हुनेछ ।

सिंह: वर्षको आरम्भमा ग्रह अनुकूल रहनेछ । शुरुका दिनमा गुरूको अनुकूलताले आँटेका काममा सजिलै सफलता पाउनु होला । नयाँ कामको अवसर पनि मिल्नेछ । अरुको विश्वास जितेर अघि बढ्न सकिनेछ । भाग्यले साथ दिने, धार्मिक कीर्तिका कामहरू गर्ने गराउने अवसर मिल्ने र समाजिक प्रतिष्ठा बढ्ने योग छ । कुरा काट्नेहरू आफै निस्तेज हुनेछन् । आम्दानीका अवसरहरू पर्याप्त मिल्नेछन् । प्रेम गर्नेहरूका लागि समय अनुकूल रहनेछ । वैवाहिक बन्धनमा बाँधिने र सन्तान प्राप्तिको पनि सम्भावना छ । घर सम्पत्ति जोड्ने अवसर पनि मिल्नेछ । बौद्धिक कार्यलाई तीब्र रूपले अघि बढाउन सकिनेछ । पढाइमा गरेका प्रयासहरू सकारात्मक रहनेछन । राज्यबाट सम्मान पाउने योग छ । वैशाख १८ गतेपछि पञ्चम गुरू केन्द्रादि दोष बनाएर दशमा भावमा र अष्टम राहु र द्वितीय केतुप्रतिकूल रहने भएकोले संयम रहनु राम्रो । मनमा चिन्ता बढ्ने, काममा अवरोध आउने, स्वास्थ्यमा समस्या आउन सक्ने भएकोले खानपानमा ध्यान दिनु उचित होला । विश्वास गरेकाले धोका दिने भएकोले संयम हुनुहोला । काममा तगारो लगाउनेहरू सक्रिय हुनेछन् ।

सहयोगीहरूबाट र दाजुभाइहरूबाट समेत धोका हुन सक्ने भएकोले गोपनीयतामा जोड दिनुहोला । सप्तम शनि स्वगृही भएकोले प्रयत्न गर्दा वैदेशिक कार्यमा सफल भएपनि अरुबाट धोका र षड्यन्त्र हुने भएकोले सबै काममा आफैले ध्यान दिनुहोला । राजनीतिमा पाएको सुविधा जोगाउन अलि कसरत गर्नु पर्ला । आषाढ, कार्तिक, फाल्गुन महिना अनुकूल हुने काममा सफलता मिल्ने शत्रु पराजय हुने र धन मनग्य कमाउने अवसर मिल्ने छ । श्रावण मार्ग चैत्र महिना महिनाका दृष्टिले प्रतिकूल रहनेछ । स्वास्थ्य हानि शत्रु बाधा काममा अवरोध घरेलु समस्याले सताउने र चिन्ताबढ्ने योगछ । ॐ नमो भगवते वाशुदेवाय नमः यो मन्त्रको बिहान बिहान जप गर्नु होला ।

कन्या: वर्षको आरम्भमा ग्रह प्रतिकूल रहे पनि बैशाख १८ पछि समय अनुकूल हुनेछ । सुरुमा अष्टम गुरूको प्रतिकूलताले स्वास्थ्य हानि, सत्रु बाधा र आर्थिक संकटले मनलार्ई विचलित बनाए पनि २०८१ बैशाख १८देखि भाग्य भावमा गुरू र षष्ठ शनिको अनुकूल प्रभावले आँटेका काम धेरै पूरा हुने र नयाँ कामको अवसर पाउने योग छ । धन मनग्य कमाउने अवसर पनि मिल्नेछ । यात्रामा लाभ मिल्ने वैदेशिक कार्यमा सफलता मिल्नेछ । विदेश बसोबास गर्ने प्रयासमा भए सफल हुने र बैबाहिक बन्धनमा बाँधिने प्रवल सम्भावना छ । व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । आफन्तहरूको उचित सहयोग मिल्नेछ । ठूला व्यक्तिले विश्वास गर्नेछन् । परिवारबाट पनि सहयोग पाउनुहोला । घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ ।

