परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाकाअभियानमा नेपालले पुर्याउँदै आएको योगदानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा राष्ट्रसंघका शान्ति सञ्चालन विभाग उपमहासचिव जाँ-पिइरे लाक्रोइक्ससँग न्युयोर्कमा खनालले साइडलाइन भेट गरेका थिए । त्यस क्रममा मन्त्री खनालले नेपाली शान्ति सैनिकप्रति संयुक्त राष्ट्रसंघले निरन्तर व्यक्त गर्दै आएको विश्वास र सहकार्यका लागि हार्दिक आभार व्यक्त गरे ।

”संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाका अभियानमा नेपाली शान्ति सैनिकप्रति संयुक्त राष्ट्रसंघले निरन्तर व्यक्त गर्दै आएको विश्वासका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु,” मन्त्री खनालले भने, ”नेपालले संयुक्त राष्ट्रसंघसँगको आफ्नो दीर्घकालीन सहकार्यलाई उच्च महत्त्व दिएको छ र पारस्परिक विश्वास, सम्मान तथा सहकार्यमा आधारित यस सम्बन्धलाई आगामी दिनमा थप सुदृढ तुल्याउन चाहन्छ।”
मन्त्री खनालले नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा प्रमुख सैनिक तथा प्रहरी योगदानकर्ता राष्ट्रका रूपमा निरन्तर सक्रिय रहँदै आएको उल्लेख गरे । ”हाल करिब १२ वटा संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा चार हजार ३ ०० बढी नेपाली सैनिक तथा प्रहरी कर्मचारीले सेवा प्रदान गरिरहनुभएको छ,” उनले भने, ”संयुक्त राष्ट्रसंघको आवश्यकता र अनुरोधअनुसार थप जनशक्ति आवश्यक परेको अवस्थामा नेपाल १० हजारसम्म शान्ति सैनिक योगदान गर्न तत्पर रहेको छ।” संयुक्त राष्ट्रसंघबाट शान्ति स्थापनाका लागि आवश्यक सहयोगको आह्वान हुँदा नेपालले सदैव सकारात्मक, जिम्मेवार र रचनात्मक ढंगले प्रतिक्रिया जनाएको खनालले बताए ।
नेपाली शान्ति सैनिकहरूले व्यावसायिकता, अनुशासन, समर्पण, कार्यदक्षता तथा तोकिएको जिम्मेवारीको प्रभावकारी कार्यान्वयनमार्फत उच्च योगदान पुर्याउँदै आएको उल्लेख गर्दै मन्त्री खनालले संयुक्त राष्ट्रसंघीय मापदण्डअनुरूप प्रशिक्षण, कार्यसम्पादन, जबाफदेहिता तथा अन्तरसञ्चालन क्षमताको निरन्तर अभिवृद्धि गर्न नेपाल प्रतिबद्ध रहेको बताए।





