थाइल्यान्डले पर्यटकहरूलाई दिँदै आएको ६० दिनसम्मको भिसामुक्त प्रवेश सुविधा कटौती गर्ने निर्णय ९३ देश तथा क्षेत्रहरूमा लागू हुने भएको छ। अधिकांश देशका नागरिकले अब ३० दिनसम्म मात्र भिसामुक्त बस्न पाउनेछन्। ६० दिनको भिसामुक्त सुविधा पाउने प्रमुख देशहरूमा अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, युरोपियन संघका अधिकांश देश, जापान, दक्षिण कोरिया, सिंगापुर, मलेसिया, इजरायल, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स लगायतका देशहरू समावेश थिए।

थाइल्यान्ड सरकारले सुरक्षा चिन्ता, गैरकानुनी काम, भिसा दुरुपयोग तथा अवैध व्यवसाय सञ्चालन बढेको भन्दै यो निर्णय गरेको जनाएको छ। नयाँ व्यवस्थाअनुसार अधिकांश देशहरू अब पुरानै ३० दिने भिसामुक्त प्रणालीमा फर्किनेछन् भने केही देशका लागि १५ दिन वा अन्य छुट्टै व्यवस्था लागू गरिनेछ।
पर्यटन थाइल्यान्डको रोजगारी र अर्थतन्त्रको प्रमुख आधारमध्ये एक हो। कोभिड महामारीअघिको विदेशी पर्यटक आगमनको स्तरमा फर्किन संघर्ष गरिरहेको थाइल्यान्डमा पछिल्ला वर्षहरूमा विदेशी पर्यटकसँग सम्बन्धित कानुन उल्लंघनका घटनाले कडा आप्रवासन नियम लागू गर्न दबाब बढाएको बताइएको छ ।
सरकारी प्रवक्ताले पत्रकारहरूसँग कुरा गर्दै “पर्यटकहरूले अर्थतन्त्रलाई चलायमान बनाउने जस्ता फाइदा दिएका छन्, तर हालको व्यवस्थाको केही व्यक्तिहरूले दुरुपयोग गरेका छन् । हालका वर्षहरूमा विदेशी पर्यटकहरू संलग्न चोरी, सार्वजनिक अश्लील व्यवहारजस्ता घटनाहरू सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चित बनेका छन्। साथै, पर्यटकीय क्षेत्रमा उचित अनुमति बिना अवैध व्यवसाय सञ्चालन गर्ने तथा भिसा अवधि सकिएपछि पनि बसिरहने विदेशी नागरिकप्रति विशेष चिन्ता व्यक्त गरिएको छ। थाई अधिकारीहरूले अन्तरदेशीय आपराधिक समूहहरूले पनि आप्रवासन कानुनको दुरुपयोग गरिरहेको बताएका छन्।
गत साता थाइल्यान्डका विदेशमन्त्रीले थाइल्यान्डले कुनै विशेष देशलाई लक्षित नगरेको स्पष्ट पार्दै अपराधमा संलग्न भएर भिसा प्रणालीको दुरुपयोग गर्ने व्यक्तिहरूविरुद्ध कदम चालिएको बताएका थिए। नयाँ व्यवस्थाअनुसार अमेरिका, बेलायत, युरोपको २९ सदस्यीय शेन्जेन क्षेत्र र अष्ट्रेलियासहित ९३ देशका नागरिकलाई दिइँदै आएको ६० दिने भिसामुक्त सुविधा हटाइएको छ।
अब पर्यटकहरूलाई ३० दिनको भिसामुक्त प्रवेश मात्र दिइनेछ। साथै, यो सुविधा पाउने देश वा क्षेत्रको संख्या पनि ५७ बाट घटाएर ५४ मा झारिने बताएका छन्। यद्यपि योग्य देशहरूको सूची भने अझै सार्वजनिक गरिएको छैन। अधिकारीहरूका अनुसार नयाँ नियमहरू पर्यटकहरूमा भ्रम नहोस् भनेर सरल बनाइनेछ। सरकारी प्रवक्ताका अनुसार पर्यटकहरूले अध्यागमन कार्यालयमा गएर एकपटक भिसा नवीकरण गर्न सक्नेछन्।
“पहिले ६० दिन स्वतः दिइन्थ्यो, तर अब नवीकरण अधिकारीको निर्णयमा निर्भर हुनेछ र पर्यटकहरूले किन लामो समय बस्न चाहेको हो भन्ने स्पष्ट गर्नुपर्नेछ,” उनले भनिन्। थाइल्यान्डले सन् २०२४ मा पर्यटन क्षेत्र पुनर्जीवित गर्न भिसा नियम खुकुलो बनाउँदै भिसामुक्त सुविधा पाउने देशहरूको संख्या बढाएको थियो भने बसाइ अवधि पनि ६० दिनसम्म पुर्याएको थियो।
पर्यटन थाइल्यान्डको अर्थतन्त्रको अत्यन्त महत्वपूर्ण क्षेत्र हो, जसले कुल ग्राहस्थ उत्पादनको १० देखि २० प्रतिशतसम्म योगदान पुर्याउँछ। तर, महामारीअघिको स्तरमा पर्यटक संख्या अझै फर्किन सकेको छैन। साथै अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण जेट इन्धन र हवाई भाडा महँगिँदा पर्यटन क्षेत्रमा थप असर परेको छ।
सन् २०२६ का पहिलो चार महिनामा थाइल्यान्ड आउने विदेशी पर्यटक संख्या अघिल्लो वर्षको तुलनामा ३ दशमलव ४५ प्रतिशतले घटेको छ। बेलायतबाट आउने पर्यटक संख्या २२ दशमलव ८ प्रतिशतले घटेर ८५,०५९ मा झरेको छ भने मध्यपूर्वबाट आउने पर्यटकहरू पनि उल्लेखनीय रूपमा घटेका बताइएको छ । फेब्रुअरीमा ३ करोड ५० लाख पर्यटक आउने अनुमान गरिएकोमा अब त्यो संख्या घटाएर ३ करोड २० लाखमा सीमित गरिएको छ।





