नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरण राज शर्मा पौडेलले नेपाली जनसम्पर्क समितिहरूको अधिवेशन अत्यावश्यक रहेको बताएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै उनले यदि आगामी २०८३ मंसिरमा हुने १५औँ महाधिवेशनमा सबै जनसम्पर्क समितिहरूको सहभागिता सुनिश्चित गर्न अधिवेशनको आवश्यकता औंल्याए।

पौडेलले विश्वका ३७ देशमा रहेका जनसम्पर्क समितिमध्ये हाल केवल तीनवटाको म्याद बाँकी रहेको र १४औँ महाधिवेशनमा २९ समितिले सहभागिता जनाएको जानकारी दिए। उनले अधिवेशनका लागि निम्न कार्यतालिका प्रस्ताव गरेका छन् । सदस्यता वितरण २०८२ असोज १७ देखि मंसिर १४ सम्म नयाँ वितरण र पुराना नवीकरण। अधिवेशनको मिति २०८२ असोज १९ भित्र मिति तय गरी केन्द्रीय कार्यालयमा बुझाउने। असोजदेखि ३ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने । उनले अन्तर्राष्ट्रिय जनसम्पर्क समिति गठनको आवश्यकता रहेको उल्लेख गर्दै यसका लागि विधानको मस्यौदा तयार भएको जानकारी केन्द्रीय कार्यसमितिलाई गराए।
नेपाली कांग्रेसको जनसम्पर्क समिति, जुन १९७६ जुन १३ मा बीपी कोइरालाले भारतको मुम्बईमा स्थापना गरेका थिए । हाल आफ्नो ५०औँ वर्षगाँठ स्वर्ण महोत्सव मनाइरहेको छ। समन्वय विभागले यो महोत्सवलाई विश्वव्यापी रूपमा मनाउन विभिन्न देशका जनसम्पर्क समितिहरूलाई आह्वान गरेको छ। भारतको बैंग्लोर, हैदरावाद, मुम्बई, भोपाललगायतका स्थानमा कार्यक्रमहरू सम्पन्न भइसकेका छन्। पौडेलले भारतमा नेपालीहरूको बाक्लो उपस्थिति र सम्पर्कलाई मध्यनजर गर्दै स्वर्ण महोत्सवलाई भारतमा विशेष रूपमा केन्द्रित गर्न प्रस्ताव राखेका छन्।
गैरआवासीय नेपाली संघ एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समिति आइसीसीमा देखिएको विग्रहलाई समाधान गर्न सर्वोच्च अदालतको परमादेश र परराष्ट्र मन्त्रालयको सहयोगमा गत मे ३–४ मा काठमाडौंमा एकताको महाधिवेशन सम्पन्न भएको पौडेलले बताए। यो महाधिवेशनले एनआरएनएलाई सही दिशामा ल्याएको भए पनि अझै धेरै काम बाँकी रहेको भन्दै उनले नेतृत्वलाई सचेत गराए ।



