Newyork Time 06:56 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम

२०८० चैत्र ६
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

455

नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ।

प्रधान सेनापति प्रभुराम शर्माका अनुसार विसं २०८० पुस मसान्तसम्म ८२ अर्ब ६६ करोड १२ लाख रुपैयाँ जम्मा भएको हो।

सैनिक मञ्च टुँडिखेलमा नेपाली सेना कल्याणकारी बोर्डको संयोजन तथा नेपाली सेना जंगी अड्डाको व्यवस्थापनमा आज आयोजित कार्यक्रममा उनले करिब १० लाख हिताधिकारीमार्फत कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको जानकारी दिए।

उनले विसं २०८० असार मसान्तसम्म ७१ अर्ब पाँच करोड ६१ लाख रुपैयाँ रहेकामा सो रकम वृद्धि भई पुस मसान्तसम्म कोषको कूल रकम ८२ अर्ब ६६ करोड १२ लाख रुपैयाँ पुगेको जानकारी दिए। कल्याणकारी कार्य सोही कोषको ब्याजबाट सञ्चालन हुँदै आएको पनि उनले उल्लेख गरे।

सैनिक कल्याणकारी कोषमा हरेक वर्ष करिब छ देखि आठ अर्ब रुपैयाँ खर्च भइरहेको जानकारी दिँदै प्रधान सेनापति शर्माले कोषमा ठूलो रकम देखिएता पनि एकै पटक रकम उपलब्ध गराउन कठिन भइरहेको बताए। प्रधानसेनापति शर्माले कोषलाई कालान्तरसम्म दिगो राख्न आयआर्जनलाई विस्तार गर्न जरुरी रहेको र यस विषयमा सरकारका सम्बद्ध निकायमा कुरा राखिएको उनले जानकारी दिए।

उनले अवकाशप्राप्त सकल दर्जालाई एकै ठाउँमा भेटघाटका साथै बहालवाला र अवकाशप्राप्त सैनिकबीच सामीप्यताको भावना जागृत गराउन सेनाले विविध कल्याणकारी कार्यक्रम गर्दै आएको उल्लेख गरे।

प्रधानसेनापति शर्माले सैनिकको देश, समाज र जनताप्रति उत्तिकै जिम्मेवारी रहेको भन्दै राष्ट्रलाई आइपरेका जुनसुकै विपद् र महामारीमा राष्ट्रभावका साथ स्वतस्फूर्त सक्रिय भएर भूमिका निर्वाह गर्न तत्पर हुनुपर्ने धारणा राखे।

‘राज्यका लागि तपाईंहरू हिजोका दिनमा जति महत्वपूर्ण हुनुहुन्थ्यो, आज अवकाशप्राप्त जीवनमा पनि उत्तिकै महत्वपूर्ण सम्पत्तिका रूपमा हुनुहुन्छ। विभिन्न प्रकारका विपद्, महामारीलगायत राष्ट्रिय संकटमा आवश्यक योगदान गर्न तयार रहनुभएको छ र भविष्यमा पनि तयार रहनुहुन्छ भन्ने विश्वास लिएको छ,’ उनले भने।