पढाइमा उन्नति सोचे जस्तै हुनेछ । राशिमा केतु र राहु सप्तममा भएकोले स्वास्थ्यमा मुटु मतिष्कमा समस्या आउने, उच्च रक्तचाप बढ्ने, मन अशान्त हुने, काममा अवरोध आउने अवस्था सिर्जना हुन सक्छ । रिस बढ्न सक्ने भएकोले संयम हुनु पर्ला । खानपानमा विशेष ध्यान दिनु पर्ला । मित्रहरूका लागि धन खर्च हुनेछ । आफन्तहरूलार्ई कुरा बुझाउन गारो पर्ने, जस नमिल्ने भएकोले विचार गर्नु पर्ला । विचार गरेर अघि बढ्दा प्रेममा सफलता मिल्नुको साथै विवाह हुने र पति पत्नी बिचमा अगाध प्रेम हुने योग बलियो छ । नयाँ व्यापारको प्रस्ताव आउने, वैदेशिक व्यापारमा सफलता पाउने अवस्था रहेकोले त्यसमै जोड दिनुहोला । यस वर्षको ग्रहगोचर अनुसार बैशाख १८ पछि सफलतै सफलता प्राप्त हुनेछ । बैशाख, भाद्र, पौषमा स्वास्थ्यमा बाधा, आर्थिक संकट, मनमा चिन्ता बढ्ने, ज्येष्ठ, आषाढ, श्रावण, मार्ग, फाल्गुनमा अधुरा काम बन्ने, नयाँ काम पाउने र धन मनग्य कमाउने योग छ । आँटे सोचेका काम धेरै बन्नेछन् । ॐ नमो भगवते वाशुदेवाय नमः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।

तुला: वर्षका ग्रहहरू शुरुमा अनुकूल रहनेछन् । सप्तम गुरू षष्ठ राहु र पञ्चम शनिको अनुकूल प्रभावले गर्दा एक पछि अर्काे सफलता हात पार्न सकिनेछ । प्राविधिक कार्यमा र प्राविधिक शिक्षामा फड्को मार्न सकिनेछ । शत्रु पराजय हुनुको साथै मित्रको पूर्ण सहयोग मिल्नेछ । नोकरी तथा राजनीतिमा आफ्नो वर्चस्व बढ्नेछ । सताउनेहरू क्षमा माग्न थाल्नेछन् । बौद्धिक तीब्रतामा कुटनीतिक क्षेत्र बलियो हुने र राज्यबाट सम्मान पाउने योग छ । आम्दानीको क्षेत्रमा अपेक्षित सुधार आउनेछ । पढाइमा अरु प्रगति हुनेछ । जोस र जाँगर बढ्नेछ । अधुरा काम पूरा हुनुको साथै नयाँ काम पाउने योग छ । व्यापारमा प्रगति हुनेछ । प्रेम सफल रूपमा अघि बढ्नेछ । वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ । आफूबाट टाढिएकाहरू नजिकिन थाल्नेछन् । बैशाख १८ गतेबाट तृतीय गुरू अष्टम स्थानमा प्रवेश गर्दा स्वास्थ्यमा समस्याहरू आइरहनेछ । मानसिक तनाव अनियन्त्रित हुने भएकोले अध्यात्ममा जोड दिनुहोला । सत्रु प्रतिस्पर्धा गर्नु पर्नेछ । सत्य र असत्यलार्ई छुट्याउन अलि कसरत गर्नु पर्नेछ । कुरा काट्नेहरू सक्रिय हुनेछन् ।

धन माल हराउन सक्ने भएकोले धनको ढुकुटीमा नजर कडा राख्नुहोला । कामको मध्यमा संकट आउने भएकोले सतर्क भएर निर्णय गर्नु उचित होला । आर्थिक लेनदेनमा विवाद बढेर मुद्दा मामलाको अवस्था सिर्जना हुने भएकोले नगद कारोबार सोचेर गर्नुहोला । गोपनियता भने वर्षभरि नै अपनाउनु पर्नेछ । श्रावण, भाद्र, पौष, चैत्रमा स्वास्थ्यको ख्याल गर्दै सत्रुसँग बचेर काम गरे धेरै सफलता मिल्नेछ । ज्येष्ठ, आश्विन, माघमा स्वास्थ्य कमजोर हुने, पारिवारिक समस्या बढ्ने र आर्थिक संकट बढ्न भएकोले संयम रहनुहोला । ॐ भास्कराय विद्महे महाँतेजाय धीमहि तन्नो सूर्यः प्रचोदयात् । यो मन्त्रको जप गर्नुहोला।

