अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ। नयाँ व्यवस्था अक्टोबर २ देखि लागू भएको हो। यसबाट अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थीसमेत प्रभावित हुने देखिएको छ।

नयाँ नियमअनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीले आफू अध्ययन गरिरहेको भन्दा उच्च तहको कोर्समा भर्ना हुने अवस्थाबाहेक अस्ट्रेलियाभित्रैबाट ९अनसोर० नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन पाउने छैनन्।
त्यस्तै, हाल अध्ययन गरिरहेको कोर्स पूरा हुन १२ महिनाभन्दा बढी समय बाँकी रहेको अवस्थामा पनि अस्ट्रेलियाभित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन नपाइने व्यवस्था गरिएको छ।
कोर्स पूरा हुन १२ महिनाभन्दा कम समय बाँकी रहेका विद्यार्थीले भने निश्चित अवस्थामा अस्ट्रेलियाभित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन सक्नेछन्। नयाँ व्यवस्थाका कारण आवेदन दिन नपाउने विद्यार्थीले आवश्यक परे अस्ट्रेलिया बाहिरबाट ९अफसोर० आवेदन दिनुपर्नेछ।
केही विद्यार्थीलाई भने छुट
नयाँ नियम सबै विद्यार्थीमा समान रूपमा लागू नहुने बताइएको छ। विद्यावारिधि ९एजम्० अध्ययनरत विद्यार्थी, विद्यालय तहका विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी तथा केही विशेष परिस्थितिमा शैक्षिक संस्था बन्द वा खारेज भएका विद्यार्थीलाई यस व्यवस्थाबाट छुट दिइएको छ।
भिसा रद्द भएपछि पुनरावलोकनमा पनि कडाइ
नयाँ व्यवस्थाले विद्यार्थीको भिसा रद्द भएपछि त्यसविरुद्ध पुनरावलोकनका लागि आवेदन दिने प्रक्रियालाई समेत प्रभावित गरेको छ।
यसअघि भिसा रद्द भएपछि पुनरावलोकनको आवेदन दिएर त्यसको निर्णय नआएसम्म अस्ट्रेलियामै बस्न सकिने अवस्थालाई विद्यार्थीहरूले प्रयोग गर्दै आएका थिए। नयाँ व्यवस्थाअनुसार भने पुनरावलोकनका लागि आवेदन दिए पनि निर्णय नआएसम्म अस्ट्रेलिया बाहिर बस्नुपर्ने व्यवस्था गरिएको छ।
परिवार लैजाने व्यवस्थामा पनि कडाइ
अस्ट्रेलियाले यसअघि नै अन्तर्राष्ट्रिय विद्यार्थीले अध्ययनका क्रममा आफ्नो परिवार अस्ट्रेलिया लैजान पाउने व्यवस्थामा कडाइ गर्ने नीति अघि सारेको थियो। अध्ययनपछि काम गर्न पाउने पोस्ट–स्टडी वर्क भिसामा रहेका विद्यार्थीका परिवारलाई समेत अस्ट्रेलिया ल्याउन नदिने नीति सार्वजनिक भइसकेको छ।
अस्ट्रेलियाले समग्र आप्रवासन संख्या घटाउने नीति पनि अघि सारेको छ। वार्षिक आप्रवासी संख्या करिब ३ लाखबाट घटाएर २ लाख २५ हजारमा सीमित गर्ने लक्ष्य सार्वजनिक गरिएको छ।
विद्यार्थी भिसामा समेत पछिल्लो समय कडाइ हुँदै आएको छ। उपलब्ध स्रोतका अनुसार नेपाली विद्यार्थीको विद्यार्थी भिसा स्वीकृति दर करिब ३६ प्रतिशतमा झरेको दाबी गरिएको छ। यद्यपि स्वीकृति दर कुन अवधिको तथ्यांकमा आधारित हो भन्ने विषयमा आधिकारिक स्रोतबाट पुष्टि आवश्यक छ।
अस्ट्रेलियाको पछिल्लो नीतिगत परिवर्तनले अन्तर्राष्ट्रिय विद्यार्थीको कोर्स परिवर्तन, नयाँ भिसा आवेदन, भिसा पुनरावलोकन तथा परिवारसँगै अस्ट्रेलिया बस्ने योजनामा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।





