ट्रम्प प्रशासनले आफ्नो आप्रवासी विरोधी एजेन्डामा आक्रामक नयाँ लक्ष्यहरू तय गर्दै संघीय एजेन्टहरूले प्रतिदिन ३ हजार जनालाई पक्राउ गर्नुपर्ने अर्थात् एक वर्षमा १० लाखभन्दा बढी गिरफ्तार गर्ने लक्ष्य लिएको छ ।

यो नयाँ लक्ष्य यस वर्षको सुरुवातको तुलनामा तीन गुणा बढी हो, स्टेफन मिलर (ह्वाइट हाउसका उप–स्टाफ प्रमुख) र क्रिस्टी नोएम (गृह सुरक्षा विभाग –सचिव) द्वारा गत हप्ता भएको एक बैठकमा आप्रवासन तथा भन्सार प्रवर्तनका नेताहरूलाई दिइएको थियो ।
२१ मे मा वाशिंगटन डीसीमा भएको बैठक आप्रवासीहरूलाई गिरफ्तार गर्ने संख्या बढाउन राष्ट्रव्यापी रूपमा अधिकारीहरूलाई दिइँदै आएको बढ्दो दबाबको पछिल्लो उदाहरण हो, किनभने ट्रम्प प्रशासन आफ्नो आप्रवासी विरोधी एजेन्डामा अझ दृढ भएर लागिरहेको जनाइएको छ ।
यो धरपकडको नयाँ चरणमा केही नयाँ रणनीतिहरू पनि समावेश रहेको बताइएको छ । संघीय कानुन प्रवर्तन एजेन्टहरूलाई गिरफ्तारी र स्थानान्तरणमा सहयोग गर्न अनिवार्य बनाउने, राज्य र स्थानीय कानुन प्रवर्तन निकायहरूलाई अझ बढी संघीय कामका लागि नियुक्त गर्ने, र पहिले सुरक्षित मानिने ठाउँहरू जस्तै अदालत परिसरहरूमा समेत मानिसहरूलाई गिरफ्तार गर्ने योजना रहेको द गार्जियनले समाचार छापेको छ ।