वृश्चिक: यो वर्ष ग्रह स्थिति मध्यम रहनेछन् । वर्षारम्भमा चन्द्रमाप्रतिकूल रहने र वर्षभरि नै शनिप्रतिकूल रहेकोले एकपछि अर्को समस्याले सताउने, गरेका काममा सफलता नमिल्ने, मन अशान्त भइरहने योग छ । विवाद बढ्ने सञ्चित धनको नास हुने, अरुबाट तीब्र आलोचना हुने योग भएकोले संयम हुनु पर्ला । मित्रहरूले धोका दिने परिवारले साथ नदिने भएकोले समस्या अरु जटिल बन्नेछ । दाँत, मुखमा पिडा हुनेछ । अरुको काम धेरै गर्नुपर्ने तर जस नपाउने अवस्था छ । खर्च बढ्ने आम्दानी नहुने तथा झुटा आरोपको सामना गर्नु पर्ने बाध्यताहरू आइपर्नेछन् । स्वास्थ्य निकै कमजोर हुनेछ । व्यापारमा संकट आउने यात्रामा अवरोध आउने र पति पत्नी बिचमा राम्रो सम्बन्ध नहुने भएकोले मन उदास रहनेछ । सन्तान तथा माता पिता बिचको सम्बन्ध समेत नराम्रो हुने भएकोले सबैतिरबाट एक्लिने अवस्थाले मनस्थिति बिग्रने अवस्था आउन सक्छ । पढाइमा रुचि पनि देखिन्न गरेका प्रयास हरू पनि सन्तोषप्रद रहने छैन ।

सत्रु प्रसस्त मात्रामा बढ्नेछन्। नोकरीमा स्थानान्तरण हुने बलियो सम्भावना छ । राजनीतिमा प्रसस्त संकटको सामना गर्नु पर्नेछ । धर्मतिर मन नजाने र भाग्यले समेत साथ नदिने भएकोले संयम भएर अगाडि बढ्नु पर्ला । २०८१ बैशाख १८देखि गुरू सप्तम स्थानमा प्रवेश गर्ने र पञ्चम मीनको राहु र एकादशम केतु यही बैशाख १८देखि अवस्था परिवर्तन हुनेछ । वैदेशिक कार्यमा सफलता मिल्ने योग छ । व्यापारमा सफलता मिल्नेछ । कटनैतिक कार्यमा सोचे जस्तै सफलता मिल्नेछ । छात्रवृत्ति हासिल गरेर विदेश पढ्न जाने अवसर मिल्नेछ । सन्तान नहुनेहरूको लागि सन्तान प्राप्ति हुने योग छ । बोलिको प्रभावमा महत्वपूर्ण व्यक्तिलार्ई आफ्नो वषमा लिँदै अगाडि बढ्न सकिनेछ । कूटनीतिक कार्यमा चमत्कारिक सफलता हासिल गर्दै देशका निमित्त कीर्तिमान कायम गर्ने अवसर पनि मिल्नेछ । आम्दानीका अवसरहरू धेरै मिल्नेछन्। प्रेम गर्ने अवसर मिल्नुको साथै वैवाहिक बन्धनमा बाँधिने योग छ । भुलेका विदेशका प्रेम पात्रहरूले क्षमा मागेर पुनर्मिलनको प्रस्ताव राख्नेछन् । सबै काम वैशाख १८ पछि सुरु गर्नुहोला । ज्येष्ठ, भाद्र, आश्विन, माघमा पराक्रम बढ्ने अधुरा काम बन्ने, धन मनग्य कमाउने अवसर मिल्नेछ । आषाढ, कार्तिक ,फाल्गुनमा घरेलु समस्याले सताउने, मन विचलित हुने,प्रतिष्ठामा आँच आउने योग भएकोले गोपनियता अपनाउनु वेस हुनेछ । ॐ नमः शिवाय मृत्युञ्जय महादेवाय नमोऽस्तुते । यो मन्त्रको जप बिहान बिहान गरे केही लाभ मिल्न सक्छ ।

