इरानले इजरायलले आक्रमण रोके आफूले पनि आक्रमण नगर्ने बताएको छ । इरानका विदेशमन्त्री सेयद अब्बास अरघचीले सामाजिक सञ्जाल एक्समार्फत् यो कुरा बताएका हुन् । ‘यदि इजरायलले अहिले नै अवैध आक्रमण रोक्ने हो भने, इरानले पनि थप प्रतिक्रिया दिने कुनै योजना बनाएको छैन,’ उनले भनेका छन् ।

उनले इजरायली आक्रमणको प्रतिक्रियास्वरूप भएको सैन्य कारबाही बिहान ४ बजेसम्म जारी रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘म सबै इरानीहरूसँगै हाम्रो वीर सशस्त्र बलप्रति आभार व्यक्त गर्दछु, जसले आफ्नो अन्तिम थोपा रगत रहेसम्म देशको रक्षा गर्न तत्पर रहेर शक्रुको हरेक आत्रमणको अन्तिम क्षणसम्म जवाफ दिएका छन् ।’ त्यसअघि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेजस्तो युद्धविरामको कुनै पनि सम्झौता नभएको बताउँदै त्यसबारे पछि निर्णय गरिने उल्लेख गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धविराम हुने दावी गरेका छन । दुवै पक्षलाई युद्ध नगर्न भनेका छन ।





