परराष्ट्रमन्त्री शिशिर खनालको तय भएको भारत भ्रमण स्थगित भएको छ। भारतीय सरकारको निमन्त्रणामा उनी १८ जेठमा नयाँदिल्लीमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स (आईबीसीए) शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो। तर भारत सरकारले सम्मेलन नै स्थगित गरेपछि खनालको भ्रमण पनि रोकिएको हो।
पछिल्ला महिनाहरूमा नेपाल–भारत सम्बन्धमा देखिएको उतारचढावबीच यो भ्रमणलाई निकै महत्त्वपूर्ण रूपमा हेरिएको थियो। भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय प्रधानमन्त्री , विदेशमन्त्री तथा वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलसँग भेटवार्ता गर्ने तयारी गरिएको थियो।
नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको नयाँ राजनीतिक समीकरण बनेपछि बदलिएको परिस्थितिमा द्विपक्षीय सम्बन्धलाई कसरी अघि बढाउने भन्ने विषयमा खनाल र जयशंकरबीच यसअघि मौरिससमा पनि छलफल भएको थियो। त्यस भेटलाई निरन्तरता दिने अवसरका रूपमा दिल्ली भ्रमणलाई हेरिएको अधिकारीहरू बताउँछन्।
भारत सरकारले आईबीसीए सम्मेलन स्थगित हुनुको औपचारिक कारणमा इबोला प्रकोपलाई उल्लेख नगरे पनि अफ्रिकाका केही क्षेत्रमा फैलिएको संक्रमणका कारण कार्यक्रम प्रभावित भएको चर्चा छ। भारतको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा चौथो भारत–अफ्रिका फोरम शिखर सम्मेलन (आईएएफएस–४) पछि सारिएको कारण आईबीसीए सम्मेलन पनि स्थगित गरिएको जनाएको छ।
वक्तव्यअनुसार अफ्रिकी संघका अध्यक्ष तथा अफ्रिकी संघ आयोगसँगको परामर्शपछि सबै सदस्य राष्ट्रको व्यापक सहभागिता सुनिश्चित गर्न कार्यक्रम पछि सारिएको हो। सम्मेलनको नयाँ मिति भने सरोकारवालासँग परामर्शपछि घोषणा गरिने बताइएको छ। भ्रमण तयारीमा संलग्न अधिकारीहरूका अनुसार नेपाली पक्षले भारतीय नेतृत्वसँग उच्चस्तरीय भेटका लागि औपचारिक अनुरोध गरिसकेको थियो। साथै विभिन्न राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग पनि भेटघाटको तयारी भइरहेको थियो।
नेपाल–भारत सम्बन्धमा पछिल्लो समय लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने भारतको निर्णयले नयाँ विवाद सिर्जना गरेको छ। नेपालले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएर असन्तुष्टि जनाएको थियो। त्यसपछि भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौं भ्रमणसमेत स्थगित भएको थियो। यद्यपि काठमाडौं र नयाँदिल्लीबीच विभिन्न तहमा अनौपचारिक संवाद जारी रहेको अधिकारीहरूले बताएका छन्। खनालको भ्रमण भएको भए उनले जयशंकरलाई नेपाल भ्रमणको निमन्त्रणा दिने तयारी गरेका थिए।
भ्रमणका क्रममा जनकपुर–अयोध्या रेलमार्ग, भारतीय सहयोगमा पूर्व–पश्चिम रेलमार्ग निर्माण, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि थप हवाई प्रवेशमार्गको माग लगायतका विषय एजेन्डामा थिए। त्यस्तै पेट्रोलियम पाइपलाइन विस्तार, नेपालतर्फ चिनी निर्यातमा भारतले लगाएको प्रतिबन्ध हटाउने विषय तथा सीमापार क्यूआर भुक्तानी प्रणाली कार्यान्वयनबारे पनि छलफल हुने अपेक्षा गरिएको थियो। पूर्वराजदूत विजयकान्त कर्णले खनालको भ्रमण स्थगित हुँदा नेपाल–भारत सम्बन्ध सुधारका लागि एउटा महत्त्वपूर्ण अवसर गुमेको टिप्पणी गरेका छन्। उनका अनुसार रास्वपाको चुनावी सफलतापछि भारतीय पक्षमा देखिएको प्रारम्भिक उत्साह अहिले केही कम भएको देखिए पनि सम्बन्ध पूर्ण रूपमा बिग्रिएको अवस्था भने होइन। कर्णले अहिलेको असहजता अन्त्य गर्न नेपाल र भारतका प्रधानमन्त्रीबीच प्रत्यक्ष संवाद आवश्यक रहेको बताएका छन्। उनका अनुसार अब सम्बन्ध सुधारका लागि पहल गर्ने जिम्मेवारी प्रधानमन्त्री वालेन्द्र शाहको काँधमा आएको छ।





