Newyork Time 12:20 pm
April 12, 2024, Friday
२०८१ बैशाख १

संसद विघटनको खतरा पनि देखिरहेको छु’: रमेश लेखक, प्रमुख सचेतक, नेपाली कांग्रेस

२०८० चैत्र १३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

125

काठमाडौं– कञ्चनपुर–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रमेश लेखक नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा छन् । पछिल्लो सत्ता समीकरणका कारण प्रमुख प्रतिपक्षको बेञ्चमा सरेको नेपाली कांग्रेसको आगामी रणनीति र समसामयिक राजनीतिका विषयमा नेता लेखकसँग नेपाल न्यूज बैंकले संक्षिप्त कुराकानीको सम्पादित अंशः

झन्डै एक वर्ष सत्तामा बसेको नेपाली कांग्रेसले सत्ता परिवर्तन भएसँगै प्रतिपक्षको भूमिकामा पुगेको छ । एउटा भूमिकाबाट अर्को भूमिकामा सरेपछि अब कांग्रेसको भूमिका कस्तो हुनेछ ?

संसदमा एउटा सत्ता पक्षीय र अर्को प्रतिपक्ष गरी दुईवटा मुख्य भूमिका रहने गर्छन् ।दुवै भूमिका आफैंमा फरक हुन्छन् । अहिले हामी प्रतिपक्षको भूमिकामा छौं । हामी सरकारले गरेका कामहरुको मूल्यांकन गरेर तदनुरुप आफ्नो भूमिका निर्वाह गर्नेछौं । यो ज्यादा आलोचनात्मक भूमिका हुन्छ ।

सत्ता गठबन्धन परिवर्तन भएसँगै हिजो बाहिर बसेर खबरदारी गर्नेहरुलाई आज आफैंले खबरदारी गर्न पाइयो भन्ने लाग्दैछ वा असजिलो हुँदैछ बाहिर बस्न ?

हामीलाई बाहिर बस्न खास अप्ठ्यारो त हुँदैन तर तत्काल भूमिका परिवर्तन हुँदा संक्रमणकाल जस्तो हुने रहेछ । जस्तो कि, हामी सरकारमा हुँदा हाम्रै पार्टीका नेताले अर्थमन्त्रीको हैसियतमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरु सदनमा प्रस्तुत गर्नुभएको थियो । त्यस विधेयकमाथि छलफल हुँनैलाग्दा सरकार परिवर्तन भयो । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरुको जिम्मेवारी अब हामीले बोक्ने कि नबोक्ने, संक्रमणकालजस्तो भएको छ । हिजो त्यो संसदमा पेश हुँदा तत्कालिन प्रतिपक्षी एमालेले कामै नलाग्ने छ भनेर विधेयकलाई सिधै अस्वीकार गरेको थियो । अहिले त्यो दस्तावेज न सरकारमा जोडिएको एमालेले बोक्छ न प्रतिपक्षमा रहेको कांग्रेसले! सरकार परिवर्तन हुँदा यस्ता खाले संक्रमणहरु देखिने रहेछन् ।

एकातिर सरकारमा सहभागी एमालेले सदनमै दस्तावेज अस्वीकार गरेको थियो । अर्कातिर दस्तावेज ल्याउने पार्टी नै सरकारमा छैन । उसो भए संसदमा प्रस्तुत भएको उक्त दस्तावेजको जिम्मेवारी अब कसले लिने त ?

त्यो संसदको सम्पत्ती हो । त्यसको प्रस्तोता पनि सरकार हो र जिम्मेवारी पनि उसैले लिनुपर्छ । तर,मैले भनेनि यस्ता कुराहरुमा अचानक आउने राजनीतिक परिवर्तनले एकखाले संक्रमण जस्तो स्थिति ल्याउनेरहेछ ।

पछिल्लो समय सरकारमा रहेको मुख्य सहयात्री कांग्रेसले पत्तै नपाउनेगरी अचानक सत्ता पलटकसरी भयो ?तपाईं तत्कालीन समयमा माओवादीसँग गठबन्धन बनाउने समयपनि नजिकबाट सामेल हुनुभएको नेता हुनुहुन्छ । यो आकस्मिक घटनालाई कसरी हेरिरहनु भएको छ ?

