Newyork Time 12:51 am
May 17, 2024, Friday
२०८१ जेष्ठ ४

प्रतिष्ठत विश्वव्यापी सामाजिक संस्था रेडक्रसमा चरम भ्रष्ट्राचार

२०८० चैत्र ८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

280

 

नेपाल रेडक्रस सोसाइटीको डा. नेत्रप्रसाद तिम्सिना नेतृत्वको समूहले यस संस्थाभित्रका भ्रष्टाचार छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । उक्त समूहले अन्तर्राष्ट्रिय रेडक्रस महासंघ र यसअघिका विभिन्न छानबिन समितिका प्रतिवेदन कार्यान्वयनका लागि पनि आवाज उठाएको छ । डा. तिम्सिना नेतृत्वको केन्द्रीय कार्यसमितिको बैठक बसी संस्थाभित्रका विसंगति अन्त्य गर्न र वैधानिक नेतृत्व स्थापित गर्न सरकारको भूमिकाको माग गरेको हो ।

रेडक्रसमा डा. तिम्सिना र सुदर्शनप्रसाद पन्तको नेतृत्वमा दुई समानान्तर समिति क्रियाशील छन् । एकले अर्कालाई अवैध घोषणा गरिरहेका छन् । डा. तिम्सिना समूहले आइतबारको बैठकपछि एक विज्ञप्ति जारी गर्दै अर्को समूहमाथि ‘रेडक्रसका आधारभूत सिद्धान्त तथा मान्यताहरूको ठाडो उल्लंघन गरी स्वार्थ समूहले सरकारलाई दिग्भ्रमित पारी गैरकानुनी कार्य गरेको र २०औं वर्षसम्म पदमा रहिरहन स्वार्थ समूहले सिन्डिकेट कायम गरेको’ आरोप लगाउँदै आपत्ति प्रकट गरेको छ ।
रेडक्रसका अन्तर्राष्ट्रिय महासंघ र सरकारले गरेका छानबिन प्रतिवेदनहरू तत्काल कार्यान्वयन गरी केन्द्रीय गोदाम घर, केन्द्रीय रक्तसञ्चार भवन र खानेपानी परियोजनाहरू निर्माण गर्दा भएका भ्रष्टाचारका उजुरीहरूलाई तत्काल सम्बोधन गर्न पनि यस समूहले सरकारसँग माग गरेको छ । सर्वोच्च अदालतको आदेश प्राप्त समितिलाई कामकाज गर्न नदिने, राजनीतिक तथा आर्थिक चलखेलबाट गैरकानुनी रूपमा स्वार्थ समूहले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय कब्जा गरी संस्थाका साधनस्रोतको दुरुपयोग गर्ने, मनलाग्दी भत्ता लिने, जिल्ला भ्रमणको नाममा लाखौँ रकम हिनामिना गर्ने कार्य गरिरहेकोले उक्त अवधिको छानबिन गरी असुल उपर गर्न पनि भनेको छ । नेपाल रेडक्रस सोसाइटीमा विगत १० वर्षदेखि अनियमितता, भ्रष्टाचार र व्यक्तिगत स्वार्थजस्ता विचलनका कारण विवादले उग्र रूप लिएको छ। पटकपटक तदर्थ समितिहरू पनि बनेका थिए ।