नेपालस्थित अमेरिकी दूतावासले यूएस एम्बेसी युथ काउन्सिल नेपाल यूएसवाईसी नेपाल २०२६ समूहका लागि देशभरबाट ५५ जना युवा छनोट गरेको छ । करिब १ हजार ६०० भन्दा बढी आवेदकमध्येबाट छनोट भएका युवालाई सहभागी गराउँदै दूतावासले नयाँ समूहको सुरुवाती सत्र आयोजना गरेको हो । दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले छनोट भएका सहभागीलाई बधाई दिँदै उनीहरूले समुदायमा नवप्रवर्तन, आर्थिक वृद्धि र सकारात्मक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।


दूतावासका अनुसार एक वर्षको कार्यकालमा समूहका सदस्यले नेतृत्व क्षमता विकास गर्नुका साथै आफ्ना समकक्षी र विभिन्न क्षेत्रका विज्ञसँग सम्पर्क विस्तार गर्नेछन् । उनीहरूलाई नेपालको हितमा भविष्यका अवसरका लागि तयार पार्ने उद्देश्य पनि कार्यक्रमले राखेको दूतावासले जनाएको छ ।

संयुक्त राज्य अमेरिकाले स्वतन्त्रताको २५० वर्ष मनाइरहेको सन्दर्भ उल्लेख गर्दै दूतावासले यूएसवाईसी नेपालजस्ता कार्यक्रमले विभिन्न व्यावसायिक क्षेत्रका नेपालका नयाँ पुस्ताका नेतृत्वसँग सहकार्य गर्ने अमेरिकी प्रतिबद्धता देखाउने जनाएको छ । समृद्ध नेपालले व्यापार, नवप्रवर्तन र दीर्घकालीन सहकार्यका नयाँ अवसर सिर्जना गर्ने र त्यसबाट नेपाल तथा संयुक्त राज्य अमेरिका दुवैलाई लाभ पुग्ने दूतावासको भनाइ छ ।
अमेरिकी दूतावासको नेपालस्थित ‘यूएस एम्बेसी युथ काउन्सिल’ले नेपालका युवालाई नेतृत्व, नागरिक सहभागिता, व्यावसायिक क्षमता र सामुदायिक गतिविधिमा जोड्दै आएको छ। सन् २०११ देखि सञ्चालनमा रहेको यो कार्यक्रममार्फत हालसम्म ७ सयभन्दा बढी नेपाली युवा जोडिएको अमेरिकी दूतावासको आधिकारिक वेबसाइटमा उल्लेख छ। युथ काउन्सिलको उदेश्य नेपाली युवामा नेतृत्व विकास, नागरिक तथा सामुदायिक सहभागिता र व्यावसायिक क्षमता अभिवृद्धि गर्नु रहेको छ।
यस परिषद्मा २० देखि ३० वर्ष उमेर समूहका नेपाली युवालाई समेट्ने व्यवस्था रहँदै आएको छ। कार्यक्रममा विद्यार्थी, युवा पेशाकर्मी, विज्ञ, सामाजिक अभियन्ता, युवा नेता तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउन चाहने युवालाई सहभागी गराउने गरिएको छ। सदस्यको कार्यकाल सामान्यतः एक वर्षको हुन्छ। यस बर्ष सन् २०२६ का लागि ५५ जना युवा छनोट गर्ने कार्यक्रम अघि सारेको थियो।
अमेरिकी दूतावास र नेपाली युवाबीच प्रत्यक्ष संवाद तथा सहकार्यको एउटा महत्वपूर्ण माध्यमका रूपमा लिन सकिन्छ। कार्यक्रमले युवाको नेतृत्व, नागरिक सहभागिता र व्यावसायिक क्षमता विकासमा जोड दिँदै आएको छ। अमेरिकी सरकारको कर्मचारी वा कूटनीतिक प्रतिनिधि हुनु होइन। यस अवधिमा सयौं नेपाली युवालाई अमेरिकी दूतावाससँग प्रत्यक्ष संवाद, नेतृत्व विकास, सामुदायिक परियोजना र व्यावसायिक अवसरसँग जोड्दै आएको छ। २०२६ मा थप ५५ युवा यस नेटवर्कमा जोडिनेछन्।





