अध्यागमन विभागले एकैपटक ८८ जना चिनियाँ नागरिकको भिसा रद्द गरेको छ। व्यावसायिक भिसा लिई नेपाल बस्दै आएका उनीहरूले भिसाको उद्देश्यविपरीत कार्य गरेको पाइएकोले भिसा रद्द गरेर डिपोर्ट (स्वदेश फिर्ता) को प्रक्रिया अगाडि बढाइएको अध्यागमन विभागका निर्देशक टिकाराम ढकालले जानकारी दिए। उनीहरू सिन्धुलीको मरिण गाउँपालिका–४ साहानस्थित छेन्दु टियान फुड लिमिटेडको आर्थिक साझेदारीमा निर्माणाधीन जियान फुड्स प्रालि (नेपाल हिट प्रोसेस्ड बफेलो मिट एक्पर्ट टु चाइना प्रोजेक्ट) मा कार्यरत थिए।

८८ जनाले नै अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिई भिसाको उद्देश्यविपरीत कार्य गरेको पाइएको अध्यागमन विभागले जनाएको छ। भिसा रद्द गरेर अध्यागमन ऐन, २०४९ बमोजिम जरिवाना गरी निष्कासनको प्रक्रिया अघि बढाइएको छ।
अध्यागमन विभागले विदेशी नागरिकलाई आफूले प्राप्त गरेको भिसाको उद्देश्य र शर्तबमोजिमका क्रियाकलापमा मात्र संलग्न हुन भनेको छ। सम्बन्धित उद्योग, कम्पनी, प्रतिष्ठान तथा रोजगारदातालाई पनि उपयुक्त भिसा र स्वीकृतिबिना विदेशी नागरिकलाई रोजगारीमा संलग्न नगराउन सचेत गराएको छ