तपाईंले भन्नुभएको उचित हो । मैले यो गठबन्धन बनाउँदाको क्रममा, रहँदाको क्रममा र भत्किँदासम्म नजिकबाट नै काम गरेको हो । यो तत्कालिन गठबन्धन भत्किनुको कारणमा बाहीर भन्दा र देखाउँदा एक खालको कारणहरु देखाएपनि यसको पछाडीको मुख्य कुराहरु विस्तारै खुल्दै जालान् । यति त प्रस्टै छ कि यो राजनीतिक छलफलकै साथ आएको गठबन्धन हो । राजनीतिक नजरले हेर्दा खासगरी बामपन्थी पार्टीहरु आपसमा मिल्ने मिलाउने, सकेसम्म पार्टी नै एक गर्ने वा नभएपनि मोर्चा बनाएर जाने मान्यताको साथ उहाँहरु अगाडि बढेको देखिन्छ । तर, प्रत्येक घटनामा तत्कालिन,दीर्घकालीन र अल्पकालीन कारणहरु हुन्छन् । यो गठबन्धनको दीर्घकालीन स्थिति भनेको पार्टी एक बनाउने,नभए मोर्चा बनाएर बामपन्थीहरुलाई एक ठाउँमा राख्ने देखिन्छ । हाम्रो महासमिति बैठक,मन्त्रीहरुको कार्यशैली र कांग्रेससँगगठबन्धनमा बस्न सहज भएन भनेर उहाँले जुन कारणहरु भनिरहनुभएको छ, यी त निहुँ खोज्नका लागि देखाईएका कारणहरु मात्र हुन् । मुख्य कारण देखाउन नमिलेर स्थापित गर्न खोजिएका सहायक र तत्कालिन साना कारणहरु हुन् । यत्ति कारणले मात्रै त गठबन्धन भत्काइहाल्नु पर्ने नै थिएन । अहिलेको गठबन्धन कुनै राजनीतिक छलफल र सल्लाहका साथ आएको मैले बुझेको छु ।

सत्ता परिवर्तनपछि संसदमा बोल्ने क्रममा तपाईंले प्रधानमन्त्रीलाई धोका पाएका दलहरु एक ठाउँमा उभिए भने के गर्नुहुन्छ भनेर प्रश्न गर्नुभएका थियो । प्रतिपक्षमा सर्दाको रोष पोख्नुभएको हो ?

रोष पोखेको होइन । मैंले तथ्यलाई गम्भीर भएर विश्लेषण गरेरै भनेको हो । जस्तो, एमालेले आफ्नो आधिकारीक दस्तावेजमा माओवादीबाट पटकपटक धोका खाएका छौं भनेर उल्लेख गरेको छ। हामीले पनि कांग्रेसलाई विश्वासघात भयो । यो राजनीतिक वेइमानी हो भनेर आधिकारीक धारणा राखेका हौं। माओवादी सरकार बनाउनका लागि मुख्य पार्टी बनेको अवस्था छ । चाहे कांग्रेस होस् या एमाले दुवैका लागि सरकार बनाउन माओवादीलाई नै सामेल गर्नुपर्ने हुन्छ । अब दुवै ठूला पार्टीले माओवादीबाट धोका खाएको निष्कर्षमा पुगिसकेपछिको अवस्था स्पष्ट भएपछि न मैले बोलेको हो । रोष पोखेको होइन् नि। पछिल्लो समय माओवादीको प्रवृत्ति अस्थीर देखिन्छ । त्यसले नेतृत्वप्रति नै अविश्वसनियता बढेको छ । चौध महिनामा तीन पटक सरकार परिवर्तन भयो नि । मैंले हिसाब गरेरै भनेको हो । यही गतिमा हिँड्ने हो भने १२ पटक पनि पुग्छ । अब हामीले चारचार महिनामा सरकार परिवर्तन गर्न थाल्यौं भने त्यसले जुन राजनीतिक अविश्वासर धोका सिर्जना गर्छ । अहिलेको प्रधानमन्त्री दाहाललाई भविष्यमा आफ्नै अस्थिर प्रवृतिले अप्ठ्यारोमा पार्छ ।

आलोचनात्मक रुपमा हेर्ने हो भने तपाईं आफ्नै पार्टीलाईअहिलेको परिवर्तनप्रति कति जिम्मेवार ठान्नु हुन्छ ?

