खेमकला हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्दै आएको पद्मश्री पुरस्कारका लागि १५ कृति छानिएका छन्। प्रतिष्ठानद्धारा जारी विज्ञप्ति अनुसार गोविन्द गिरी प्रेरणाको अ(विधवा, मदन पुरस्कार विजेता डा. नवराज लम्सालको कल्प, नारायण ढकालको जगज्जननी उसकी आमाको नाम होइन, चन्द्रप्रकाश बानियाँको तुलु राजा, क्षितिज समर्पण तोरकिन, नवीन अभिलाषीको दहाड, उमा सुवेदीको परिधी, ओम रिजालको पैकेलो, खगेन्द्र गिरीको भग्न प्रेमशाला, भूपिनको मध्यको उज्यालो, सीमा आभासको महायुग, डा. नवराज केसीको स्वस्परश, श्रवण मुकारूङको सलह, शंकरप्रसाद गैरेको सूतपुत्र र नदीशको हिउँद परेको छ।

पुरस्कारका लागि २०८२ सालमा प्रकाशित १९२ वटा साहित्यिक पुस्तक प्राप्त भएकामा पुरस्कार समितिले पहिलो चरणमा १५ पुस्तकको विस्तारित सूची प्रतिष्ठानलाई उपलब्ध गराएको अध्यक्ष जीवा लामिछानेद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यो सूचीबाट समितिले आगामी महिना पाँच वटा पुस्तकको उत्कृष्ठ संक्षिप्त सूची चयन गर्ने पनि अध्यक्ष लामिछानेले विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।
सुरुआतमा एक लाख रुपैयाँ राशिबाट सुरु भएको पुरस्कारको राशि समयसँगै वृद्धि हुँदै हाल तीन लाख रुपैयाँ पुर्याइएको छ। पुरस्कारसँगै सम्मानपत्र र पदक पनि प्रदान गरिन्छ। प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा पुरस्कार वितरण गरिने परम्परा रहेको छ। विगत दुई दशकमा गणेश रसिक, भानुभक्त पोखरेल, अमर न्यौपाने, झमककुमारी घिमिरे, उपेन्द्र सुब्बा, नीलम कार्की निहारिका, नयनराज पाण्डेलगायतका चर्चित स्रष्टाले पद्मश्री साहित्य पुरस्कार प्राप्त गरिसकेका छन्।
त्यसैगरी तारानाथ शर्मा, मोदनाथ प्रश्रित, माया ठकुरी, झमककुमारी घिमिरेजस्ता वरिष्ठ स्रष्टा पद्मश्री साधना सम्मानबाट सम्मानित भइसकेका छन्। चिकित्सा क्षेत्रमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नेत्र विशेषज्ञ डा. सन्दुक रुइत पद्मश्री गौरव पुरस्कारबाट सम्मानित व्यक्तित्वमध्ये एक हुन्।





