Newyork Time 06:27 am
May 24, 2024, Friday
२०८१ जेष्ठ ११

अमेरिकामा चम्किएका ‘साइबर सेक्युरिटी’ दार्चुलाका पुकार हमाल

२०८० चैत्र २४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

485

काठमाडौँ– पुकार हमाल (३२) अमेरिकन कम्पनी ‘सेक्युरिटी पाल’का संस्थापक तथा सीईओ हुन्। यो कम्पनीको प्रधान कार्यालय अमेरिकाको क्यालिफोर्नियामा र शाखा न्युयोर्कमा पनि छ।

पुकारले गत वर्ष नेपालमा पनि ‘सेक्युरिटी पाल’को शाखा खोलेका छन्। काठमाडौँको बालुवाटारमा रहेको यस कम्पनीमा १३० जना कर्मचारी छन्। त्यसमध्ये केही विदेशी र केही नेपाली छन्। यो संस्थाको काम हो कम्पनीहरू खरिद–बिक्री हुँदा ‘साइबर सेक्युरिटी’ जाँच गर्नु। पुकार भन्छन्, “कम्पनी खरिद–बिक्री गर्दा साइबर सेक्युरिटी रिभ्यु गर्नुपर्छ। यो प्रक्रिया एकदमै लामो र झन्झटिलो हुन्छ, महिनौँ लाग्न सक्छ। हामी त्यसलाई छिटो र सहज तरिकाले सम्पन्न गराउछौँ।’

केही समयअघि अमेरिकाबाट नेपाल आइपुगेका उनी हिजोआज बालुवाटारस्थित कार्यालयमा भेटिन्छन्।

उनको पुर्ख्यौली घर दार्चुलाको गोकुलेश्वर हो। काठमाडौँमा जन्मिए पनि परिवारले उनलाई हुर्काउन आफ्नै गाउँ लग्यो। त्यो विकट गाउँ समस्याहरूले जेलिएको थियो। पहाडको ठाउँ, पहिरो गइरहन्थ्यो। सडक गतिलो थिएन। बस जाँदैन थियो। बिजुली पुगेकै थिएन। इन्टरनेट पहुँच बाहिरको कुरा थियो। अहिलेजस्तो मोबाइल मात्र होइन टेलिफोन पनि थिएन। अभाव त कति हुन् कति!

आमाले अगेनोमा भात पकाउँदै गर्दा छेउमा बसेर टुकीको उज्यालोमा पुस्तक पढेको उनलाई अहिले पनि सम्झना छ। गाउँमा आक्कलझुक्कल सानातिना गाडी कतै देखापर्‍यो भने उनी गाडी पछिपछि दगुर्थे। आकाशमा प्लेन उड्दा घाँटी दुखुन्जेल माथितिर हेर्थे। उनी भन्छन्, “हत्तेरिका, त्यत्रो चिज कसरी उडेको होला जस्तो लाग्थ्यो।”

गाउँभन्दा झण्डै दुई किलोमिटर पर एउटा बोर्डिङ स्कुल थियो। उनी त्यहीँ भर्ना भएका थिए। पढाइ ठिकै थियो, उनलाई गणित अलि सजिलो लाग्थ्यो। स्कुलमा कहिलेकाहीँ सांस्कृतिक कार्यक्रम हुन्थ्यो, उनी पनि भाग लिन्थे। ‘रातो टीका निधारमा…’ बोलको गीतमा नाचेको अहिलेसम्म याद छ उनलाई।

उनी डोटेली भाषा बोल्थे, नेपाली जान्दैन थिए। स्कुलमा प्रायः डोटेलीमै पढाइ हुन्थ्यो। “अहिले पनि दाङतिर हजुरबुवाको घर (मामाघर) जाँदा मामाहरूले ‘के छ? तमी निकै छौ के?’ भनेर सोध्नुहुन्छ,” उनी भन्छन्।

सन् १९९६ मा उनका बुवा अमेरिका गए।

बुवा नभएपछि पुकारका आमा–छोरा दाङको रतनपुर गए। त्यहाँ उनको मावली हजुरबुवाको घर थियो। उनी १ कक्षामा भर्ना भए। तर दाङमा उनले नेपाली भाषा सिक्नुपर्‍यो, दार्चुलातिर बोल्ने भाषा अरूले बुझ्दैन थिए।

दाङमा तीन वर्ष बिताएपछि आमासँग उनी पनि अमेरिका उडे। सन् १९९९ मा काठमाडौँबाट सिंगापुर, फ््रयांकफर्ट हुँदै न्युयोर्क पुगे। न्युयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको धमिलो सम्झना छ। उनी भन्छन्, “धेरै कुरा त सम्झना छैन। म बत्ती नभएको गाउँबाट गएको मान्छे। त्यहाँ त धपधप बलेको छ, भुईं पनि सफा र चिटिक्क छ। छक्क परेँ।”

न्युयोर्कमा उनी कक्षा ३ मा भर्ना भए। तर उनलाई भाषाले पुनः दुःख दियो। अमेरिकामा डोटेली वा नेपाली बोलेर कसले बुझ्ने!

