Newyork Time 03:20 pm
May 4, 2024, Saturday
२०८१ बैशाख २३

कलाकार कंगना रनौत लोकसभा चुनावमा उम्मदेवार

२०८० चैत्र १३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

170

सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) ले बलिउड कलाकार कंगना रनौतलाई आगामी लोकसभा चुनावमा उम्मदेवार बनाएको छ । आइतबार भाजपाले पाँचौँ सूची जारी गर्दै आगामी लोकसभा चुनावमा कंगनालाई गृहराज्य हिमाचलको मण्डी क्षेत्राबाट उठाउने निर्णय गरेको हो ।

भाजपाले कंगनालाई टिकट दिने अनुमान केही अघिदेखि नै गरिँदै आएको थियो । पार्टीले सूची जारी गर्नुअघि नै कंगनाले मण्डीबाट लोकसभा चुनाव लड्न सक्ने संकेत दिएकी थिइन् ।

कंगना केही वर्षदेखि विवाद र चर्चामा रहँदै आएकी छिन् । उनले महाराष्ट्रमा तत्कालीन शिव सेना र तत्कालीन मुख्यमन्त्री उद्धव ठाकरेविरुद्ध विवादित टिप्पणी गरेकी थिइन् । त्यस्तै सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा पनि उनले महाराष्ट्र सरकारलाई निशाना साधेकी थिइन् । त्यति मात्र होइन उनले खुलेरै भाजपा नेतृत्वको सरकारको प्रशंसा गर्न थालिन् । केही समयमा उनलाई सरकारले ‘वाई प्लस’ सुरक्षासमेत दियो । त्यतिबेलै यो अनुमान गरिएको थियो, ‘छिट्टै भाजपाले कंगनालाई राज्यसभा वा लोकसभा सांसद बनाउँछ ।’

कंगना कहिले झगडा त कहिले अब्बल अभिनयले बलिउडमा चर्चामा आइरहने कलाकार हुन् । सन् २००६ मा अनुराग बसुनिर्देशित ‘ग्यांग्स्टर’ चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । पहिलो फिल्मको अभिनयले नै उनले प्रशंसा बटुल्न सफल भइन् । उनले यस फिल्मबाट ‘फिल्मफेअर बेस्ट डेब्यु अवार्ड’समेत हात पारिन् । सन् २००७ मा ‘वो लम्हे’ र ‘लाइफ इन अ मेट्रो’ ले फिल्मी करियरलाई अगाडि बढाए पनि सन् २००८ को ‘फेसन’ ले कंगनालाई थप उचाइमा पुर्‍यायो ।

फेसन-दुनियाँको कहानी समेटिएको चलचित्रका निर्देशक मधुर भण्डारकर थिए भने प्रमुख भूमिकामा थिइन् प्रियंका चोपडा । कंगनाले उक्त फिल्मबाट सहकलाकारका लागि राष्ट्रिय पुरस्कारसमेत पाइन् । त्यसपछि उनले फिल्मी करियरमा पछाडि फर्केर हेर्नु परेन । सन् २०११ मा आएको ‘तन्नु वेड्स मनु’ का लागि उनले सर्वोत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाइन् ।

त्यस्तै विकास बहलनिर्देशित ‘क्विन(२०१४)’ ले पनि कंगनालाई राष्ट्रिय पुरस्कार दिलायो । उनी ‘मर्णिकर्णिका’ मा ‘झाँसीकी रानी’ को भूमिकामा देखिएकी थिइन् जुन १०० करोडभन्दा बढी संकलन गर्न सफल भएको थियो । कंगनाका केही फिल्मबाहेक सबैले व्यापारिक हिसाबमा सफलता प्राप्त गरेका छन् । कंगनाले बलिउडमा नातावाद हाबी भएको भन्दै करण जोहरलगायतका फिल्मकर्मीमाथि समेत आरोप लगाउँदै आएकी छिन् ।

भारतमा ५ सय ४३ सदस्यीय लोकसभाको चुनाव १९ अप्रिलदेखि सुरु हुनेछ । यस पटक लोकसभा चुनाव ७ चरणमा हुनेछ । भारतीय निर्वाचन आयोगका अनुसार १९ अप्रिलमा हुने पहिलो चरणको मतदानका लागि यही २० मार्चदेखि उम्मेदवारी दर्तालगायत प्रक्रिया सुरु हुनेछ

। दोस्रो चरणको मतदान २६ अप्रिल, तेस्रो ७ मे, चौथो १३ मे, पाँचौं २० मे, छैटौं २५ मे र सातौं चरणको मतदान १ जुन हुनेछ । सात चरणको मतदान डेढ महिनामा पूरा हुनेछ । सबैतिरको मतगणना एकै साथ ४ जुनमा सुरु हुने मुख्य निर्वाचन आयुक्त राजीव कुमारले बताए । पहिलो चरणमा लोकसभाका १ सय २ सिट, दोस्रोमा ८९, तेस्रोमा ९४, चौथोमा ९६, पाँचौंमा ४९, छैटौंमा ५७ र सातौं चरणमा ५७ सिटका लागि मतदान हुने आयोगले जनाएको छ ।

उत्तर प्रदेश, बिहार र पश्चिम बंगाल राज्यमा सातवटै चरणमा मतदान हुने कार्यतालिका छ । यी तीनवटै भारतीय राज्यहरू नेपालसँग सिमाना जोडिएका छन्, जसका कारण सुरक्षा संवेदनशीलताका आधारमा नेपाल–भारतको सीमा क्षेत्र करिब डेढ महिनासम्म नै प्रभावित रहनेछ ।