युरोपेली राष्ट्र पोर्चुगलमा पाँचौं ठूलो आप्रवासी संख्यामा नेपाली सूचीकृत भएका छन् । पछिल्लो चार वर्षमा पोर्चुगलमा नेपालीको संख्या १३६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

“पोर्चुगलको जनगणनाको तथ्याङ्कले सन् २०२५ मा ५६ हजार ८६६ नेपाली देखाएको छ । यो भनेको आप्रवासीमा पाँचौं ठूलो संख्या हो,” पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले भने ।
जसमा ३८ हजार ३३५ पुरुष र १८ हजार ५३१ महिला छन् । यसमा पोर्चुगलकै पासपोर्ट लिइसकेका समेटिएका छैनन् ।
पोर्चुगलको राष्ट्रिय तथ्याङ्क संस्थान (आईएनई)को विवरणअनुसार ब्राजिल, एङ्गोला, भारत र केपभर्डेपछि ठूलो संख्या नेपाली छन् । एसियाली राष्ट्र चीन, पाकिस्तान र बंगलादेशका नागरिकभन्दा बढी नेपाली छन् ।
सन् २०२५ मा ब्राजिलका ५ लाख ७४ हजार १९५, एङ्गोलाका १ लाख ३ हजार १४०, भारतका ९३ हजार ६८३, केपभर्डेका ७६ हजार ९९ र नेपालका ५६ हजार ८६६ जना नागरिक पोर्चुगलमा रहेको आईएनईको तथ्याङ्कले देखाएको छ ।





