शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियोभास्कुलर विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन्।उनी अहिले विदेशमै रहेकोले सामाजिक सञ्जाल एक्सबाट राजीनामा दिएको उल्लेख गरेका छन्। देश छाड्नुको पछाडी हरेक नेपालीको आआफ्नै कथाहरु हुन्छन । डा रामेश कोईराला अब्बल डाक्टर हुन । उनले पटक पटक राजनीतिक नेताको कोपभाजनमा परी उपकुलपति हुन नपाएपछि राजीनामा दिएको चर्चा छ । मुलत उनलाई काँग्रेसका नेतृत्वबाट पटक पटक धोका भएपछि उनले आफु कार्यरत अस्पतालबाट राजीनामा दिएर अमेरिकामा बस्ने गरी गएको बताईन्छ ।

उनले बुधबार एक्समा पोस्ट गर्दै व्यक्तिगत कारणले काम गर्न असमर्थ रहेको जनाउँदै आगामी असोज ३० गतेदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख गरेका हुन्। हाल आफू विदेश रहेको भन्दै उनले सामाजिक सञ्जाल एक्समार्फत नै राजीनामाको घोषणा गरेका छन्। उनले यस केन्द्रमा २५ वर्ष काम गरेका थिए। ‘हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज २०८२ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु,’ उनले कार्यकारी निर्देशकलाई सम्बोधन गरी लेखेको राजीनामा पत्रमा उल्लेख छ।
उनले एक्समा राजीनामा पोस्ट गर्दै लेखेका छन्, ‘र, म तपाईंको खुच्चिङ रमाइरहेछु। एक्कासी सीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र म सो बेला सायद सर्जन नहुँला। सरी! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम।’ कोइराला मंगलबार बिहान अमेरिका पुगेका थिए।
यस्तो छ राजीनामा पत्र;
श्रीमान् कार्यकारी निर्देशक,
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र,
बाँसबारी, काठमाडौं,
विषय: राजीनामा दिएकोबारे।
महोदय,
उपरोक्त सम्बन्धमा आज २८ साउन, २०८२ मा म यस केन्द्रको कार्डियोभास्कुलर विभागको विभागीय प्रमुखका साथै वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनका रूपमा कार्यरत रहेकामा हाल व्यक्तिगत कारणले सो पदहरूमा कार्य गर्न असमर्थ रहेकाले अनि विद्युतीय इमेल/हस्ताक्षर प्रमाणीकरण गर्न हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर, २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज, २०८२ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु।
सो अवधिबीच मैले उपयोग गर्दै आएको कार्यकक्षमा मेरा व्यक्तिगत सामान तथा कागजातबाहेक केन्द्रका कुनै जरूरी वा गोप्य कागजात नरहेकाले हस्तान्तरणसम्म पर्खिदिन पनि अनुरोध छ।
म यस केन्द्रमा कार्यरत नरहे पनि केन्द्रको प्रगति एवं गगन थापा, प्रदीप पौडेल, तपाईं-हाम्रो र हाम्रा शुभेच्छुकहरूको सपना बमोजिम संघीय सरकारले यस केन्द्रलाई मुटुबाट विस्तार गरी यसै वर्षदेखि ‘शहीद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्र’का रूपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वस्त छु र यस्ता हरेक कार्यमा म सल्लाह सुझावका छु लागि हरदम उपलब्ध हुने नै छु।
मलाई यस केन्द्रमा बिताएको २५ वर्ष एवं यहाँको सद्भावको सदा सम्झना रहने छ।
धन्यवाद।
-रामेश कोइराला।





