परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुई दिने औपचारिक भ्रमणमा आइतबार काठमाडौँ आइपुग्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्ता दिने र त्यसका लागि द्विपक्षीय तयारी पनि अघि बढाउने गरी मिश्री नेपाल आउन लागेका हुन्।

यसै भदौ अन्त्यतिर ओली भारत भ्रमणमा जाने गरी तयारी भइरहेको छ। ओली र उनका भारतीय समकक्षीबीच भारतको बोधगयामा द्विपक्षीय भेट हुने गरी कार्यक्रम पनि तय गरिँदै छ। बोधगया गौतम बुद्धले ज्ञान प्राप्त गरेको स्थान हो। परराष्ट्र मन्त्रालयले भने मिश्रीको नेपाल भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल(भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने जनाएको छ। नेपालमा रहँदा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्नेछन्। उनी सोमबार काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ।





