अमेरिकाले संयुक्त राष्ट्रसंघअन्तर्गतको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संस्था युनेस्कोबाट बाहिरिने निर्णय गरेको छ । युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र विवाद उत्पन्न गर्न सक्ने सामाजिक तथा सांस्कृतिक विषयहरूमा जोड दिएको भन्दै अमेरिकी पक्षले युनेस्कोबाट अलग हुनुको कारण बताएको छ ।
अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता, टमी ब्रुसले एक विज्ञप्ति जारी गर्दै युनेस्कोको हालको कार्य प्रवृत्ति अमेरिका अनुकूल नरहेको र राष्ट्रिय हितसँग मेल नखाने दिशामा अघि बढेको बताइन् । उनले युनेस्कोले पछिल्लो समय संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यहरूप्रति बढी केन्द्रित भई विश्वव्यापी विचारधारात्मक विषयहरू अघि सारेको टिप्पणी गरिन् । साथै, युनेस्कोले प्यालेस्टाइनलाई सदस्य राष्ट्रका रूपमा स्वीकार गरेको निर्णयप्रति पनि गम्भीर असन्तोष व्यक्त गर्दै उक्त कदमले इजरायलविरोधी धारणा फैलाउने जोखिम बढाएको प्रवक्ता ब्रुसले उल्लेख गरिन् ।

युनेस्कोले शिक्षा, विज्ञान र संस्कृतिको माध्यमबाट अन्तर्राष्ट्रिय सहयोग र समझदारी प्रवर्द्धन गर्ने र विश्वसम्पदा सूचीको व्यवस्थापन गर्ने गर्छ । अमेरिकाको युनेस्कोबाट बाहिरिने निर्णय पहिलो पटक भने होइन । सन् १९८० को दशकमा पनि तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले युनेस्को भ्रष्ट र सोभियत समर्थक भएको आरोप लगाउँदै अमेरिकाले सदस्यता छाडेको घोषणा गरेका थिए । पछि, राष्ट्रपति जर्ज डब्लू बुसको कार्यकालमा अमेरिका पुनः युनेस्कोमा फर्किएको थियो ।
हालैका वर्षहरूमा पनि युनेस्कोप्रति अमेरिका आलोचनात्मक रहँदै आएको थियो । २०१७ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले सदस्यता छाड्ने निर्णय गरेका थिए, जुन निर्णय राष्ट्रपति जो बाइडेनले उल्ट्याउँदै अमेरिकालाई पुनः सदस्यता दिलाएका थिए । यतिबेला ट्रम्पको नेतृत्वमा अमेरिका पुनः युनेस्कोबाट बाहिरिएको हो ।





