संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल सहितको एक टोली संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

महासभा बैठकको साथै परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन शाह १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ६ असोजमा अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीबाट भएको क्षति र त्यससँग जोडिएका बहुआयामिक विषयलाई संयुक्त राष्ट्रसंघको महासभामा उठाउन निर्देशन दिएको छ।
महासभामा प्रधानमन्त्री बालेन शाह र परराष्ट्रमन्त्री शिशिर खनाल लगायत सहभागी हुनेछन्।
आइतबार बसेको रास्वपा केन्द्रीय सचिवालय बैठकले महासभामा सहभागी हुन जाने प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतको टोलीलाई भोटेकोशी विपदसँग जोडिएका विषय उठाउने तयारी गर्न निर्देशन दिएको हो।
‘संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लाग्नुभएका प्रधानमन्त्री, परराष्ट्र मन्त्री लगायतको कार्यदललाई नेपालको भोटेकोशी विपदसँग जोडिएका बहुआयामिक पक्ष, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधनकेन्द्रित गर्ने गरी तयारी गर्न नीतिगत निर्देशन दिइएको छ,’ प्रवक्ता जगदीश खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाहरूको शीघ्र डिएनए परीक्षण गर्न तथा बेपत्ता भई आशा मारिएका व्यक्तिका परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुंगोमा पुर्याउन पनि रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ। ‘पीडित परिवारलाई राहत तथा सुविधा उपलब्ध गराउनु,’ रास्वपाले सरकारलाई ध्यानाकर्षण गरेको छ।





