क्यानडामा हालै सम्पन्न फिफा विश्वकपका खेल हेर्न पुगेका विदेशी आगन्तुकमध्ये १ सय ७५ जनाले शरणार्थी असाइलमका लागि निवेदन दिएको स्थानीय समाचारहरुले जनाएका छन । क्यानडाको अध्यागमन, शरणार्थी तथा नागरिकता विभागले जुन र यस महिनाको सुरुआतमा टोरन्टो र भ्यानकुभरमा आयोजित विश्वकपका १३ खेल हेर्न आएका विभिन्न देशका नागरिकलाई २६ हजारभन्दा बढी भिसा जारी गरेको थियो। जसमध्ये ५ जना नेपाली रहेको ग्लोब एन्ड मेल पत्रिकाले जनाएको छ ।

क्यानडाको अध्यागमन, शरणार्थी तथा नागरिकता विभागका अनुसार जुलाई २० सम्म विश्वकपसँग सम्बन्धित अस्थायी बसोबास स्वीकृति पाएका २६ हजार १११ जनामध्ये १७५ जनाले पछि शरणार्थी दाबी दर्ता गरेका हुन्। क्यानडाले विश्वकपका १३ खेल आयोजना गर्न टोरन्टो र भ्यानकुभरमा आएका विदेशी समर्थक, खेल पदाधिकारी तथा अन्य आगन्तुकलाई २६ हजारभन्दा बढी भिसा जारी गरेको थियो।
सार्वजनिक तथ्यांकमा अनुसार शरणार्थी आवेदन दिनेहरु अझै बढ्न सक्ने संकेत गरिएको छ। उपलब्ध विवरणअनुसार सबैभन्दा धेरै घानाका २५ जना ले शरणार्थी दाबी गरेका छन्। त्यसपछि चीनका २५, इजिप्टका १५, कोलम्बियाका १५, सेनेगलका १०, बंगलादेशका १०, नाइजेरियाका १० तथा नेपाल, पाकिस्तान, बुरुन्डी र इक्वेडरका पाँच–पाँच जना रहेको उल्लेख छ । शरणार्थी दाबी गर्नेहरू खेलाडी, टोलीका पदाधिकारी, सहयोगी कर्मचारी वा सामान्य दर्शकको थिए भन्ने विवरण भने सार्वजनिक गरेको छैन।
विश्वकप सुरु हुनुअघि नै क्यानडाली अधिकारीहरूले प्रतियोगिता हेर्न आउने आगन्तुकलाई भिसा अस्थायी उद्देश्यका लागि मात्र भएको र प्रतियोगिता सकिएपछि स्वदेश फर्किनुपर्ने चेतावनी दिएका थिए। प्रवेशपछि शरणार्थी दाबी गर्ने घटनाले क्यानडाको अध्यागमन प्रणाली र ठूला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितासँग जोडिएका आप्रवासन चुनौतीबारे पुनः बहस सुरु भएको छ।
फिफा विश्वकप फुटबल हेर्न क्यानडा पुगेका पाँच नेपाली नागरिकले शरणार्थीका लागि निवेदन दिएको खबरसंगै ती पाँच नेपाली को हुन भन्ने खोजी खेलकुद मन्त्रालयले शुरु गरेको छ । अपुष्ट समाचार अनुसार खेलकुद मन्त्रालयका पदाधिकारीका आफन्त रहेका छन । क्यानडाको अध्यागमन, शरणार्थी तथा नागरिकता विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा नेपालका पाँच नागरिकले विश्वकपसँग सम्बन्धित भ्रमणपछि शरणार्थी दाबी गरेको उल्लेख छ।