धनु: ग्रह गोचर वर्षको आरम्भमा अनुकूल रहेपनि वर्षभरिकै ग्रह गोचर प्रतिकूल रहनेछ । सुरुमा पञ्चम गुरू, तृतीय शनि मंगलको अनुकूलताले भाग्य बलियो हुने, शैक्षिक क्षेत्रमा सुधार आउने, सन्तानहरूसँगको सम्बन्धमा सुधार आउने भएकोले मनोबल बढ्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने र व्यापारमा सुधार आउनेछ । पति पत्नीबिच बिग्रिएको सम्बन्ध राम्रो हुँदै जानेछ । वैदेशिक कार्य सफल हुनेछन् । नोकरीमा आउने अवरोध हटेर जानेछन् । राजनीतिमा आउने समस्या हटेर जानेछन पराक्रम बढने क्रम भने यो सालभरि कायम रहने भएकोले मन बलियो बनाएर काम गर्नुहोला । बैशाख १८देखि गुरू कमजोर हुने र राहुले चतुर्थ भावमा, केतुले दशम भावमाप्रतिकूल प्रभाव पार्दा मित्र तथा परिवारहरूले विनाकारण संका उपसंका गर्ने भएकोले संयमित नभए मानसिक तनाव उच्च विन्दुमा पुग्ने र निकट जनहरूसँग त्यही कारण टाढिनु पर्ने आवस्था आउन सक्छ । घरेलु समस्या घरैमा मिलाउने प्रयास गर्नुहोला । गोपनियतामा सधैँ ध्यान दिनु राम्रो हुनेछ । खानपानमा ध्यान नपुगे पेट रोग बढ्ने, उच्च रक्तचाप बढ्ने र खर्च धेरै हुने अवस्था आउन सक्छ । झुटा आरोप पनि लाग्नेछ ।

नोकरिमा पटक पटक स्थानान्तरण हुनुको साथै छुट्ने अवस्थासम्म सिर्जना होला । रोजगारीको लागि निकै भौँतारिनु पर्ला । राजनीतिमा चारतिरबाट आक्रमण हुनेछ । सानो कुराले पनि पद तथाप्रतिष्ठा गुम्न सक्छ । दाजुभाइसँग सम्बन्ध बिग्रनेछ । सहयोगी र सेवकहरू छोडेर जाने धम्की दिन थाल्नेछन् । सन्तानसँग विमति र पति पत्नीबिच विवाद बढ्ने भएकोले सजग हुनु पर्ला । ज्येष्ठ, आश्विन, कार्तिक, फाल्गुन महिनामा गरेका प्रयासहरू सकारात्मक हुने र श्रावण, मार्ग र चैत्रमा धेरै समस्या आउन सक्ने भएकोले महत्वपूर्ण कामहरू आश्विन, कार्तिक र फाल्गुनमा गर्नु राम्रो हुन्छ । ॐ हँ हनुमते रुद्रात्मकाय हुं फट । यो मन्त्रको जप बिहान बिहान कम्तीमा १०८ गर्नु राम्रो हुनेछ ।

मकर: समग्रमा यो वर्ष यो राशिलाई राम्रो रहनेछ । बैशाख १७ गतेबाट पञ्चम गुरूको प्रवेश, तृतीय राहुको अनुकूलताले गरेका कामहरू सफलता पूर्वक अघि बढ्नेछन् । द्वितीय शनिको प्रतिकूल प्रभाव र वर्ष आरम्भमा द्वितीय भावमा शनि मंगलले गोचर गरिरहेको हुँदा विवाद बढ्ने हुनाले बोल्दा विचार पुर्‍याउनु होला। संयम भएर काम गर्दा राहु, गुरूको अनुकूलताले जोस र जाँगर बढ्ने र आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन् । मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ । आम्दानीका अवसरहरू प्रसस्त प्राप्त हुनेछन् । व्यापारमा सफलता सोचेभन्दा बढी नै मिल्नेछ। वैदेशिक कार्यमा सफलता मिल्नुको साथै विदेश यात्रा पनि छात्रवृत्ति हासिल गरी पढ्न जाने खालको हुनेछ । कुटनीतिक क्षेत्रमा ऐतिहासिक काम गरेर आफूलाई अग्रस्थानमा उभ्याउन सफल हुनुहोला ।

