नर्थ क्यारोलिनाको अमेरिकी सिनेट सीटका हुन लागेको प्रतिस्पर्धामा पूर्वगभर्नर रोय कुपरले रिपब्लिकन उम्मेदवार माइकल ह्वाट्लीलाई १५ प्रतिशत अंकको अग्रता कायम गरेको रिपोर्ट सार्वजनिक भएको छ । क्यारोलिना जर्नलको सर्वेक्षणमा कुपरले पाएको अहिलेसम्मकै ठूलो अग्रता भनिएको छ ।
सेप्टेम्बर १७ मा सार्वजनिक गरिएको सर्वेक्षणअनुसार कुपरलाई ४९ प्रतिशत मतदाताको समर्थन रहेको छ भने ह्वाट्लीलाई ३४ प्रतिशतले समर्थन गरेका छन्। लिबर्टेरियन उम्मेदवार श्यानन ब्रेले ३ प्रतिशत र ग्रीन पार्टीका माइकल डब्लिनले २ प्रतिशत समर्थन पाएका छन्। १२ प्रतिशत मतदाता अझै अनिर्णीत देखिएको छ ।

सो जर्नलको अघिल्ला सर्वेक्षणमा कुपरको अग्रता निरन्तर बढ्दै आएको देखिन्छ। मार्चमा कुपर ८ अंकले अगाडि थिए। मेमा उनको अग्रता ११ अंक पुगेको थियो भने अगस्टमा १३ अंक पुगेको थियो। पछिल्लो सर्वेक्षणमा यो अन्तर बढेर १५ अंक पुगेको हो। यसबाट के देखिन्छ भने चुनाव नजिकिंदै जाँदा कुपरले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन । यद्यपि कुपरको समर्थन अगस्टको ५२ प्रतिशतबाट घटेर ४९ प्रतिशतमा आएको छ। अन्तर बढ्नुको मुख्य कारण ह्वाट्लीको समर्थनमा आएको गिरावट हो। अगस्टमा ३९ प्रतिशत रहेको ह्वाट्लीको समर्थन ५ अंक घटेर ३४ प्रतिशतमा पुगेको छ। यो गत नोभेम्बरयताकै उनको सबैभन्दा कम समर्थन हो।
त्यस्तै, सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई मतदान गरेका मतदातामध्ये ह्वाट्लीको समर्थन ८५ प्रतिशतबाट घटेर ७२ प्रतिशतमा आएको छ। अहिले १८ प्रतिशत रिपब्लिकन र १९ प्रतिशत ट्रम्प समर्थक मतदाता सिनेटको प्रतिस्पर्धामा अनिर्णीत रहेको सर्वेक्षणले देखाएको छ।
कुपरले भने यी रिपब्लिकन मतदातालाई ठूलो मात्रामा आफ्नो पक्षमा ल्याएको देखिँदैन। रिपब्लिकन मतदातामाझ उनको समर्थन ९ प्रतिशतबाट घटेर ४ प्रतिशतमा आएको छ। तर डेमोक्रेटिक मतदातामाझ कुपरको समर्थन ९० प्रतिशत छ। सन् २०२४ मा कमला ह्यारिसलाई मतदान गरेका मतदातामध्ये ९४ प्रतिशत कुपरको पक्षमा छन्। त्यसैगरी स्वतन्त्र मतदातामाझ भने कुपर ५१ प्रतिशत समर्थनसहित ह्वाट्लीको ३० प्रतिशतभन्दा अगाडि छन्। १३ प्रतिशत स्वतन्त्र मतदाता अझै अनिर्णीत छन्। अमेरिकी चुनावहरुमा प्राय जसो यस्ता सर्भेक्षणहरु विश्वासनीय हुने गरेको छ । दलहरुले यस्ता स्वतन्त्र सर्भेक्षणहरुका आधारमा चुनावी रणनीति बनाउने गरेका हुन्छन ।
नर्थ क्यारोलिनामा सिनेट उम्मेदवार माइकल ह्वाट्लीको अवस्था कमजोर अवस्थालाई मध्यनजर गर्दै रिपब्लिकन समूहको आर्थिक समर्थन रोकिएको समाचार सार्वजनिक भएको छ । पछिल्ला सर्वेक्षणहरूले रिपब्लिकनका लागि सिनेटको बहुमत जोगाउन थप चुनौती देखाएको भन्दै नर्थ क्यारोलिनाका तयार पारिएको सहयोग रकम अन्य क्षेत्रमा लैजाने निर्णय गरिएको बताइएको छ ।
मध्यावधि निर्वाचनका पछिल्ला सर्वेक्षणहरू रिपब्लिकनका लागि चुनौतीपूर्ण देखिएपछि पार्टीले आफ्नो चुनावी स्रोत अन्य प्रतिस्पर्धात्मक क्षेत्रमा केन्द्रित गर्न थालेको बताइएको छ। यसलाई नर्थ क्यारोलिनामा रिपव्लिकनले हार मानेको रुपमा विश्लेषण गरेका छन । रिपब्लिकन राजनीतिक कार्यसमिति एसएलएफले ह्वाट्लीलाई थप ३ करोड डलर सहयोग गर्ने योजना बनाएको थियो। मध्यावधि निर्वाचनका पछिल्ला सर्वेक्षणहरू रिपब्लिकनका लागि चुनौतीपूर्ण देखिएपछि पार्टीले आफ्नो चुनावी स्रोत अन्य प्रतिस्पर्धात्मक क्षेत्रमा केन्द्रित गर्न थालेको बताइएको छ।
हाल अमेरिकी सिनेटमा रिपब्लिकनसँग ५३ र डेमोक्रेटसँग ४७ सीट छन्। उपराष्ट्रपति जेडी भान्ससँग निर्णायक मत हुने भएकाले रिपब्लिकनले बहुमत कायम राख्न बढीमा तीन सीट गुमाउन सक्ने अवस्था छ।
उत्तर क्यारोलिनाका सिनेटर थम टिलिसले अवकाश लिने घोषणा गरेपछि उक्त सीट डेमोक्रेटहरूले कब्जा गर्ने सम्भावनाका लागि खुला भएको हो। पूर्व गभर्नर रोय कुपरले डेमोक्रेटिक पार्टीको उम्मेदवारी सजिलै जितेका थिए। राज्यको राजनीतिमा लामो समयदेखि परिचित कुपरको सामना रिपब्लिकनतर्फबाट ह्वाट्लीसँग हुँदैछ। ह्वाट्ली रिपब्लिकन नेसनल कमिटीका पूर्व अध्यक्ष हुन्। उनलाई डोनाल्ड ट्रम्पले समर्थन गर्दै उम्मेदवारका रूपमा अघि सारेका थिए। रिपब्लिकन पार्टीका अन्य प्रतिस्पर्धीको तुलनामा ह्वाट्लीलाई तुलनात्मक रूपमा मध्यम धारका उम्मेदवारका रूपमा प्रस्तुत गरिएको थियो। पार्टीले नर्थ क्यारोलिनाको सिनेट सीट रिपब्लिकनको नियन्त्रणमै राख्न ७ करोड १० लाख डलर खर्च गर्ने प्रतिबद्धता जनाएको थियो। कोषले कुपरले पार्टीको उम्मेदवारी जित्नुअघि नै उनको विरुद्ध विज्ञापन अभियान सुरु गरेको थियो।





