Newyork Time 03:58 am
May 9, 2024, Thursday
२०८१ बैशाख २७

राज्यमन्त्रि थापाको एनजिओमा सरकारी २ करोड बजेट

२०८० चैत्र २३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

190

 

राजनीतिक प्रभावका कारण कोशी सरकारले आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापाले सञ्चालन गरेको गैरसरकारी संस्थाले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ बजेट पाएको छ । केयर वुमन नेपाल नामक गैरसरकारी संस्थाले चालु आर्थिक वर्षमा भवन निर्माणका लागि १ करोड ८० लाख र पार्क निर्माणका लागि २५ लाख रुपैयाँ बजेट पाएको हो । उक्त एनजीओको भवन राज्यमन्त्री थापाकी आमा दुर्गादेवीको नाममा रहेको जग्गामा निर्माण गरिएको छ । भवन निर्माणका लागि चालु आर्थिक वर्षमा संघीय सरकारले ८० लाख र कोशी प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजन गरेका हुन् ।

कोशीको भौतिक पूर्वाधार विकास मन्त्रालयले धनकुटाको पाख्रिबास नगरपालिका–४ स्थित संस्थाको जग्गामा भवन बनाउन एक करोड रुपैयाँ विनियोजन गरेको हो । २७ असोजमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउन कांग्रेसभित्र बिद्रोह गर्ने ८ जना सांसदमध्ये थापा पनि एक हुन् । डा। शेखर कोइरालासँग निकट रहेकी थापा सामानुपातिक प्रणालीबाट कोशी प्रदेशसभा सदस्य चुनिएकी हुन् । मुख्यमन्न्त्री कार्कीले बनाएको बजेटमा थापाले भवन निर्माण र पार्क निर्माणका नाममा बजेट पार्न सफल भएकी हुन् ।

पाख्रिबास नगरपालिका– ८ मुगामा रहेको संस्थाको कार्यालयमा पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतको पर्यटन पूर्वाधार आयोजनाले पार्क र पूर्वाधार निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको छ । पाख्रिबास–४ मा रहेको उक्त संस्थाको भवन निर्माणका लागि ठेक्का प्रक्रियामा रहेको सहरी विकास तथा भवन कार्यालय धनकुटाका निमित्त प्रमुख सुरेशप्रसाद साहले बताए ।

२०७६ सालमा पनि केयर वुमेन नेपाल पाख्रिबास–८ मुगाको नाममा १ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । सो बजेटबाट भवन निर्माण गरिएको थियो । सोही संस्थालाई २०७७ सालमा ५० लाख रुपैयाँ बजेट परेको थियो ।