नोकरीमा पदोन्नतिका साथै लाभप्रद स्थानमा जाने अवसर मिल्नेछ । राजनीतिमा आफ्नो वर्चस्व चारैतिर फैलाउन सफल भई उच्च स्थान हासिल गर्ने अवसर मिल्नेछ । विदेसिएका र भुलेका आफन्तहरूले पुनः याद गर्नेछन् । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै अवसर प्राप्त होला । ठूला व्यक्तिको विश्वास पात्र हुने अवसरका साथै राजनीतिक नियुक्तिको सम्भावना बलियो रहनेछ । पति पत्नीबिच सुमधुर सम्बन्ध हुनेछ । असल मान्छेले प्रेम प्रस्ताव राख्ने र भएको प्रेम वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ । आषाढ ११देखि द्वितीय भावमा बक्र हुने शनिले स्वास्थमा समस्या आउने, आर्थिक कारोबारमा समस्या आउने र काममा अरुले अवरोध सिर्जना गर्नसक्ने भएकोले खानपानमा र अर्थिक कारोबारमा सजग हुनुपर्ला । गोपनियतामा जोड दिनु वेस हुन्छ । बैशाख, भाद्र, पौष महिना नराम्रो भएकोले संयम हुनुहोला । आषाढ, कार्तिक, मार्ग, चैत्र राम्रो भएकोले महत्वपूर्ण काम यसै समयमा गर्नु उचित होला ।

कुम्भ: वर्ष आरम्भमा द्वितीय राहु, अष्टम केतु तथा बाह्रौँ शनिको प्रतिकूलताले स्वास्थ्य सम्बन्धी कठिनाइका साथै अर्थिक कठिनाइ समेतले चिन्तित बनाउने छ। लेनदेनको विवाद चर्किँदा कानुनी रूपमा समेत क्षति पुग्न सक्छ । सत्रुले पाइला पाइलामा खेदो गर्नेछन् । असफलता धेरै हुँदा मनोबल कमजोर हुनेछ । परिवारको सहयोग नपाउँदा काम गर्ने आँट नआउने हुँदा सबै काम अधुरा रहनेछन् । आम्दानीका मार्ग बन्द हुने र खर्च गर्नु पर्ने बाध्यताहरूले चिन्ता बढाउने हुँदा निद्रा कम हुने भएकोले पानी धेरै पिउनु पर्ला । विश्वास दिलाएर फसाउनेहरू प्रसस्तै हुने भएकोले उच्च नेता वा कर्मचारीको ओहोदामा हुनेले कुनैपनि काम गर्दा अरुको विश्वास गरेमा पदप्रतिष्ठामा आँच आउन सक्छ । बैशाख १७देखि केन्द्रादि दोषयुक्त गुरू चतुर्थ स्थानमा प्रवेश गर्ने र आठौँ र बाह्रौँ स्थानमा दृष्टि दिने आषाढ ३१ गतेदेखि राशिमा शनि बक्र हुँदा समय अलि नराम्रो हुनेछ । व्यापारमा संकट आउनुको साथै वैदेशिक कार्यमा समेत समस्या आउनेछ । राज्यको प्रतिनिधित्व गरेर असल काम गर्दा समेत दुःख पाउने विदेश जाने प्रयास गर्दा धन नास हुने कूटनीतिक कार्यमा लगनशील भएर काम गर्दा पनि राज्यबाट धोका पाउनु होला। नोकरीमा संयम भएमा गुरूको दृष्टिले केही सहज र राजनीतिमा र वैदेशिक कार्यमा सफलता पाउने धार्मिक कार्यले सहज हुने हुँदा धर्ममा संलग्न भई काम गर्नु होला । घर तथा सवारी साधनमा अनेकन समस्या आउनेछन् । अरुसँग गरेको विश्वासले अप्ठ्यारो वातावरण निर्माण गर्नेछ।

