इजरायल र गाजाले बन्धक, बन्दीको मुक्त गर्ने तयारी गरिरहेको समाचार छ । सोमबार जीवित इजरायली बन्धकहरू र झन्डै २ हजार प्यालेस्टिनी बन्दीहरू मुक्त हुँदैछन । इजरायल र गाजामा अधिकारीहरूले सोमबारको समयसीमा अघि इजरायली बन्धक र प्यालेस्टिनी बन्दीहरूको अदला–बदलीका लागि तयारी गरिरहेका छन् । यो हस्तान्तरण गाजाको दुई वर्ष लामो युद्ध अन्त्य गर्नका लागि भएको युद्धविराम सम्झौताअन्तर्गत तय गरिए अनुसार हुन लागिएको हो ।

सम्झौताअनुसार, हमासले सम्झौता हस्ताक्षर भएको ७२ घण्टा भित्र गाजामा रहेका सबै जीवित इजरायली बन्धकहरूलाई मुक्त गर्नुपर्नेछ भने जसको समयसीमा स्थानीय समय अनुसार सोमबार दिउँसो १२ बजे समाप्त हुँदैछ । उक्त समूहसँग रहेका ४८ बन्धकमध्ये करिब २० जना मात्र जीवित रहेको विश्वास गरिएको छ । एक अन्तर्राष्ट्रिय कार्यदलले सोमबारसम्म मुक्त नभएका बन्धकहरूको शव फेला पार्ने प्रयास गर्नेछ, जसका धेरैजना गाजाको भग्नावशेषमुनि पुरिएका भएको अनुमान गरिएको छ ।
इजरायलले पनि झन्डै २,००० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ । तीमध्ये अधिकांशलाई गाजामा पठाइनेछ वा छिमेकी मुलुकहरूमा निर्वासित गरिनेछ, यद्यपि उनीहरूको रिहाईको ठ्याक्कै समय भने अझै निर्धारण गरिएको छैन ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार यरुशलम पुग्ने कार्यक्रम तय भएको बताइएको छ । उनले सोही समयमा केनेस्सेटमा सम्बोधन गर्ने र बन्धकका परिवारहरूसँग भेट गर्ने कार्यक्रम छ । यो शान्ति प्रक्रिया राष्ट्रपति ट्रम्पको संयोजनमा संभव भएको हो । यद्यपि सम्झौताका लागि अगाडि बढ्ने बाटो अस्पष्ट देखिएको थियो, ट्रम्पले युद्धविराम जारी रहने अपेक्षा व्यक्त गरेका छन । “सबै जना लडाइँबाट थाकेका छन्,” उनले ह्वाइट हाउसभित्र पत्रकारहरूसँग भने, साथै थपे, “अबको मार्गप्रति सहमति बनेको छ ।” राष्ट्रपति डोनाल्ड ट्रम्प र अब्देल फताह एल–सिसी सोमबार गाजा शान्ति सम्मेलनको सह–अध्यक्षता गने बताइएको छ ।
बन्धक–बन्दीको अदला–बदली ट्रम्पको गाजाको युद्ध अन्त्य गर्न बनाइएको २० बुँदे योजनाको पहिलो चरण हो । शुक्रबार दिउँसोदेखि युद्धविराम लागु भएको छ, तर दीर्घकालीन शान्तिको व्यवस्था गर्न ट्रम्प योजनाका धेरैजसो विवरण अझै वार्तामार्फत टुंग्याउन बाँकी छन् । पछिल्ला दुई वर्षमा इजरायली सैन्य अभियानले गाजाको अधिकांश क्षेत्र ध्वस्त पार्दै ६७,००० भन्दा बढी प्यालेस्टिनीको ज्यान गएको र करिब १ लाख ७० हजार जना घाइते भएको अवस्थापछि प्यालेस्टिनीहरू युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण हुने आशामा छन् ।
इजरायलको प्रमुख सहर तेल अवीवमा मानिसहरूले विशाल र्याली आयोजना गरेका छन्। यो र्याली हमासद्वारा कब्जामा राखिएका इजरायली बन्धकहरूलाई छोड्न तयारी भइरहेको केही घण्टाअघि निकालिएको हो। र्यालीमा सहभागीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खुलेर प्रशंसा गरेका छन्। उनीहरूले “धन्यवाद ट्रम्प” भन्दै खुसी व्यक्त गरेका थिए।





