संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले मध्यपूर्वको संकटमा संलग्न सबै पक्षलाई द्वन्द्व अन्त्य गर्न, कूटनीतिक मार्गमा फर्कन र अन्तर्राष्ट्रिय कानुनअनुसार जलमार्ग तथा जहाजहरुको आवागमनसम्बन्धी अधिकार एवं स्वतन्त्रता पूर्ण रूपमा पुनःस्थापना गर्न जोडदार आह्वान गरेका छन्।

मंगलबार पाकिस्तान भ्रमणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव गुट्रेसले प्याटेस्टिनी जनताको आत्मनिर्णयको अधिकार पूर्ण रूपमा सुनिश्चित नभएसम्म यस क्षेत्रमा दिगो शान्ति सम्भव नहुने स्पष्ट पारे। उनले पाकिस्तानले सधैं यस सिद्धान्तको पक्षमा वकालत गर्दै आएको समेत स्मरण गरे ।
संवाद र सहकार्यमा आधारित रहँदै यस क्षेत्रमा शान्ति र समृद्धि छाओस् भन्ने कामना व्यक्त गर्दै महासचिव गुट्रेसले दशकौंदेखि द्वन्द्व र अस्थिरताका कारण विस्थापित लाखौं अफगान नागरिकलाई पाकिस्तानले शरण दिएको प्रसंग उल्लेख गरे ।
उनले शरणार्थीहरूको संरक्षणको सिद्धान्तलाई टेवा दिन र अफगान नागरिकहरूलाई सम्मानपूर्वक स्वेच्छिक एवं सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण बनाउन संयुक्त राष्ट्रसंघ पाकिस्तानसँग सहकार्य गर्न प्रतिबद्ध रहेको दोहोर्याए।
यसअघि महासचिव गुट्रेस सन् २०२२ मा पाकिस्तानमा गएको विनाशकारी बाढीपछि राहत तथा उद्धार कार्यको अवलोकनका लागि पाकिस्तान भ्रमणमा गएका थिए।