पढाइमा सफलता मिल्नेछैन। सन्तानहरूबाट सहयोग पाउने सम्भावना कम हुनुको साथै सन्तान प्राप्तिमा समेत समस्या आउने योग छ । पति पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला । बैशाख, श्रावण, मार्ग, पौषमा सूर्यको अनुकूलताले प्रयत्न गर्दा केही काम बन्ने भएकोले राम्रो काममा प्रयत्न गर्दै गोपनीयताका साथ अग्रसर हुनुहोला । ज्येष्ठ, आश्विन, माघप्रतिकूल महिना भएकोले संयम भएर काम गर्नुहोला । ॐ नमः शिवाय ।। यो मन्त्रको जप सधैँ गर्नुहोला । ॐ भास्कराय विद्महे महाँतेजाय धीमहि तन्ने सूर्यः प्रचोदयात् । यो मन्त्र वर्षारम्भदेखि पढ्नुहोला ।

मीन: वर्ष आरम्भको समय अनुकूल नभए पनि गुरूको अनुकूलताले विद्यामा ऐतिहासिक सफलता प्राप्त गर्नुहोला । राशिको राहु र बाह्रौँ शनिको प्रतिकूलताले मन खिन्न रहनेछ । धैर्य गर्दै अघि बढेमा बौद्धिक कार्यमा निकै लाभको अवसर मिल्नेछ । राज्यले महत्व बुझेर औकात अनुसारको स्थान र मान दिनेछ पाएको जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा सफल हुनुहोला । भएका सन्तानबाट सुख हुने र सन्तान प्राप्तिको योग पनि छ । छात्रवृत्ति हासिल गरी विदेशको राम्रो महाविद्यालयमा पठन पाठन गर्न पाउने बलियो सम्भावना छ । अन्तराष्ट्रिय पुरस्कार सहितको चिनारीले तपाईँ स्वयम्लार्ई र देशलार्ई सम्मान प्राप्त हुनेछ । धार्मिक कार्यमा वैज्ञानिक माध्यमहरूले अघि बढाउन सफल हुनुहोला । खर्च बढे पनि लगानीको परिणामले व्यापारमा उन्नति हुनुको साथै धन प्रसस्त कमाउने अवसर मिल्नेछ । प्रेम सम्बन्धमा ह्रास आउने र नयाँ प्रेम हुने तर प्रेमले अशान्त बनाउने भएकोले प्रेममा जोड नदिनु राम्रो हुनेछ ।

वैवाहिक कुराहरूमा अवरोध आउने योग छ । राजनीतिमा संयम भए आफ्नो वर्चस्व बढाउन सकिनेछ । नोकरीमा पदोन्नति सहित महत्वपूर्ण स्थानमा स्थानान्तरण हुने योग छ । आषाढ ३१ बाट शनि बक्र हुँदा खर्च बढ्ने, स्वास्थ्यमा बाधा आउने शत्रु बढ्ने नोकरी तथा राजनीतिमा सत्रुले अवरोध सिर्जना गर्ने भएकोले गोपनियता अपनाउनुहोला । चिन्ता बढ्ने भएकोले धैर्यतामा जोड दिनुहोला । राशिको राहु सप्तमको केतु बाह्राँै शनिले गोचर गरिरहेकोले संयम हुनु राम्रो हुनेछ । तृतीय गुरू राशि स्वामी अनुकूल भएकोले धार्मिक पक्षलाई अँगाल्दै अघि बढेमा सत्रुमाथि विजय हासिल गरी अगाडि बढ्ने अवसर मिल्नेछ । दशमेश गुरूको बलले रोकिएका कामहरू बन्नेछन् । ज्येष्ठमा पराक्रम वृद्धि र काममा सफलता, भाद्रमा शत्रु पराजय र धनलाभ, पौष माघ महिनामा धन र मान प्राप्त हुने भएकोले महत्वपूर्ण काम गर्न यो समय राम्रो हुनेछ । आषाढ, कार्तिक, फाल्गुनमा खर्च बढ्ने विबाद बढ्ने स्वास्थ्यमा बाधा आउने चिन्ता बढ्ने भएकोले संयम भएर काम गर्नु राम्रो हुन्छ । ॐ भास्कराय विद्महे महाँतेजाय धीमहि तन्ने सूर्यः प्रचोदयात् ।। यो मन्त्र वर्षारम्भदेखि पढ्नुहोला ।

२०८१ को राशीफल ज्योतिष ओजराज उपाध्याय लोहनी डट कमबाट साभार गरिएको हो