कक्षामा सरले अंग्रेजीमा पढाएको उनी पटक्कै बुझ्दैन थिए। ‘माई नेम इझ पुकार’, ‘आई एक फ्रम नेपाल’ भन्न त जान्दथे, त्यसभन्दा बढी बोल्नुपर्‍यो भने पसिना छुट्थ्यो। स्कुलमा पाकिस्तानबाट गएको एक साथी थियो, भारतबाट गएकी अर्की केटी साथी पनि थिई। कक्षा सकिएपछि उनलाई ती दुई साथीले हिन्दीमा बुझाइदिन्थे। हिन्दी भाषा भने अलिअलि आउँथ्यो।

पुकार अंग्रेजी राम्रो बनाउनतिर लागे, रातदिन मिहिनेत गरे। कक्षा ३ को अन्तिम वर्षतिर महिनाको उत्कृष्ट विद्यार्थी नै घोषित भए। उनी भन्छन्, “खुब मिहिनेत गरेँ, नतिजा पनि राम्रो आउन थाल्यो।”

स्कुलमा अरू साथीहरूको तुलनामा उनी पातलो र ख्याउटे थिए। यसै कारण साथीहरूले जिस्काउने र हेप्ने गर्थे। “त्यहाँ त सानै भए पनि ज्यांगा मान्छे थिए। मलाई उनीहरूले हेप्थे। साथी बनाउन र घुलमिल हुन केही समय लाग्यो।”

नयाँ परिवेशमा रमाउँदारमाउँदै, नयाँ कुरा सिक्दासिक्दै, नयाँ ठाउँ घुम्दाघुम्दै स्कुले पढाइ सकियो। उनी भर्खर १४ वर्ष पुगेका थिए। हाईस्कुल पढ्न थाले।

आफूलाई पढाउने एक शिक्षिकाले उनलाई कोलम्बिया विश्वविद्यालयको ‘बायोकेमिस्ट्री रिसर्च ल्याब’मा अनुसन्धानका निम्ति सिफारिस गरिदिइन्। तीक्ष्ण र मिहिनेती पुकार विश्वचर्चित विश्वविद्यालयमा अनुसन्धानदाताको भूमिका पाएर दंग थिए। तलब पनि राम्रो थियो, महिनाको ३ हजार डलर। उनी भन्छन्, “केमेस्ट्री ल्याबमा बसेर अध्ययन/अनुसन्धान गर्नुपर्थ्यो। अनुसन्धानबाट आएको परिणामबारे ३०–४० वर्षका वैज्ञानिकहरूलाई जानकारी दिनुपर्थ्यो।”

यो ‘समर कार्यक्रम’ थियो, छोटो समयमा सकिइहाल्यो। विश्वविद्यालयले उनलाई थप अध्ययन अनुसन्धानका लागि अवसर दिने बतायो। तर उनले मानेनन्। स्ट्यान्डफोर्ड विश्वविद्यालयबाट स्नातक गर्ने सोच थियो।

त्यही समय अर्थात् २००८ मा उनले ‘इन्टरनेसनल साइन्स एन्ड इन्जिनियरिङ फेयर’मा पनि भाग लिए। त्यति बेला उनलाई एमआईटी ल्याब्रोटरीले ‘माइनर प्लानेट अवार्ड’ प्रदान गर्‍यो।

जिन्दगीमा के बन्ने, कसो बन्ने– त्यतिबेलासम्म पुकारले सोचेकै थिएनन्। स्ट्यान्डफोर्ड भर्ना भएपछि उनले आफ्नो सपना बनाउन थाले। “त्यहाँका विद्यार्थी भयंकर महत्त्वाकांक्षी थिए। आल्मुनाईहरूले संसारलाई चकित पार्ने काम गरिसकेका छन्, आफूले पनि केही गर्नुपर्छजस्तो लाग्यो। ‘तिमीले के गर्ने?’ भन्ने प्रश्न दिमागमा आइरहने रहेछ। यो दबाबले केही मान्छेले ठूलो प्रगति गर्छन्, केही खुम्चिएर केही गर्नै नसक्ने अवस्थामा पुग्छन्,” उनी भन्छन्।

स्ट्याण्डफोर्डका अन्तिम वर्षतिर उनी एक गैरसरकारी संस्थामा जोडिए। त्यो संस्थाको नाम थियो– गिभिङ २.०। यो संस्थाको स्थापना लोरा अरिलागा–एन्ड्रिसनले गरेकी हुन्। ‘फिलान्थ्रोपिक’ क्षेत्रमा चर्चित नाम हो यो। लोराका पिता जोन अरिलागा पनि संसारभर अब्बल फिलान्थ्रोपिस्टमा गनिन्थे, सन् २०२२ मा उनको मृत्यु भयो। उनकी छोरी तथा प्रविधि उद्यमी र लगानीकर्ता मार्क एन्ड्रिसेनकी पत्नी लोराले सन् २०१३ मा ‘वाल स्ट्रिट जर्लन’मा आफ्नो पिताबारे भनेकी थिइन्, “सहयोग उहाँको डीएनएमा छ, यो हरेक दिन पानी पिउनु जत्तिकै आवश्यक ठान्नु हुन्छ।”

