संसदीय सुनुवाइ समितिले विभिन्न मुलुकका लागि प्रस्तावित १३ जना राजदूतमध्ये १० जनाको नाम अनुमोदन गरेको छ। अनुमोदित हुनेमा भारतका लागि राजदूत भारतका लागि प्रस्तावित राजदूत निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित कल्याणराज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरनजंग थापा, बेलायतका लागि प्रस्तावित गौरव शमशेर जबरा छन्।

जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको पनि संसदीय सुनुवाइ ‘होल्ड’ भएको छ । मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेललाई संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अस्वीकृत गरेको छ। समितिका सांसदहरूलाई ह्वाट्सएपमा प्राप्त भएको उजुरी र अडिओ र भिडिओका आधारमा समितिले उनको नाम अस्वीकृत गरेको हो। समितिले जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको नाम भने ‘होल्ड’ मा राखेको छ।

समितिले उनको विषयमा थप बुझ्न कागजात मगाइएको उल्लेख गर्दै थापाको नाम होल्डमा राखेको र कागजात प्राप्त भएपछि सुनुवाइबारे निर्णय गर्ने भएको हो। रास्वपा सांसद मधुकुमार चौलागाईंले थप बुझ्न पत्राचार गरिएको अवस्थामा पत्र आउनुअघि निर्णय गर्नु उपयुक्त नहुने बताएका थिए। सुनुवाइ समितिले सुरूमा थापालाई कार्ययोजना प्रस्तुत गर्न दिएर थप प्रक्रिया ‘होल्ड’ गरेको हो ।
त्यसैगरी, इजरायलका लागि प्रस्तावित सुरेशकुमार कर्ण, स्पेनका लागि प्रस्तावित प्राप्ति शेरचन, जर्मनीका लागि प्रस्तावित शरू जोशी, ओमानका लागि प्रस्तावित पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्रस्तावित सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि प्रस्तावित मञ्चला झाको नाम समितिले अनुमोदन गरेको हो।
गत असोज २ गते सरकारले १३ देशमा राजदूत सिफारिस गरेको थियो। समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारको नाम सर्वसम्मतिले अस्वीकृत गरेको छ। अन्य दुई जनाको नामबारे भने यो समाचार तयार पार्दासम्म निर्णय हुन बाँकी छ।