अहिले सत्ता परिवर्तन राजनीतिक छलफल र सल्लाहबाटै उहाँहरुले गरेको देखिन्छ । त्यसमा कांग्रेसले आफूलाई दोषी मान्नुपर्ने जस्तो लाग्दैन । कांग्रेसबाट पनि केही कमजोरी भएका छन् ।तर, प्रधानमन्त्रीले देखाउनु भएको कारणहरु भनेका सहायक मात्र हुन् । कांग्रेसका कारणले उहाँलाई गठबन्धन छुट्टाउनैपर्ने थिएन । निहुँ चाहिन्छनि छुट्टिन । त्यो निहुँ कांग्रेसका कारण माओवादीले पाएको हो । त्यो मूल कारण भने होइन । गठबन्धन फुटाएपछि कांग्रेसकै कारणले फुटेको भन्ने जुन भाष्य निर्माण गर्न खोजियोत्यो कांग्रेसकै कारणले मात्र होइन भनेर हामीले बोल्नुपर्ने अवस्था आएकाले मैले सदनबाट सबै स्पष्ट पारेको हो । गठबन्धन भत्काइसकेपछि मेरा कारणले भनेर जिम्मेवारी लिन त कसैले सक्ने कुरै भएन । अनि भएका साना कारणहरुलाई अतिरञ्जनापूर्ण ढंगले यही कुरा ठूलो हो भन्नेगरी प्रस्तुत गरियो । तर,कांग्रेसकै कारण गठबन्धन भत्काउनुपर्ने अवस्था थिएन । सदनमा मैले यही कुरा स्पष्ट पारेको मात्र हूँ ।

गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन भनेर तपाईं भन्नुहुन्छ । कोशी प्रदेशको पछिल्लो सत्ता समीकरण र गत संसदीय निर्वाचनमा कांग्रेसले माओवादीलाई भोट नहालेको स्पष्ट छ । महासमितिमा माओवादीको जनयुद्धलाई अपमान हुनेगरी प्रस्तुत गर्ने कांग्रेस नै हो । सत्ता मै रहँदा नि एक धारका नेताहरु गठबन्धन चुनावसम्म जाँदैन भनेर बोलिरहन्थे । अनि दोष जति सबै माओवादीको मात्रै हो ?कांग्रेसले आत्मसमीक्षा गर्छ आगमी निर्वाचनलाई लिएर ?

हाम्रो मिश्रित निर्वाचन प्रणालीकै कारण एकल बहुमतको सरकार कुनैपनि पार्टीले बानाउन सक्ने अवस्था छैन । गठबन्धन त बनाउनैपर्छ । निर्वाचन अगाडि या पछाडि भन्ने विषय मात्रै हो । यो प्रणाली रहँदासम्म एक अर्काले मिलेरै सरकार बाउनुपर्ने अवस्था आउने गर्छ ।कांग्रेस एक्लै आफ्नै बलमा निर्वाचन लडेर मत पाइसकेपछिको अवस्था हेरेरजे गर्नुपर्छ गरौंला भन्ने मत कांग्रेसभित्र छ ।
अर्कोतिर तत्कालिन समयमै अवस्था हेरेर परिस्थिति अनुसार रणनीतिक रुपमा कांग्रेस चुनावमा जानुपर्छ भन्ने धार पनि छ । अहिले कांग्रेसले गठबन्धनको परिभाषा गर्दा माओवादीलाई मात्र हेरेर गर्छौ कि गर्दैनौ भनिरहेका छौं । त्यसो गर्नु नै हुँदैन । भोलि निर्वाचनमा सबै कम्युनिष्टहरु एक भएर लडेभने कांग्रेसले बाँकी रहेका साना लोकतान्त्रिक पार्टीसँग मिलेर गठबन्धन गर्ने कि नगर्ने त ? यो हामी आफैं भित्रको बहसको विषय हो ।

नयाँ समीकरण बनेपछि कांग्रेसका नेतादेखि सहमहामन्त्रीसम्मले र एमालेका नेताहरुले पनि मिलेर गठबन्धन बनाउनुपर्छ भनेको सुनिन्छ । सम्भव छ अब त्यसो गर्नलाई ?