पुकारले उनै लोरासँग काम गर्ने मौका पाए।

यो संस्थामा काम गर्दाको पहिलो दिन उनलाई प्रष्ट सम्झना छ। त्यस दिनको बैठकमा मार्क जुकरबर्ग आएका थिए। उनले जुकरबर्गको नाम मात्र सुनेका थिए, त्यस दिन आँखैअगाडि देखे। केही हप्तापछि जेफ बेजोशलाई भेटे। “बिल गेट्ससँग पनि त्यही समयमा हात मिलाउन पाएँ। फिलान्थ्रोपिस्ट मार्क बेनियफसँग पनि यही संस्थामा काम गर्दा भेट भयो,” उनी भन्छन्।

 

स्ट्यान्डफोर्डमा हुँदै उनी ‘गिभिङ २.०’ को एउटा कन्फरेन्समा सहभागी भएका थिए। “त्यहाँ लउरिन पोवेल जब्स (स्टिभ जब्सको श्रिमती), वारेन बफेटको परिवार, मार्क बेनियफलगायत आएका थिए। उनीहरू क्या स्मार्ट देखिन्थे,” उनी भन्छन्, “अर्बपतीहरूले हल भरिएको थियो। संसारको सबैभन्दा महँगो कोठा त्यही हो जस्तो लाग्यो।”

उनका अनुसार मार्क बेनियफले त्यसदिन धर्मशाला, धर्मगुरूलगायत अध्यात्मका कुरा गरे। उनले मनमनै सोचे, ‘यिनीहरू किन यस्ता विषयमा कुरा गरिरहेका छन्? म त नेपालबाट आएको हुँ, त्यहाँ पो यस्तो अध्यात्मको कुरा हुन्छ त!’

उनीहरूलाई सुनेर पुकारलाई रमाइलो पनि लाग्यो। बिल गेट्स, मार्क जुकरबर्ग, जेफ बेजोश, मार्क बेनियफलगायत अर्बपतीहरूलाई भेटेपछि उनले आफैँलाई मूल्यांकन गर्न शुरू गरे। त्यति बेला उनी २२ वर्ष मात्र पुगेका थिए।

६ महिना काम गरेपछि उनले गिभिङ २.० छाडिदिए। त्यहाँ उनले २०१३ जुलाईदेखि २०१४ जनवरीसम्म त्यो संस्थामा काम गरेका थिए।

त्यसको केही समयपछि ‘टिम एबल’ नामक स्टार्टअपमा ‘को–फाउन्डर’ भएर काम थाले। यो एकदमै सानो कम्पनी थियो। “१५-२० हजार डलरको मात्र वार्षिक रेभिन्यु उठाइरहेको थियो। १८ महिनामा मैले त्यसलाई ३ मिलियन रभिन्युको कम्पनी बनाएँ,” उनले भने, “पेपरमा हेर्ने हो भने म २५ वर्षको उमेरमै मिलिनियर बनिसकेको थिएँ।”

यो कम्पनीमा उनले दुई वर्ष मात्र काम गरे।

‘टिम एबल’मा काम गर्दा उनले झन्झटिलो ‘सेक्युरिटी रिभ्यु’ प्रक्रियाबारे थाहा पाए। यसबारे थुप्रै कम्पनीसँग पनि बुझे। एक जनाले उनलाई ‘साइबर सेक्युरिटीमा काम गर्ने कम्पनी खोल्नुभयो भने म तपाईंको ग्राहक पक्का’ भनेर हौस्याए। उनलाई पनि सेक्युरिटी जाँच गर्ने स्टार्टअप खोल्दा राम्रो हुन्छ जस्तो लाग्यो। सन् २०२० मा नयाँ कम्पनी खोले– सेक्युरिटी पाल।

अहिले यो कम्पनीलाई उकास्न उनी दिनरात मिहिनेत गरिरहेका छन्। नेपालमा यसको खास बजार नरहेको बताउँछन्। यो कम्पनीलाई थप परिचित र फराकिलो बनाउन उनले ‘द ग्रेट नेपाली डायस्पोरा’सँग मिलेर विभिन्न कार्यक्रमसमेत गरिरहेका हुन्छन्। डायस्पोराले विश्वभरि फैलिएका नेपालीलाई जोड्ने एउटा साझा मञ्चको रूपमा काम गरिरहेको छ। पुकार पनि यसका सदस्य हुन्।

केही दिनअघि बालुवाटारस्थित सेक्युरिटी पालको कार्यालयमा एक कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा पुकार, डायस्पोराकी अध्यक्ष प्रिती अधिकारी, साइबर सेक्युरिटी एक्सपर्ट सजन गौतमलगायतले नेपाली डायस्पोराले गरिरहेको कामबारे जानकारी दिएको थियो।
Kiran Dahal from Ukalo.com