अमेरिका र इरानबीच सैन्य कारबाही अन्त्य गर्ने लगायतका विषयमा शान्ति सम्झौता भएको राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्। “इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब पूरा भएको छ,” ट्रम्पले एक सामाजिक सञ्जाल पोस्टमा भनेका छन्। त्यसको केही समयअघि मात्रै, पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले आइतबार अमेरिका र इरानबीच शान्ति सम्झौता भएको र दुवै पक्षले “सैन्य कारबाही तत्काल र स्थायी रूपमा बन्द गर्ने” घोषणा गरेको बताएका थिए।

सरिफले एक्समा एउटा पोस्ट गर्दै उक्त सम्झौतामा जुन १९ मा स्विट्जरल्याण्डमा हस्ताक्षर हुने बताएका छन्। सरिफका अनुसार यस सम्झौतामा लेबनानमा सैन्य कारबाहीको अन्त्य गर्ने विषय समावेश छ, जुन इरानका लागि एक मुख्य अडानको विषय थियो। कुनै पनि पक्षले सम्झौताको पूर्ण पाठ सार्वजनिक नगरे पनि यसका मुख्य बुँदाहरू केही दिनदेखि चर्चामा थिए: अमेरिका र इरानले विश्वकै सबैभन्दा व्यस्त जलमार्गहरूमध्ये एक, हर्मुजमा जारी आफ्ना प्रतिस्पर्धात्मक नाकाबन्दीहरू अन्त्य गर्नेछन्।
उनीहरू एकअर्कामाथि आक्रमण नगर्न र इरानको आणविक कार्यक्रम विघटन गर्न वार्ता सुरु गर्न सहमत भएका छन्। इरानले आफ्नो वैदेशिक तेल बिक्रीलाई लक्षित गरी लगाइएका प्रतिबन्धहरूबाट राहत पाउनेछ। दुवै पक्षले आफ्नो जित भएको दाबी गरे पनि उनीहरू अझै पनि एकअर्काप्रति गहिरो अविश्वास राख्छन् र बृहत्तर सम्झौतामा पुग्न सक्ने उनीहरूको क्षमतामाथि गम्भीर प्रश्नहरू बाँकी नै छन्।
प्रसारित समाचार अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच रणनीतिक स्ट्रेट अफ हर्मुज (Strait of Hormuz) लाई बिना कुनै शुल्क पुनः खोल्ने शान्ति सम्झौता सम्पन्न भएको घोषणा गरेपछि आइतबार विश्वव्यापी कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ। अमेरिकी क्रुड फ्युचर्स ४.८% ले घटेर प्रति ब्यारेल $८०.८० मा झर्यो भने ब्रेन्ट फ्युचर्स ३.९% ले घट्यो। यस सम्झौतासँगै गत मार्चदेखि इरानी आक्रमणका कारण सुरु भएको र इतिहासकै सबैभन्दा ठूलो तेल आपूर्ति अवरोध सिर्जना गरेको नौसैनिक नाकाबन्दीको अन्त्य भएको छ। मध्यस्थकर्ताको भूमिका निभाएका पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले सबै मोर्चामा सैन्य अपरेसन पूर्ण रूपमा बन्द भएको पुष्टि गर्दै आगामी जुन १९ मा स्विट्जरल्याण्डमा आधिकारिक सम्झौता पत्रमा हस्ताक्षर हुने जानकारी दिएका छन।





