Newyork Time 09:33 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

एसियाबाट श्रेया र काजोल फोर्ब्स म्यागेजिनको ३० जनाको प्रभावसूचीमा

२०८१ जेष्ठ ६
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

510

 

काठमाडौंकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका ३० जनाको प्रभावसूचीमा एशियाबाट छनौट भएकी छन् । फोर्ब्स म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा उनी सन् २०२४ को एशियाका प्रभावशाली युवाको सूचीमा परेकी हुन् । २८ वर्षीया गिरी मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुन् । लण्डनमा स्नातकोत्तर अध्ययन गरिरहँदा कोभिड महाव्याधी सुरु भयो । यहीक्रममा उनले मानसिक स्वास्थ्य समस्या व्यहोरिन् । तर कोभिडको बेला अनलाइनबाट मानसिक परामर्श लिने कुनै सुविधा थिएन । अध्ययन सकेर नेपाल फर्किएपछि उनले ‘ह्याप्पी माइन्ड्स’ सुरु गरेकी हुन् । मानसिक स्वास्थ्य समस्या सिर्जित नकारात्मक दृष्टिकोण र विश्वासजन्य चुनौतीहरूविरुद्ध काम गर्न नेपाल फर्किएकी गिरीले सुरु गरेको ह्याप्पी माइन्ड्सले भौतिक र भर्चुअल रूपमा मानसिक परामर्श दिनुका साथै समूहमा विभिन्न वर्कसपहरू चलाउँदै आएको छ ।

यो भौतिक उपस्थितिका साथै अनलाइनबाट पनि मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म हो । संस्थाले विश्वका जुनसुकै स्थानमा रहेका नेपालीलाई सेवा दिन्छ । फोर्ब्सको ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीको कला क्याटेगोरीमा काठमाडौंकी काजोल सेठिया पनि परेकी छन् । सामाजिक प्रभाव क्याटेगोरीमा काठमाडौंकी श्रेया गिरी पनि अटाएकी छन् ।

सन् २०१९ मा पेटा एशिया आउट स्ट्यान्डिङ अवार्ड पाइसकेकी काजोलले सिंगापुरमा इन्जिनियरिङ पढ्दा शाकाहारी यात्रा सुरु गरेकी थिइन् ।

जनावरलाई असाध्यै माया गर्ने काजोलले जनावरकै हितका लागि केही काम गर्ने सोच बनाइन् । जनावरको माया र उनीहरूलाई दुःख दिन नपाए हुन्थ्यो भन्ने सोचेर उनले नेपाल फर्किएर भेगन डेरी सुरु गरेकी हुन् । सन् २०१८ मा स्थापित उनको डेरीमा जनावरबाट केही नलिएर बनेको दूध, घ्यू, पनिर, बटर जस्ता हेल्थ सप्लिमेन्ट लगायत उत्पादन र बिक्री हुन्छ ।

सन् २०२४ को सुरुमा सेठियाले दोस्रो उद्यम मकालु सुरु गरिन् । हिमालयमा डालेचुक ९सी बकथर्न बेरी० खेती गरिरहेका किसानसँगको सहकार्यमा उनले शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको जुसलाई बोत्तलबन्द उत्पादनको रूपमा प्याकेजिङ सुरु गरिन् ।