अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाको पाँचदिने भ्रमणमा निस्केका छन् । यसक्रममा व्यापार, खनिज र युद्धविराम सम्झौतामा उनको ‘डिलमेकिङ’ क्षमताको परीक्षा हुनेछ । यो भ्रमणको केन्द्रविन्दु चीनका राष्ट्रपति सी चिनफिङसँग हुने भनिएको सम्भावित भेटघाट हो । तर, यसबारे अझै अनिश्चितता छ ।

ट्रम्प शुक्रबार राति वासिङटनबाट प्रस्थान गरेका छन् । गएको जनवरीमा पद सम्हालेपछि उनको यो सबैभन्दा लामो विदेश भ्रमण हो । यस दौरान उनले मलेसिया, जापान र दक्षिण कोरियाको यात्रा गर्नेछन् ।
ट्रम्पको लक्ष्य एसियाका ती देशसँग सम्बन्ध बलियो बनाउनु हो, जो उनको व्यापार नीतिबाट प्रभावित छन् ।
अमेरिका र चीनका बीच हालैका महिनामा व्यापारिक तनाव बढेको छ । दुवै देशले एकार्काको निर्यातमा शुल्क बढाएका छन् । महत्त्वपूर्ण खनिज र प्राविधिक उपकरणमा प्रतिबन्ध लगाउने धम्की दिएका छन् ।
ट्रम्पको पहिलो गन्तव्य मलेसिया हुनेछ । त्यहाँ उनी आइतबारदेखि सुरु हुने दक्षिण–पूर्वी एसियाली देशहरूको संगठन (आसियान) सम्मेलनमा सहभागी हुनेछन् ।
त्यहाँ उनी थाइल्यान्ड र कम्बोडियाबीचको द्वन्द्व समाप्त गर्ने युद्धविराम सम्झौताको औपचारिक घोषणाको समयमा उपस्थित रहने सम्भावना छ । यो सम्झौता जुलाईमा भएको वर्षौंको सबैभन्दा भीषण द्वन्द्वलाई समाप्त गर्न हो । यद्यपि, यसलाई स्थायी शान्ति सम्झौता मानिएको छैन ।
त्यसपछि उनी जापान जानेछन् । त्यहाँ उनको भेटघाट नयाँ प्रधानमन्त्री सानाए ताकाइचीसँग हुनेछ । ताकाइचीले सैन्य खर्च बढाउने र अमेरिकामा ५५० अर्ब अमेरिकी डलरको लगानीको योजनालाई जारी राख्ने पुष्टि गर्न सक्छिन् ।
अन्तिम गन्तव्य दक्षिण कोरियाको सहर बुसान हुनेछ । त्यहाँ ट्रम्पको भेटघाट सी चिनफिङसँग हुने सम्भावना छ । त्यसपछि उनी एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलन सुरु हुनुअघि नै वासिङटन फर्कनेछन् ।
ट्रम्पले यसअघि नोभेम्बर १ सम्म चीनसँग कुनै सम्झौता नभए चिनियाँ आयातमा शुल्क बढाएर १५५ प्रतिशतसम्म पुर्याइदिने चेतावनी दिएका थिए । रोयटर्सबाट ।





