कवि नवराज लम्साल भनिरहन्थे, ‘‘अग्नि’ मुटु निचोरिएको महाकाव्य हो । ‘कल्प’ मा चाहिँ मैले मस्तिष्क निचोरेको छु ।’ मस्तिष्क निचोरिएपछि के के निस्केलान् ? चिन्तन, निष्कर्ष, प्रश्न वा अरु केही ? कवि लम्सालले ‘कल्प’मा के के मथेका होलान् र नौनी कस्तो निस्किएको होला ? जिज्ञासा थियो ।

गएको जून महिनामा जुरेको छोटो सान्निध्यमा उनी दोहोर्याइरहन्थे, ‘पृथिवीमा जल देख्छु जलमा तेज देख्छु तेजमा वायु देख्छु वायुमा आकाश देख्छु आकाशमा शून्य देख्छु शून्यमा अक्षर देख्छु र, अक्षरमा आफैंलाई देख्छु ! जो जे जति छन्, दृश्यमान् दृश्यचक्र सबै देख्छु तर देख्दिनँ यी सबै दृश्यहरूको अदृश्य जग कसले थामिरहेछ ?’ र, उनी आफ्नो बहुचर्चित कृति ‘अग्नि’ भन्दा बढी ‘कल्प’को कुरा गर्थे । सँगसँगै कोट्याइरहन्थे नातिनी आयरा (जसलाई उनी छोरी भनेर बोलाउँछन्) का कुरा । भर्खरै कवि शिव पलाँसको सौजञ्यमा ‘कल्प’ पल्टाउन पाएँ । शुरुमै थाहा भयो, कवि लम्सालकी तिनै नातिनीका प्रश्नहरूले जन्माएको रहेछ यो कृति । प्रश्नले कवि हल्लिन्छन् । अथाह छट्पटी हुन्छ ।
उनी पृथिवी र यसको आयुबारे विशद् चिन्तन गर्छन् । पृथिवीको प्राकृतिक चक्रमाथि बाधा–भाँजो हाल्नेहरू, मान्छेको चेतनामा प्रदूषण घोल्नेहरूले उनलाई तर्साएका छन् । त्यो अत्यासमा पनि कवि जवाफ खोजिरहेका छन् । उनी सोध्छन्, ‘किन पलाउन छोडे पाखाभरि भुँइफूलहरू ? किन सुक्छ अजम्बरी दूबो ? किन टुसाउँदै छिप्पिन्छ बाँसको तामा ? किन धमिरा लागेझैं छ पीपलवृक्ष ? र, किन उम्रन छाडे रूखका काँधकाँधमा सुनगाभा ?’ कविले ‘कल्प’मा यस्तै ‘चिन्ता’, ‘चिन्तन’ र ‘चैतन्य’ पोखेका छन् र भनेका छन्, ‘मानवीय कर्म, अकर्म र दुष्कर्मले पृथिवी अललिएको छ ।’ त्यस्तै अललाइको परिणाम हामीले भर्खरै लाङटाङको उत्तरी मोहडा र रसुवा–भोटेकोशीमा देख्यौं । त्यसको पूर्वानुमान गर्दै कविले लेखिसकेका रहेछन्, ‘अहो ! के सारो बढेको यो गर्मी कति बढेको हो धर्तीको ताप ? कति बिघ्न हपहपी ! तात्नुको अन्तिम सीमै भेटेजस्तो ! डिलमै पुगेजस्तो ! के हो यो आगो आगोको महासम्मलेनजस्तो ! के हामी समयको अन्तिम घुम्तीमा पुगिसकेका त छैनौं ?’ आसन्न यस्तै त्रासदीहरूलाई सङ्केत गर्दै कवि भन्छन्, ‘किन बाफिलो बनेर उडिरहेछ जुम्लामा चन्दननाथको निधारको शीतल चन्दन ?’ कविले धर्तीको चिन्ता गरेका छन् ।

धर्तीमै हुर्किदै गरेका असङ्गतिहरूमाथि प्रश्न उठाएका छन् । र, बोलेका छन् धर्तीकै आवाज । ‘‘अशान्त छु आफैंभित्र आँसु उम्लिएको छ पानी भएर छातीमा थापेर सन्तानको रगत तिम्रा लागि म अन्न फलाइरहेछु पानी बगाइरहेछु तर अब अति भयो, मलाई बचाऊ’ धर्ती आफैंले यत्ति कुरा कस्लाई भन्ने ? कहिले भन्ने ? भन्ने कि नभन्ने ? म रहस्यको फेद चुमेर रहस्यकै उत्तर खोजिरहेछु ।’ ‘कल्प’ कवि लम्सालको चौथो महाकाव्य हो । यसअघिका ‘अग्नि’, ‘धरा’, ‘कर्ण’ ले अलग विषय र भावभूमि उठाएका थिए । तीभन्दा फरक लाग्यो, ‘कल्प’ । यसलाई ‘पर्या–महाकाव्य’ भने हुन्छ । मान्छेका दुष्कर्मको काव्यिक ऐना भने पनि हुन्छ । यसमा चिन्तनभित्र प्रश्न छन् र प्रश्नभित्र चिन्तनका थुप्रै आयाम । प्रश्नहरूले नै कविलाई उद्वेलनको महासागरमा पुर्याएका छन् ।
सागरमा छालमात्रै छैनन्, पाठकलाई भित्रैदेखि हल्लाउने प्रश्नैप्रश्न छन् । तीमध्येकै एउटा प्रश्न, ‘तिमीले कहिल्यै बुझेनौ धर्ती धाँजा फाट्नु भनेको छाती चिरिनु हो मुटु फुट्नु हो ! धर्तीकै मुटु फुटेपछि के हुन्छ ?’ हिमालको एउटा पाखो चोइटिंदा उर्लिएको हिम–सुनामीपछि हामी अझै काँपिरहेका छौं । कविले यस्ता कम्पन र सम्भावित परिणामहरूबारे बोलेका छन्, मान्छे र उसको व्यवहारमा देखिएको क्षयीकरणमाथि औंला उठाएका छन् । माध्यम बनाएका छन् ‘कल्प’लाई । सरल छन् अभिव्यक्ति, त्यसैले ती प्रभावशाली/संवेद्य छन् । भित्रैसम्म छुन्छन् । चसक्क पार्छन् । यसमा परम्परागत महाकाव्यका ‘जार्गन’हरू छैनन् ।
नातिनीसँग बुढोबाउका संलाप छन् । रोचक, मनोहारी छन् ती कुराकानी । आफ्नो दायित्व सम्झिँदै कवि लेख्छन्, ‘ब्युँझ छोरी, उठ ! तिमी पीपल रोप्दै रोप्दै अघि बढ, म पानी हाल्दै हाल्दै आउँछु ।’ मैले यति सरल र पाठकमैत्री महाकाव्य कमै देखेको छु ।





