नेपालको हिमाली पर्यटन र पर्वतारोहण क्षेत्रलाई थप सुरक्षित र व्यवस्थित बनाउन अमेरिकी प्रविधि महत्त्वपूर्ण सारथि बन्न सक्ने अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले बताएकी छिन्। नेपालस्थित अमेरिकी दूतावासद्वारा आयोजित ‘द एसेन्ट समिट’ मा बोल्दै अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले पर्वतारोहण क्षेत्रमा अमेरिकी प्रविधिको सम्भावना र द्विपक्षीय सहकार्यको आवश्यकतामा जोड दिइन्।

उनले खासगरी नेपालको भौगोलिक चुनौती र बदलिँदो वातावरणीय अवस्थामा आधुनिक प्रविधिको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरिन्। रोजर्सले नेपाललाई अमेरिकाको विश्वासिलो साझेदारका रूपमा वर्णन गर्दै नवप्रवर्तन, उद्यमशीलता, शिक्षा तथा सुरक्षित प्रविधि समाधानका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका प्रतिबद्ध रहेको स्पष्ट पारिन्। उनले हिमालले संसारलाई साहस, धैर्य र सहकार्यको पाठ सिकाउने उल्लेख गर्दै यही मूल्यले नेपाल–अमेरिका सम्बन्धलाई पनि मार्गदर्शन गरिरहेको बताइन्।
‘हिमालमा सफलता केवल शिखरमा पुग्नु मात्र होइन, त्यो कोसँग यात्रा गरिन्छ भन्ने कुराले पनि निर्धारण गर्छ,’ उनले भनिन् ‘संयुक्त राज्य अमेरिका नेपालसँगको ७९ वर्ष पुरानो मित्रतालाई गर्वका साथ अगाडि बढाउँदै भविष्यमा अझ धेरै सफलताको शिखरहरू सँगै चढ्न चाहन्छ।’
उपविदेशमन्त्री रोजर्सले अमेरिका र नेपालबीचको ६ दशकभन्दा लामो पर्वतारोहण सम्बन्धको स्मरण समेत गरिन्। सन् १९६३ मा अमेरिकी आरोही जिम ह्विटेकरले नेपाली शेर्पा नावाङ गोम्बुसँग मिलेर गरेको ऐतिहासिक सगरमाथा आरोहणले दुई देशबीचको जनस्तरको सम्बन्धलाई बलियो जग दिएको उनको भनाइ थियो। ७९ वर्ष पुरानो कूटनीतिक मित्रतालाई गर्वका साथ अगाडि बढाउँदै भविष्यमा अझ धेरै सफलताका शिखरहरू सँगै चढ्न अमेरिका तयार रहेको उनले बताइन्।
यस समिटमा १,४०० भन्दा बढी पर्वतारोही, अभियान नेता, नवप्रवर्तक, आउटडोर ब्रान्डका प्रतिनिधि तथा पर्यटन क्षेत्रका अगुवाहरू सहभागी भएका थिए। उनीहरूले नेपालको पर्वतारोहण सम्पदा र अमेरिकी नवप्रवर्तनलाई कसरी जोडेर हिमाली अभियानहरूलाई अझ सुरक्षित बनाउन सकिन्छ तथा नेपालको साहसिक पर्यटन क्षेत्रलाई कसरी सुदृढ गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए।
आफ्नो मुख्य सम्बोधनमा अवर सचिव रोजर्सले उच्च गुणस्तरका आउटडोर सामग्रीदेखि अत्यन्त कठिन हिमाली परिस्थितिका लागि तयार गरिएका सञ्चार उपकरणसम्मका अमेरिकी उत्पादन र विशेषज्ञताले नेपालको पर्यटन अर्थतन्त्रलाई सहयोग पुर्याइरहेको तथा अमेरिकी व्यवसायका लागि नयाँ अवसरहरू सिर्जना गरिरहेको उल्लेख गरिन्।
संयुक्त राज्य अमेरिका र नेपालबीच नवप्रवर्तन तथा आर्थिक वृद्धिलाई अगाडि बढाउन सहकार्य निरन्तर जारी रहेको छ। साथै, साहसिक पर्यटनको विश्वव्यापी गन्तव्यका रूपमा नेपालको उदीयमान पहिचानलाई थप सुदृढ बनाउन पनि अमेरिका नेपालसँग सहकार्य गर्न प्रतिबद्ध रहेको छ।