मैंले गठबन्धनमा जोडिएका कुनैपनि पार्टीभित्र पूर्ण सन्तुष्टि देखिराखेको छैन । एमालेका तमाम यस्ता साथीहरु छन् जो संसदभित्र र बाहिरपनि प्रचण्डसँगको मेलमिलापबाट सन्तुष्ट छैनन् । एउटै पार्टी बनाउँदा पनि प्रचण्डसँगको सम्बन्ध तोडेर गएको असफलताको अनुभव हुँदाहुँदै फेरि उनैसँग मिल्ने कुरा बेठिक हो भन्ने एमाले भित्रका धेरैलाई परेको छ । माओवादीकालाई पनि पुरानै सम्बन्ध नभूल्दै हतारमा नयाँ सम्बन्ध प्रचण्डले बनाए भन्ने परेको छ । माधवजी(माधवकुमार नेपाल)को पार्टीको विचार संसदभित्रैबाट सबैले सुनेका छन् । प्रमाण नै त छैन मसँग तर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)भित्र पनि असन्तुष्टिको लहर छ भन्ने सुन्दैछु । जसपाको थाहै छ सबै । प्रचण्डले चारवटा पार्टीलाई लिएर गठबन्धन बनाउनुभयो । यो गठबन्धन भित्रका चारै पार्टीभित्र गठबन्धनलाई लिएर सन्तुष्टि छैन्। यो एउटा परिस्थिति हो । अर्को, प्रचण्डजीको पहिलेको र अहिलेको मतभार हेर्दा निकै तल आइसकेको छ । यो गठबन्धनका विरुद्धमा प्रतिपक्ष बलियो भएर अगाडि बढेको छ ।यो गठबन्धन धेरै दिन जानेमा कोहीविश्वस्त छैनन् । त्यसैले फाइदा चाँही कांग्रेसलाई नै भएको छ। पार्टीभित्र अभूतपूर्व एकता देखिएको छ । त्यो बाहेक सरकारमा गएका सबै पार्टीमा विभाजन देखिन्छ । स्वभाविक रुपमा सम्भावना नयाँ कुराको लागि देखिएको छ । एक त नेपाली राजनीतिमा जे पनि सम्भावना हुन्छन् । अर्कातिर गठबन्धनभित्रका दलमा पनि एकता देखिँदैन । यस्तो बेलामा सम्भावना रहिरहने हुनाले तपाईंले भनेजस्तो आँकलन भैरहेका छन् ।

तिव्र रुपमा हुने सरकार परिवर्तनका कारण संसदको पूर्ण कार्यकालमाथि प्रश्न उठ्छ कि उठ्दैन ?

हामी कुनै पनि हालमा संसदलाई विघटन गर्नेतर्फ जानै हुँदैन । तर, खतरा भने बढेको छ । संसद विघटनको विगतका घटनाले सुखद परिणाम ल्याएका छैनन् । सबैले देखेका छौं । तारन्तार चारपाँच महिनाको अन्तरालमा नयाँ गठबन्धन बन्ने र सरकार परिवर्तन भइरहने अवस्थाले गर्दा संविधानका व्यवस्थाहरु एकपछि अर्को प्रयोग हुँदै गएर विकल्प विनाको निर्वाचन भन्ने ठाउँमा पुग्न सकिने अवस्था आउनसक्छ । त्यहाँसम्म पुग्नै हुन्न । सरकार परिवर्तनलेमात्रै अस्थिरता ल्यायो भन्न त हुँदैन । तर परिवर्तनको जुन गति अहिले देखिएको छ यसरी नै गयो भने आम जनतामा संविधान र व्यवस्थाप्रति नै वितृष्णा आउँछ ।

तपाईंले अघि अझै नयाँ गठबन्धनको सम्भावना छ भनिसक्नुभयो । कांग्रेसमा एकता पनि देखिएको छ ।कांग्रेसले अब केही समय सत्ताको लोभ नगरेरसंसदको यो कार्यकालसम्म आगामी निर्वाचनको तयारी गर्दै प्रतिपक्षमै रहेर क्रियाशील हुन सक्दैन ?

अहिले मैले के देखिराखेको छु भने गठबन्धन भत्किएपछि हाम्रो पार्टीमा अलि जोश र एकता देखिएको छ। कम्युनिष्ट सबै मिलेपनि मिल्छन् हामी एक्लै निर्वाचनमा जान्छौ भन्ने कुरामा अलिकति उत्साहित देखेको छु कांग्रेस । यही उत्साहले कांग्रेसलाई अबका दिनमा सत्ताको लोभ नगरेर प्रतिपक्षमै बसेर सडक र सदनबाट रचनात्मक,सिर्जनात्मक,जिम्मेवार र क्रियाशील भूमिका निर्वाह गरे जाउँ भन्ने स्थितिमा पुर्याउन सक्छ । कांग्रेस आफ्नै विचारले कालजयी छ । जस्तोसुकै स्थितिमा पनि कांग्रेसले आफ्नै विचारमा उभिएर जस्तोसुकै चुनौतिको पनि सामना गर्न सक्छ । हामीलाई त्यसका लागि पार्टी उत्साह,विश्वास र आत्मवल मात्रै चाहिएको छ ।

अहिलेसम्मको संविधानको कार्यान्वयनको अवस्था हेर्दा यसको भविष्य कस्तो देख्नु हुन्छ ?

