प्रधानमन्त्रीको प्रमुख सल्लाहकार बताउँदै केयरगिभरमा इजरायल पठाइदिन्छु भनेर ठगि गरेको अरोपमा दुई जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रामेछापको सुनापति गाउँपालिका १ का ५९ वर्षीय भरत चौलागाई र दोलखाको कालिन्चोक गाउँपालिका ८ की ३२ वर्षीय बालिका सिवाकोटीलाई पक्राउ गरेको एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए।
उनीहरुले १५६ जनाबाट २ करोड ५० लाख रुपैयाँ ठगी गरेको सीआईबीको दाबी छ। प्रतिव्यक्ति ६ लाख २० हजार उठाएको भन्दै पीडितले सीआईबीमा जाहेरी दिएका थिए।
चौलागाईले आफूलाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकार बताउँदै पीडितलाई विश्वासमा पारेका थिए। उनीहरुमाथि जिल्ला अदालत काठमाडौँबाट ठगीको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको एसएसपी जबराले बताए।
ठगीमा पर्नेहरु सन् २०२४ को परीक्षामा सामेल भएर लक्की ड्रमा नपरेकाहरु रहेका छन्। इजरायलमा केयरगिभर नेपाल सरकारले नै पठाउँदै आएको छ। यसका लागि इजरायल सरकारसँग नेपाल सरकारले जी टू जी (सरकार टू सरकार) सम्झौता छ।