नेपालीहरू सामान्य दर्शक, खेलाडी, टोलीका पदाधिकारी वा सहयोगी कर्मचारीमध्ये को हुन् भन्ने विवरण सार्वजनिक गरेको छैन। विभागका अनुसार यो तथ्यांकमा आफ्नो अस्थायी बसोबास आवेदनमालाई भ्रमणको उद्देश्यका रूपमा उल्लेख गरेका व्यक्तिहरू मात्र समावेश छन्। त्यसैले विश्वकप अवधिमा अन्य प्रकारको भिसा वा यात्रा माध्यमबाट क्यानडा पुगेका व्यक्तिहरू यस गणनामा समावेश नहुन सक्छन्। जुन महिनामा टोरन्टो र भ्यानकुभरमा आयोजित विश्वकपका १३ खेलहरु हेर्न सयोै नेपाली क्यानडा पुगेको बताइएको छ । हालससम्म अमेरिकामा कति पुगेका थिए भन्ने एकिन छैन र अन्य कुनै प्रकारको शरणार्थीका लागि आवेदन दिएको पनि समाचारहरुमा उल्लेख छैन , स्मरणीय रहोस क्यानडा भन्दा अमेरिकामा धेरै नेपालीहरु विश्वकप हेर्न गएका थिए । अमेरिकी ईमिग्रेसनले हालसम्म विश्वकप हेर्न आएकाहरुको विषयमा कुनै जानकारी सार्वजनिक गरेको छैन ।
विदेशी खेलाडी वा टोलीका सहयोगी कर्मचारीहरूले शरणार्थीका लागि आवेदन दिनु असामान्य घटना होइन। वास्तवमा, केही देशहरूले आफ्ना खेलाडी वा टोलीका सदस्यहरू विदेशमा गएर शरणार्थी माग्न सक्ने आशंकाका कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नै अनुमति नदिने गरेका छन्। ग्लोब एन्ड मेल पत्रिकाका अनुसार, एरिट्रियाको फुटबल महासंघले आफ्ना खेलाडीहरूले विदेशमा शरणार्थी माग्न सक्ने चिन्ताका कारण विश्वकपमा राष्ट्रिय टोलीलाई सहभागी हुन प्रतिबन्ध लगाएको थियो।
२०२६ फिफा विश्वकप फुटबलमा सह–आयोजक राष्ट्र क्यानडाले कुल १३ खेल सफलतापूर्वक आयोजना गरेको छ। प्रतियोगिताअन्तर्गत टोरन्टोमा ६ खेल र भ्यानकुभरमा ७ खेल सम्पन्न भएका थिए। विश्वकपको इतिहासमा पहिलो पटक पुरुष विश्वकपको खेल क्यानडाको भूमिमा आयोजना भएको थियो। टोरन्टोमा जुन १२ मा क्यानडाको समूह चरणको पहिलो खेलसँगै प्रतियोगिताको यात्रा सुरु भएको थियो भने त्यहाँ अन्तिम खेल जुलाई २ मा राउन्ड अफ ३२ अन्तर्गत खेलाइएको थियो।
भ्यानकुभरको बीसी प्लेस रंगशालाले पाँच समूह चरणका खेल, एउटा राउन्ड अफ ३२ तथा एउटा राउन्ड अफ १६ गरी सात खेल आयोजना गर्यो। यसै मैदानमा क्यानडाले कतारविरुद्ध ६–० को ऐतिहासिक जित पनि निकालेको थियो। क्यानडामा भएका खेलहरूमा विश्वका विभिन्न फुटबल राष्ट्रहरूको प्रतिस्पर्धा देखियो। टोरन्टोमा क्यानडा–बोस्निया तथा हर्जेगोभिना, घाना–पनामा, न्यूजिल्यान्ड–युक्रेन, दक्षिण कोरिया–जर्मनी, पोर्चुगल–क्रोएसिया लगायतका खेल भए भने भ्यानकुभरमा अष्ट्रेलिया–टर्किये, क्यानडा–कतार, जापान–इक्वेडर, बेल्जियम–ट्युनिसिया, स्विट्जरल्यान्ड–बोस्निया तथा हर्जेगोभिना लगायतका खेल सम्पन्न भएका थिए। साथै दुवै शहरले नकआउट चरणका खेल पनि आयोजना गरेका थिए।
यस विश्वकपमा संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेका थिए। क्यानडा र मेक्सिकोले समान १३–१३ खेल आयोजना गरे भने क्वार्टरफाइनलदेखि फाइनलसम्मका सबै खेल अमेरिकामा सम्पन्न भए। कुल ४८ टोली सहभागी भएको विश्वकपमा १०४ खेल खेलाइएका थिए।