निकै महत्वपूर्ण विषय सोध्नुभयो । यसलाई दुई हिसाबले हेरौं । एउटा हामी त्यस्तो देश हौं जहाँ सात दशकमा दशओटा संविधान बनाइसकेका छौं । संविधान धेरै बन्नु भनेको राम्रो मानक होइन, मानिँदैन । त्यो त धेरै व्यवस्थाको असफल प्रयोग गर्यौं भन्ने हो । त्या त हामी कति धेरै अस्थिरताको दौडबाट जुज्रियौं भन्ने प्रमाण हो । अब हामीलाई यो संविधान असफल बनाउने छुट छैन ।यसलाई सफल बनाउनै पर्छ । तर, संविधान जडवस्तु होइन चलायमान र क्रियाशील दस्तावेज हो । यसलाई गीताको रुपमा हेर्न थालियो भने फेल हुनेतिर जान्छ । आजको दिनमा संविधानलाई पुनरावलोकन गरेर यसभित्रका कमीकमजोरी,जटिलता र कार्यान्वयनमा देखिएका समस्याहरुलाई संशोधनमार्फत सुधार गरेर लिएर जानुपर्ने बेला भैसक्यो । संशोधन गर्दा यसका आधारभूत मर्महरु मर्नु हुँदैन । संविधानको पुनरावलोकन गरेर दीर्घजिवी बनाउन यसमा सिर्जनशिल र रचनात्मक परिवर्तन गरौं ।

संविधानको पुनरावलोकनसहित रचनात्मक संशोधन गरौं भन्नुभयो । बाहिर हिन्दु राज्यको पक्षमा आवाज उठिराखेका छन् । कांग्रेसभित्रै पनि धर्म निरपेक्षता हुनुहुँदैन भन्ने आवाज उठेको छ । त्यो विषय संशोधनमा पर्छ ?

हामीले अध्ययन गर्दा समग्रतामा गर्न पाइयो । तर,संविधानका धर्म निरपेक्षता लगायतका केही आधारभूत तत्वहरु छन् त्यसलाई अहिले नै खलबल्याउन हुँदैन । नेपाल धेरै धार्मिक,सामाजिक,जातिय सहिष्णुता भएको देश हो । यसलाई हामीले यो र त्यो धर्म भन्ने बहसमा लिएर गयौं भने यसले अहिले हाम्रोसामाजिक सद्भावमा खलल गर्छ । यो विषयलाई सबैले गम्भीरतापूर्वक सोच विचार गर्न जरुरी छ ।

एउटा प्रश्न तपाईंलाई मात्र । पार्टीभित्र प्रमुख सचेतकको जिम्मेवारीमा हुनुहुन्छ । पछिल्लो समय राजनीतिक परिवर्तनमा शीर्ष नेताहरुसँगै बसेर भूमिका निर्वाह गर्नुभएको छ। आफ्नो निर्वाचन क्षेत्रका बारेमा सोच्ने विचार गर्ने फुर्सद कत्तिको हुन्छ ?

हामी नितान्त विकासका मुद्दामा चुनाव लड्छौं । काठमाडौं आइसकेपछि पार्टी,संसद,सरकार र आफ्ना अन्य जिम्मेवारीहरुमा लाग्दा भूमिका अलिकति परिवर्तन हुन्छ । चुनावको बेला विकासका बारेमा बोलेका सबै कुरा पूरा गर्न सकिँदैन । त्यसैले आलोचना पनि हुन्छ । तथापि मंैले आफ्नो निर्वाचन क्षेत्रमा सकेसम्म काम गर्ने कोशिस गरेको छु । धेरै कुरामा सफलता पाएको पनि छु । कतिपय कुरा चाहना भएर पनि पुरा हुँदैन ।

अन्त्यमा,एउटा नेताले आफ्नो एक दिन कसरी विताउनु पर्छ ? तपाईंको दिनचर्या कस्तो हुन्छ ?

नेताले सबैभन्दा पहिले त तनावलाई व्यवस्थापन गर्न जरुरी छ । योगध्यान गरेर मानसिक र शारीरिक रुपमा स्वस्थ हुन जरुरी छ। किनभने नेताको जीवन धेरै अस्तव्यस्त भएको देख्छु । मेरो अनुभवमा जसरी व्यवस्थित दिनचर्या हुनुपर्ने हो त्यस्तो छैन, हुँदैन । मेरो एक दिनमा बिहानको नित्यकर्म, कहिलेकाहीं योग र व्यायाम, त्यसपछि साथीभाई,व्यक्तिगत सामुहिक भेटघाट हुन्छ । पार्टीको जिम्मेवारीका काम यस्तै यस्तै हो । व्यवस्थित दिनचर्या हुँदैन । नेताको एकदम कमजोर पक्ष भनेको न जीवन व्यवस्थित छ न अनुशासित नै !